कुमारी बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ३० लाख थान ऋणपत्र कार्त्तिक २८ गते नेप्सेमा सूचीकृत भएको हो । ‘१० प्रतिशत केबीएल डिबेन्चर २०८९’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै कार्त्तिक २९ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।
एक हप्तापछि नेप्सेमा छायो हरियाली, आज पनि शिवम् सिमेन्टको उच्च कारोबार
काठमाडौं । एक हप्ता निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार भने हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार नेप्से २१.२६ अंकले वृद्धि भएर १९०४.४३ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार कूल दुई सय २५ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता सेयर ९४ करोड ६० लाख ८९ हजार ५२१ मूल्यमा खरिद बिक्री भएका छन् । यस्तै, कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त कम्पनीको १० करोड ९६ लाख ४३ हजार बराबरको कारोबार भएको छ । हिमालयन डिस्टिलरीको ८ करोड ९९ लाख, न्याग्दी ग्रुप पावरको ७ करोड ८३ लाख, गुराँस फाइनान्सको दुई करोड ५३ लाख र नेष्डो लाघुवित्तको दुई करोड ४७ लाख मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेको अनुसार सार्वधिक कमाउनेमा तारागाउँ रिजेन्सी रहेको छ । यसपछि क्रमश सप्तकोशी डेभलपमेन्ट बैंक, बुद्ध भुमी नेपाल हाइड्रोपावर, रिभर फल्स र लिबर्टी इनर्जी कम्पनी रहेको छ ।
लाभांश पारित गर्न युनिलिभर नेपालले बोलायो साधारणसभा
काठमाडाैं । युनिलिभर नेपालले लाभांश पारित गर्नकाे लागि वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीले मंसिर २० गतेकाे लागि २९ औं वार्षिक साधारण सभा बाेलाएकाे हाे । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १२१५ रुपैयाँ लाभांश दिने घाेषणा गरेकाे छ । कात्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीले आगामी मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर ३ गतेसम्म कायम सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त लाभांश विगत ४ वर्ष यताकै उच्च हो । कम्पनीले आव २०७३/७४ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १ हजार २७० रुपैयाँ लाभांश वितरण गरेको थियो । त्यसयता कम्पनीले प्रतिकित्ता क्रमशः ७००, ७७०, १०० र ६५० रुपैयाँ लाभांश वितरण गरेको थियो ।