अब एकीकृत कारोबार पछि सेयर रोक्का हुने, आजदेखि निर्देशिका लागू
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ लागू गरेको छ । सेबोनको बुधबार बसेको सञ्चालक समिति बैठकले संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ पारित गरेसँगै बिहीबारदेखि लागू भएको हो । ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने भएमा बोर्डबाट पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था सहित संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी अन्य व्यवस्था निर्देशिका लागू हुनेछ ।’ बोर्डले भनेको छ । यो निर्देशिका लागू भएसँगै मर्जर प्रक्रियामा रहेका कम्पनीहरुको सेयर कारोबार फुकुवा हुनेछ । निर्देशिका लागूभएसँगै गाभ्ने र गाभिने तथा प्राप्तिमा गएका कम्पनीहरुको सेयर कारोबार १५ दिन बढी भन्दा बढी समय रोक्का हुनेछ । अब मर्जर तथा एक्विजिसन पश्चात् कम्पनीको एकिकृत कारोबार भएपछि १५ दिनमात्रै सेयर कारोबार रोक्का हुनेछ । ‘एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ । यस्तै, बोर्डबाट गाभ्ने/गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारी सहित एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्ने व्यवस्था निर्देशिकामा छ । [pdf id=363410]
सर्वसाधारणले सेयर किन्न हिम्मतै नगर्ने ५ कम्पनी, बैंक, बीमा र फाइनान्समाथि पनि भारी
काठमाडौं । सेयर बजारमा प्रवेश गर्नेहरुको संख्या दैनिक बढ्दो छ । कम्पनीको साधारण सेयर (आईपीओ) खरिद गर्नकै लागि भएपनि लगानीकर्ताहरु पुँजी बजारमा आकर्षित भइरहेका छन् । सुरुमा धेरैले आईपीओ खरिद गरेर पछि दोस्रो बजारमा प्रवेश गर्छन् । तर, दोस्रो बजारमा धेरै यस्ता कम्पनी पनि छन् कि जसको सेयर उनीहरुको पहुँचभन्दा टाढा छन् । कम्पनीको सेयर मूल्य नै बढी भएका कारण सर्वसाधारणहरु महँगो सेयर खरिद गर्न चाहँदैनन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्पादन तथा प्रशोधन समूहका १९ वटा कम्पनी सूचीकृत छन् । जसमध्ये विभिन्न कारणले १३ वटा कम्पनीको सेयर कारोबार रोक्का रहेको छ भने ६ वटा कम्पनीहरुको मात्रै सेयर कारोबार भइरहेको छ । बोटलर्स नेपाल बालाजु, नेपाल ल्युब आयल, युनिलिभर नेपाल, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र बोटलर्स नेपाल तराई गरी ६ वटा कम्पनीको दोस्रो बजारमा सेयर कारोबार भइरहेको छ । नेप्सेमा सबैभन्दा बढी सेयर मूल्य भएका कम्पनीहरु उत्पादन तथा प्रशोधन समूहका नै रहेका छन् । बोटलर्स नेपाल बालाजु १९ लाख ४८ हजार ८८७ कित्ता सेयर सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी १९ करोड ४८ लाख ८८ हजार ७ सय रुपैयाँ रहेको छ । बुधबारकाे सेयर बजारको तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार २२२.२० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा सेयर मूल्य अधिकतम प्रतिकित्ता २ हजार २२२.२० रुपैयाँ र न्युनतम प्रतिकित्ता १ हजार ९०३.९० रुपैयाँ रहेको यस कम्पनीको बुधबारकाे सेयर मूल्य अनुसार बजार पूँजीकरण ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ७५ प्रतिशत र सर्वसाधारण समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले बोनस सेयरभन्दा पनि नगद लाभांश वितरणमा बढी जोड दिएको अघिल्लो वर्षको लाभांश इतिहासले देखाएको छ । बोटलर्स नेपाल तराईको दोस्रो बजारमा १२ लाख १० हजार कित्ता सेयर मात्रै सूचीकृत छन् भने चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । बुधबारको नेप्से तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११ हजार ८०७ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता १७ हजार ६७० रुपैयाँ र न्युनतम प्रतिकित्ता १० हजार ५ सय रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण १४ अर्ब २८ करोड रुपैयाँ छ । कम्पनीमा संस्थापक समूहको ७५ प्रतिशत र सर्वसाधारण समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले बोनस सेयरभन्दा पनि नगद लाभांश वितरणमा बढी जोड दिने गरेको अघिल्लो वर्षको लाभांश इतिहासले देखाएको छ । युनिलिभर नेपालको दोस्रो बजारमा ९ लाख २० हजार ७ सय कित्ता सेयर मात्रै सूचीकृत छन् भने चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ । बुधबारको नेप्से तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९ हजार ४९० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता २० हजार ६ सय रुपैयाँ र न्युनतम प्रतिकित्ता १६ हजार ५५६ रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण १७ अर्ब ९४ करोड रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १ हजार २१५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले बोनस सेयरभन्दा पनि नगद लाभांश वितरणमा बढी जोड दिने गरेको अघिल्लो वर्षको लाभांश इतिहासले देखाएको छ । हिमालयन डिस्टिलरी दोस्रो बजारमा १ करोड ५१ लाख ८४ हजार ७९१ कित्ता सेयर सूचीकृत छन् भने चुक्ता पूँजी १ अर्ब ५१ करोड ८४ लाख रुपैयाँ रहेको छ । बुधबारको नेप्से तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार ५४० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ७ हजार २६९ रुपैयाँ र न्युनतम प्रतिकित्ता २ हजार ८२५ रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण ५३ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीमा संस्थापक समूहको ५८ प्रतिशत र सर्वसाधारण समूहको ४२ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी १ सय प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले विगत ३ वर्षयता बोनस सेयरमा जोड दिइरहेको छ । गत आर्थिक वर्षको लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्न भने बाँकी छ । शिवम् सिमेन्टको दोस्रो बजारमा ४ करोड ४० लाख कित्ता सेयर सूचीकृत छन् भने चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । बिहीबारको नेप्से तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता १ हजार ६७१.८० रुपैयाँ र न्युनतम प्रतिकित्ता ५९२ रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण २८ अर्ब ३८ करोड रुपैयाँ छ । कम्पनीमा संस्थापक समूहको ८८ प्रतिशत र सर्वसाधारण समूहको १२ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई २९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत आर्थिक वर्षको लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्न भने बाँकी छ । नेपाल ल्युब आयलको दोस्रो बजारमा ४ लाख ८५ हजार ७४९ कित्ता सेयर सूचीकृत छन् भने चुक्ता पूँजी ४ करोड ८५ लाख ७४ हजार रुपैयाँ रहेको छ । बुधबारको नेप्से तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२७.३६ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता २८४.३६ रुपैयाँ र न्युनतम प्रतिकित्ता २२७.३६ रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण ११ करोड ४ लाख रुपैयाँ छ । कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी ३० सय प्रतिशत लाभांश वितरण गरेको हो ।
१२ करोडको आईपीओ निष्काशन अनुमति माग्दै चिरख्वा हाइड्रोपावर बोर्ड पुग्यो
काठमाडौं । आईपीओ निष्काशन गर्न अनुमति माग्दै चिरख्वा हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले कात्तिक १७ गते आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।