गुमुखोला भ्याकुरे हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट

काठमाडौं । गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ । यससम्बन्धी सम्झौतापत्रमा गुमुखोला भ्याकुरे हाइड्रोपावरका अध्यक्ष मित्रबहादुर श्रेष्ठ र आरबिबि मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । कम्पनीले दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा ९५० किलोवाट क्षमताको गुमुखोला भ्याकुरे जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । रन अफ रिभर प्रविधिमा आधारित आयोजनाबाट वार्षिक करिब ५.६ गिगावाट आवर विद्युत उत्पादन भइरहेको कम्पनीले जनाएको छ । उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेशनमा जोडिएको कम्पनीको भनाइ छ ।

सानिमा क्यापिटलको ‘सानिमा इक्विटी फन्ड–२’ नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको बन्दमुखी सामूहिक लगानी कोष ‘सानिमा इक्विटी फन्ड–२’ सूचीकृत भएको छ । नेप्से र सानिमा क्यापिटल लिमिटेडबीच भएको सम्झौताअनुसार प्रतिइकाइ अंकित तथा चुक्ता मूल्य १० रुपैयाँ कायम रहेको १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत गरिएको हो । सानिमा क्यापिटलले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको १२ करोड ५० लाख इकाइ दोस्रो सामूहिक लगानी कोष इकाइ नेप्सेमा सूचीकरण भएको जनाएको छ । नेप्सेका अनुसार ‘सानिमा इक्विटी फन्ड–२’ को दोस्रो बजार कारोबार साउन २१ गतेदेखि सुरु हुनेछ । सूचीकरणपछि उक्त योजनाको आरटीएस सेवा सानिमा क्यापिटल लिमिटेडमार्फत उपलब्ध गराइनेछ ।

लक्ष्मी सनराइज क्यापिटलको ‘एलएस होराइजन १२’ नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको बन्दमुखी सामूहिक लगानी कोष ‘एलएस होराइजन १२’ सूचीकृत भएको छ । नेप्से र लक्ष्मी सनराइज क्यापिटलबीच सम्झौता सम्पन्न भएपछि प्रतिइकाइ अंकित तथा चुक्ता मूल्य १० रुपैयाँ कायम भएका १५ करोड इकाइ नेप्सेमा सूचीकृत गरिएको हो । सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको उक्त योजनाका सबै १५ करोड इकाइ सूचीकृत गरिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार ‘एलएस होराइजन १२’ को दोस्रो बजार कारोबार साउन २१ गतेदेखि सुरु हुनेछ । सूचीकृतिपछि आरटीएस सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत उपलब्ध गराइनेछ ।