बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बिओकेको ६ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन गरेको हो ।नेप्सेले प्रतिकित्ता २१४ रूपैयाँ २५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू एक आपसमा मर्जर प्रक्रियामा रहेको गत असार २ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । त्यसैले नेप्सेले असार १ गतेको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो । बैंकले मंसिर २३ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बिहान १० बजे बस्नेगरि साधारणसधा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र पारित गर्ने र डीडीए रिपोर्टमा आएको १ः१ को स्वाप रेसिया पारित गर्नेछ ।
बिहीबार नेप्से दोहोरो अंकले बढ्यो
काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ अंकमा बन्द भएको छ । बिहीबार २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता सेयर १८ हजार ४९५ पटक किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार अधिकांश समूहमा हरियाली छाउँदा निर्जीवन बीमा समूह भने घटेको छ । बैंकिङ्ग समूह ०.४४ प्रतिशत, विकास बैंक समूह १.११ प्रतिशत, फाइनान्स समूह १.१४ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०८ प्रतिशत, हाइड्रोपावर समूह ०.५८ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.०८ प्रतिशत, जीवन बीमा समूह ०.३० प्रतिशत, म्यानुफ्याक्चरिङ् एण्ड प्रोसेसिङ समूह १.१८ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.६५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.३८ प्रतिशत, अन्य समूह १.६९ प्रतिशत र ट्रेडिङ्ग समूह १.२७ प्रतिशत बढेको छ । बिहीबार घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ६.८३ प्रतिशत बढेको हो । यस्तै, आरएमडिसी लघुवित्तको ६ प्रतिशत, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको ४.८९ प्रतिशतले सेयर मूल्य बढेको छ । आज किशान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । लघुवित्तको सेयर मूल्य २.८९ प्रतिशतले घटेको हो । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ७ करोड ६२ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले मंसिर २३ गतेको लागि बोलायो साधारणसभा
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले मंसिर २३ गतेको लागि विशेष साधारण सभा बोलाएको छ । कम्पनीले संस्थापक सेयरधनी निर्वाचनको लागि साधारणसभा बोलाएको हो । कम्पनीले मंसिर १५ गतेको लागि बुक क्लोज मिति तोकेको छ । त्यसैले १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछ ।