कालिञ्चोक दर्शनको आईपीओ मंसिर १४ गतेदेखि, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कति कित्ता ?
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १२ करोड रुपैयाँ अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गर्नेछ । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्ने छ । त्यसैगरी, जारी पूँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर मध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८ सय कित्तासम्म आवेदन दिन पाउनेछ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारमा रहेकाहरु नेपाली तथा स्थानिय बासिन्दाहरुले मंसिर २८ गतेभित्र आवेदन दिनसक्नेछन् । यदि सो दिनभित्र पूर्ण आवेदन नपरेमा स्थानिय बासिन्दाहरुले पुस १४ गतेसम्म आवेदन दिन पाउने छैनन् । वैदेशिक रोजगारमा रहेकाहरु नेपालीहरुका लागि भने आवेदन दिने समय थप हुने छैन । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ ।
एकर्ड फर्मास्युटिकल्सले आइपीओ जारी गर्ने
काठमाडौं । एकर्ड फर्मास्युटिकल्सले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधरणको लागि सात करोड ६ लाख ९० हजार रुपैयाँ बराबरको सात लाख ६ हजार ९०९ कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले यसको लागि एनआईबिएल एस क्यापिटललाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।उक्त सम्झौतामा एकर्ड फर्मास्युटिकल्सका तर्फबाट प्रबन्ध निर्देशक बिशाल पण्डित तथा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्। एकर्ड फर्मास्युटिकल्स औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो । कम्पनीले काठमाडौं उपत्यकामा ठूलो लगानी तथा अत्याधुनीक उपकरण सहित बृहत् उद्योग सञ्चालनमा ल्याएको थियो रआफ्नो व्यावसायिक उत्पादन फेब्रुअरी २०२१ देखि शुरु गरी व्यवसायिक कारोबार सुभारम्भ गरेको थियो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ स्थित सुबिधानगर, तीनकुनेमा रहेको छ ।
सेयर बजार अब मङ्गलबार मात्रै खुल्ने
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते बिदा सार्वजनिक बिदा दिएको छ । त्यसकारण सेयर कारोबार पनि ती दिनमा नहुने भएको हो । पछिल्ला दिनमा निर्वाचनको माहोल बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव बजारमा परेको थियो । वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर नाफामा रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएलगायतका कारणले पनि मुलुकको अर्थतन्त्रमा सुधार भएको छ । त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो । मङ्सिर १ गते बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको थियो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख ५१ हजार तीन सय ८७ बराबर रहेको थियो ।