नयाँ स्टक र ब्रोकर थप्ने बारे अर्थ समितिले मन्त्रालयसँग ७ दिनभित्र माग्यो विवरण

काठमाडौं । अर्थ समितिले नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र नकयाँ ब्रोकर कम्पनी थप गर्ने विषयका बारेमा पुरा विवरण पठाउन निर्देशन दिएको छ । संसद्को अर्थ समितिले गत भदौ ३१ गते पत्र लेख्दै ७ दिन भित्र पुरा विवरण पठाउन निर्देशन दिएको हो । नयाँ स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संसोधन गरेको विषयमा ७ दिन भित्र समितिमा आइपुग्ने गरी विस्तृत विवरण पठाउन निर्देशन दिएको हो । ‘नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान सञ्चालन कसरी गर्ने भन्ने दीर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनु अगाडि मुद्रा बजार र पूँजी बजार सम्बन्धित समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पुरा गर्न समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए नभएको सम्बन्धमा समितिमा गम्भीर रुपमा छलफल गर्नु पर्ने देखिएको छ,’ पत्रमा उल्लेख छ । तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नभएकोले यस सम्बन्धमा विस्तृत विवरण सम्बन्धित निकायसँग माग गरी अभिलेख राख्ने साथै समितिको बैठक बस्न साथ तत्काल छलफल गर्ने व्यवस्था मिलाउने भनी तोक आदेश भएकोले यस सम्बन्धमा भएका काम कारबाही सम्बन्धी विस्तृत विवरण ७ दिन भित्र समितिमा आइपुग्ने उपलब्ध गराइदिन समितिले अनुरोध गरेको छ ।

सोपान फर्मास्युटिकल्सले १४ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल

काठमाडौं । सोपान फर्मास्युटिकल्सले सर्वसाधारणलाई १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको सेयर गर्ने भएको हो । आईपीओ निष्काशन पश्चा्त कम्पनीको पूँजी ७० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको छ । आईपीओ निष्काशनका लागि सोपान फर्मास्युटिकल्स र एनएमबि क्यापिटलबीच सम्झौता भएको छ । सोपाल फर्मास्युटिकल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपाने र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा सोपानका वित्त प्रमुख रुपेश महतका साथै क्यापिटलका चिफ बिज्नेश अफिसर कमल प्रसाद नेपाल तथा फण्ड म्यानेजमेण्ट प्रमुख आशिष राज पाण्डेको समेत उपस्थिति रहेको थियो । सोपानका प्रमुख कार्यकारी अधिकृतले यस वर्षभित्रमा नै आईपीओ निष्काशन गरिसक्ने बताए । ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका ८ मा औषधि उत्पादन गरिरहेको छ । कम्पनीमा प्रतिष्ठित गैर आवासीय नेपाली व्यवसायीहरु, नेपाली सफल व्यापारिक घराना, औषधि, स्वास्थ्य तथा अन्य क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको लगानी रहेको छ । कम्पनीले आईएसओ, विश्व स्वास्थ्य संगठन तथा युरोपियन मापदण्डको गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस अनुसारको अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी आर्थिक वर्ष २०७८/०७९ देखि उच्च गुणस्तरको विभिन्न प्रकारका औषधिहरु उत्पादन गरीरहेको छ । कम्पनीले औषधि व्यवस्था विभागमा ११० वटा औषधिहरुको उत्पादन अनुमतिको लागि आवेदन पेश गरेकोमा हालसम्म ६० वटा औषधिहरुको उत्पादन अनुमति प्राप्त गरेको छ । यस्तै, २५ वटा औषधिहरु हाल बजारमा विक्री वितरण भैरहेको छ । त्यसैगरी थप ६० वटा औषधिहरु अनुसन्धान तथा विकासको चरणमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी २ वर्ष भित्र औषधिको संख्या २०० पुर्याउने लक्ष लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए । यस उद्योगले एन्टिवायोटिक्स, मुटुरोग, मधुमेह, स्वास प्रस्वास, छालारोग, नशा तथा हाडजोर्नी, मानसिक रोग, पाचन प्रणाली, प्रोस्ट्रेट, प्रतिरक्षा प्रणाली र भिटामिन्ससँग सम्बन्धित औषधिहरु उत्पादन गर्दै आइरहेको छ । साथै आगामी २ वर्ष भित्रमा आइ एण्ड इएर ड्रप्स र सफ्ट जेल क्याप्सुल समेत उत्पादन गर्ने योजना बनाएको छ ।

सेयर बजार निरन्तर ओरालो लाग्दै, कालिका पावरको सेयर मूल्य १० प्रतिशत घट्यो

काठमाडौं । सेयर बजारको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको हो । यसअघि हिजो आइतबार दोहोरो अंकले घटेको सेयर बजार मंगलबार पनि दोहोरो अंकले गिरवाट आएको हो । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको लगानीकर्ताहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरण गर्ने समय र चाडपर्व नजिक आएका बेला सेयर बजार बढ्नुपर्ने भएपनि ब्याजदर वृद्धिका कारण पूँजी बजार घटेको लगानीकर्ताको धारणा छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० अंकमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा सोमबकार २.०७ प्रतिशत घटेको हो । आइतबार नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा बन्द भएको थियो । यस्तै, मंगलबार दिनभरिमा २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर ३० हजार १३५ पटक खरिदबिक्री हुँदा १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको कारोबार भएको छ । यअिसअघि आइतबारका दिन १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार सेयर बजारमा राताम्य छाएको छ । कुनै पनि समूहमा हरियो देखिएको छैन । यस्तै, स्वाभिमान लघुवित्तको सेयर मूल्य ३.९२ प्रतिशत अर्थात् ५८ रुपैयाँ बढेर १ हजार ५३८ रुपैयाँ पुगेको छ भने कालिका पावर कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३३.४० रुपैयाँ घटेर ३००.६० रुपैयाँमा सीमित भएको छ । आज हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ६५ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।