मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनस सेयर तपाईको खातामा आयो ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्न सुरु गरेको छ । लघुवित्तको २०७८ पुस २९ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर वितरण गरी सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । लघुवित्तको २० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको सेयर जनाएको छ । भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुले लघुवित्तको सेयर अभौतिकीकरण गराएपश्चात सम्बन्धित हितग्राही खातामा बोनस सेयर जम्मा गरिने लघुवित्तले जनाएको छ । साथै हितग्राही खाता खोल्न बाँकी र गत आवहरुको सेयर प्रमाणपत्र संकलन नगरेका सेयरधनीहरुले सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग काठमाडौंबाट प्रमाणपत्र संकलन गरि सेयर अभौतिकीकरण गर्न कम्पनीले अनुरोध गरेको छ । लघुवित्तको २० प्रतिशत बोनस सेयर वापतको ८ लाख ७० हजार १४२.३१ कित्ता सेयर ३० गते नेप्सेमा सूचीकृत भएको थियो ।

नेप्सेमा दुई कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न दुई कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ । नेप्सले साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको जनाएको हो । दुवै लघुवित्तले एकआपसमा मर्जर गर्ने प्रारम्भिक सम्झौता गरेसँगै नेप्सले सेयर कारोबार रोक्का गरेको हो । दुवै संस्थाले शुक्रबार एक आपसमा मर्जरमा जानका लागि प्रारम्भिक पत्रमा हस्ताक्षर गरेका थिए ।

८ कम्पनीलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालसम्म विभिन्न ८ वटा कम्पनीलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको छ । सेबोनले ग्लोबल इक्विटी फण्ड, अवसर इक्विटी, एनआईसी एशिया क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट्स, एनआईविएल एस क्यापिटल, एनएमबि क्यापिटल, प्रभु क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको हो । नवीनतम ज्ञान, सीप र क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न र नयाँ व्यवसायहरु शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज फण्डमार्फत् अर्थतन्त्रमा लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने गरी लागू भएको ‘विशिष्टिकृत लगानी कोष नियमावली, २०७५’ को व्यवस्था अनुरुप बोर्डले विशिष्टीकृत लगानी कोषको स्थापना तथा संचालन गर्ने कार्यका लागि ८ वटा संस्थालाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको हो । अनुमतिपत्र प्राप्त विशिष्टीकृत लगानी कोष व्यवस्थापकहरु यसअघि बोर्डबाट धितोपत्र व्यवसायी मर्चेण्ट बैंकरको कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेका संस्थाहरु रहेको बोर्डले जनाएको छ । यी संस्थाहरुलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान भएसँगै धितोपत्र व्यवसायी मर्चेण्ट बैंकरको कार्य क्षेत्र समेत विस्तार भएको बोर्डको दाबी छ । यसले विना धितो साना तथा मझौला संस्थाहरुको पहुँच बढ्न गई नेपालको अर्थतन्त्रलाई थप टेवा पुग्ने बोर्डले अपेक्षा गरेको छ ।