सिटि होटलको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २५ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज बैशाख २८ गते अन्तिम दिन हो । कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको हो ।सर्वसाधारणलाई छुट्याइएको १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरी बाँडफाँट पनि गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख ७४ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सेयरमा सामूहिक लगानी कोष, ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयरमा कर्मचार र बाँकी १३ लाख ५५ हजार ९४० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो सेयरबाट कम्पनीको सेयर खरिद गर्न सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
महासंघको पुँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई नियुक्त भएका छन् । महासंघको पहिलो कार्यकारिणी समितिको बैठकले गुरागाईलाई उक्त पदमा नियुक्त गरेको हो । गुरागाई महासंघको कार्यकारिणी समिति निर्वाचित सदस्य हुन् । महासंघको छवि तथा प्रतिष्ठालाई अझ सशक्त रूपमा अघि बढाउन गुरागाईको सभापतित्वमा गठित समितिले जिम्मेवारीपूर्वक काम गर्ने अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
लाभांश प्रस्ताव पारित गर्न नेशनल लाईफले बोलायो साधारण सभा
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रताव पारित गर्न ३५ औँ वार्षिक साधारण सभा बोलाएको हो । इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा जेठ २२ गते केन्द्रिय कार्यालय लाजिम्पाटमा बिहान साढे १० बजे बस्नेछ । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ११ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारणसभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।