१८५ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.०५ अंकले घटेर २६५० बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ८४ कम्पनीको सेयर मूल्य बढ्दा १८५ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३३४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोको भएको छ । सोलुको ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिडि पावरको २३ करोड, सानिमा बैंकको १७ करोड, खानीखोला हाइड्रोको १३ करोड र आँखु खोलाको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ८.५४ प्रतिशत र एचएलआई लार्जको सेयर मूल्य ५.१८ प्रतिशतले बढेको छ ।
रिलायबल समृद्धि योजना–२ का साढे १२ करोड इकाइ नेप्सेमा सूचीकृत
काठमाडौं । रिलायबल समृद्धि योजना–२ का इकाइ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवर्द्धक, रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गत सञ्चालित उक्त योजना साउन २२ गते नेप्सेमा सूचीकृत भएको हो । नेपाल धितोपत्र बोर्डबाट २०८३ वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति पाएको योजनाको अन्तिम बाँडफाँट असार ४ गते सम्पन्न भएको थियो । यस बन्दमुखी सामूहिक लगानी कोषमा १२ करोड ५० लाख इकाइ रहेका छन् । प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ र कुल कोष आकार १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । योजनाको अवधि १० वर्ष तोकिएको छ । योजनाका इकाइहरूको दोस्रो बजारमा कारोबार भने साउन २५ गतेदेखि सुरु हुनेछ । रिलायबल समृद्धि योजना–२ ले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पुँजी वृद्धि र सन्तुलित प्रतिफल उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।
सपोर्ट लघुवित्तको नाफामा १८१ प्रतिशत उछाल, लाभांश क्षमता ५०.७८ प्रतिशत
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १८१.३६ प्रतिशत बढेर ७ करोड ६१ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लघुवित्तले २ करोड ७० लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी ३५.५५ प्रतिशत बढेर १८ करोड ४९ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष लघुवित्तले १३ करोड ६४ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ३४.८५ प्रतिशत बढेर २१ करोड ४१ लाख ५३ हजार रुपैयाँ र सञ्चालन नाफा १३४.२५ प्रतिशत बढेर १० करोड १९ लाख ७० हजार रुपैयाँ पुगेको छ । लघुवित्तको वितरणयोग्य नाफा ६ करोड ७० लाख ७८ हजार रुपैयाँ रहेको छ । यस आधारमा लघुवित्तको वितरणयोग्य लाभांश ५०.७८ प्रतिशत रहेको छ । १३ करोड ४० लाख ५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ७ करोड २८ लाख ७० हजार रुपैयाँ रहेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । लघुवित्तको यस्तो आम्दानी २२.११ रुपैयाँबाट बढेर ५६.८२ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.१५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५.१३ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा अघिल्लो वर्ष ५.७६ प्रतिशत रहेकोमा गत वर्ष घटेर २.१६ प्रतिशतमा झारेको छ । गत असार मसान्तसम्म लघुवित्तको निक्षेप तथा ऋण सापटी २९.५० प्रतिशत बढेर ५९ करोड ७७ लाख ५६ हजार रुपैयाँ र कर्जा लगानी १५.७० प्रतिशत बढेर २ अर्ब २० करोड ६८ लाख रुपैयाँ प्रवाह गरेको छ।