सेयर लगानीकर्ताको लागत ५८.३५ प्रतिशतले बढ्यो, ब्याजदर १५ प्रतिशत
काठमाडौं । एक वर्षको अवधिमा सेयर धितो राखेर कर्जा लिने लगानीकर्ताको लागत ५८.३५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको साउनमा सेयर कर्जामा औसत ८.१४ प्रतिशत ब्याज तिरेका लगानीकर्ताले चालु आबको साउनमा १२.८९ प्रतिशत ब्याज तिरेका छन् । यो एक वर्षको अवधिमा लगानीकर्ताको लागत ५८.३५ प्रतिशतले बढेको देखिएको हो । बैंक तथा वित्तीय संस्थाले २०७८ को साउनमा ९२ अर्ब ८ करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । सो समयमा बैंक तथा वित्तीय संस्थाको सेयर धितो कर्जाको ब्याज ८.१४ प्रतिशत रहेको थियो । अहिले औसत ब्याजदर १२.८९ प्रतिशत भए पनि लगानीकर्ताले १५/१६ प्रतिशत तिर्नु परेको गुनासो गरेका छन् । एक वर्षको अवधिमा सेयर धितो कर्जाको ब्याजदर ४.७५ प्रतितले बढेको हो । यस हिसाबले सेयर लगानीकर्ताको लागत ५८.३५ प्रतिशत बढेको देखिएको हो । चालु आर्थिक वर्षको साउन महिनामा बैंक तथा वित्तीय संस्थाले औसत १२.८९ प्रतिशत ब्याजदरमा ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेय धितो कर्जा प्रवाह गरेका छन् । लगानीकर्ता राधा पोखरेल बैंक तथा वित्तीय संस्थाबाट सहज रुपमा सेयर धितो कर्जा पाउन छाडेको बताउँछिन् । लगानीकर्ताले माग गरे जति रकम नदिने गरेको उनको भनाइ छ । ब्याजदर बढ्दा कर्जाको लागत पनि बढेको उनले बताइन् । उनका अनुसार एकल अंक ब्याजदर हुँदा लिएको कर्जा दोब्बर हुँदा लगानीकर्तालाई ठूलो समस्या भएको छ । ‘अहिले सहज रुपमा सेयर धितो कर्जा पाउँदैन, बैंक तथा वित्तीय संस्थाले अलिअलि पैसा दिन्छ, लगानीकर्ताले माग गरेजति कर्जा दिँदैनन्,’ उनले भनिन्, ‘कर्जाको लागत बढ्दा सेयर बजार घटिरहेको छ, ६/७ प्रतिशत ब्याजदर हुँदा लिएको सेयर धितो कर्जा ब्याज १५ प्रतिशतसम्म पुगेको छ, यसले गर्दा लगानीकर्तालाई प्रत्यक्ष मार परेको छ ।’ बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दासेयर बजारमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ । सेयर बजार सामान्य घट्दा पनि मार्जिन कल आउने गरेको उनले बताइन् । सेयर धितो कर्जाका लागि बैंकमा गयो भने पैसा छैन भनेर फर्काउने गरेको उनको भनाइ छ । बैंकका कारण लगानीकर्ता पीडित हुनुपरेको छ । ‘सेयर बजार घटेको बेलामा मार्जिन कल धेरै आउँछ, बजार अलिकति घट्ने बित्तिकै दैनिक २÷३ पटक फोन गरेर दबाव दिन्छन्, बैंक तथा वित्तीय संस्थाको कारण हामी लगानीकर्ता धेरै पीडित हुनु परेको छ,बैंकले ब्याजदर बढी लिएपनि सहज रुपमा कर्जा पाउन सकिरहेको छैन किनभने बैंकहरुमा पैसा नै छैन भन्छन्,’ लगानीकर्ता पोखरेल भनिन्, ‘पछिल्ला केही दिनमा केही सहज भएको जस्तो महशुस भएको थियो तर बैंकको ब्याजदर खुकुलो गर्ने निर्णयले नै तरलता अभाव नै छ भन्ने बुझिन्छ ।’ यस्तै, लगानीकर्ता दिपेन्द्र अग्रवाललेराष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर सेयर धितोकर्जा पाएको भएपनि लागत भने उच्च रहेको बताए । हाल १६ प्रतिशत लागतमा कर्जा लिनु परेको उनको भनाइ छ । सेयर धितोको लागत बढेको कारण सेयर बजार घटेको उनको भनाइ छ । ‘लगानीकर्ताले राष्ट्र बैंकको सीमाभित्र रहेर सेयर धितो कर्जा पाइरहेका छन् तर कर्जामा १५/१६ प्रतिशत लागत लाग्ने गरेको छ, कर्जाको लागत बढेको हुँदा सेयर बजार घटेको हो,’ उनले भने, ‘१८४८ अंकसम्म आएर फर्केको मार्केट हो, मार्जिन कल खासै नहुन सक्छ, १८५० भन्दा तल नझर्दासम्म मार्जिन कल आउँदैन, अन्य सेक्टर हेर्ने हो भने सेयर बजार सेक्टर सुगम छ, अन्य सेक्टर टाट पल्टिने अवस्थामा छन्, यस्तो अवस्थामा सबैभन्दा राम्रो भनेको लगानी गर्नसेयर बजार नै हो ।’ बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा पनि सेयर बजार बढ्ने गरेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर खुकुलो गर्ने निर्णयले कर्जा बढी गएको क्षेत्रका लागनीकर्तालाई बढी असर गर्ने उनले बताए । सेयर धितो कर्जाका आधारमा मात्रै लगानीकर्ता सेयरमा लगानी गर्छन भन्ने अवस्थाको अन्तय भएको उनले बताए । ‘जतिजति ब्याज बढ्छ उती नै सेयर बजार बढ्ने अवस्थामा आइसकेको छ,आगामी दिनमा बजारको यात्रा रम्रो हुने देखिन्छ, ब्याजदर खुकुलो पार्ने बैंकहरुको निर्णले जुन क्षेत्रमा बढी कर्जा छ उनीहरुलाई असर पर्छ, सेयर बजारमा जम्मा ७० अर्ब बराबरको कर्जा छ,’ लगानीकर्ता अग्रावालले भने, ‘सेयर धितो कर्जा घट्दा बजारमा चाम छैन भन्ने बुझिन्छ, ब्याजदर महँगो भयो भन्दैमा भोलिका दिनमा कर्जाका आधारमा मात्रै नभएर नगद बाट मात्रै बजार चल्न सक्छ ।’ यस्तो छ १२ महिनाको ब्याजदर बैंक तथा वित्तीय संस्थाले २०७८ को साउनमा ९२ अर्ब ८ करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । सो समयमा बैंक तथा वित्तीय संस्थाको सेयर धितो कर्जाको ब्याज ८.१४ प्रतिशत रहेको थियो । यस्तै, बैंक तथा वित्तीय संस्थाले २०७८ को भदौमा ८८ अर्ब ४३ करोड ७०लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । सो समयमा बैंक तथा वित्तीय संस्थाको सेयर धितो कर्जाको ब्याज ८.२६ प्रतिशत रहेको थियो । यस्तै, बैंक तथा वित्तीय संस्थाले २०७८ को असोजमा सेयर धितो कर्जाको ब्याजदर ८.३६ प्रतिशत रहेको थियो । सोही ब्याजमा बैंक तथा वित्तीय संस्थाले ८८ अर्ब २० करोड ६० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । यस्तै, २०७८ कात्तिकमा बैंकको सेयर धितोको ब्याजदर ८.८३ प्रतिशतमा ८६ अर्ब १५ करोड ९० लाख रुपैयाँ सेयर धितो कर्जा लगानीकर्ताले लिएका छन् । यस्तै, लगानीकर्ताले ९.१२ प्रतिशत ब्याजदरमा गत वर्षको मंसिरमा ८४ अर्ब ६१ करोड १० लाख रुपैयाँ बैंकबाट लिएका छन् । यस्तै, गत वर्षको पुसमा लगानीकताएले ९.४१ प्रतिशत ब्याजदरमा ८३ अर्ब ७० करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा लिएका छन् । यस्तै, गत वर्षको माघ महिनामा लगानीकर्ताले १०.३३ प्रतिशत ब्याजदरमा ८२ अर्ब ४४ करोड ७० लाख रुपैयाँ सेयर धितो कर्जा लिएका छन् । यस्तै, बैंक तथा वित्तीय संस्थाले २०७८ को फागुनमा १०.५९ प्रतिशत ब्याजदरमा ७९ अर्ब ७७ करोड ७७ लाख रुपैयाँ, चैतमा १०.९० प्रतिशत ब्याजदरमा ७८ अर्ब ४० करोड ९० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यस्तै, बैंक तथा वित्तीय संस्थाले २०७९ को बैशाखमा ११.९० प्रतिशत ब्याजदरमा ७५ करोड १६ लाख ८० हजार रुपैयाँ, जेठमा १२.०६ प्रतिशत ब्याजदरमा ७१ अर्ब ७१ करोड ३० लाख रुपैयाँ, असारमा १२.२५ प्रतिशत ब्याजदरमा ६४ अर्ब ८१ करोड ८० लाख रुपैयाँ र साउनमा १२.८९ प्रतिशत ब्याजदरमा ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
माथिल्लो अरुण जलविद्युतले ३२ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने
काठमाडौं । माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाले करिब ३२ अर्ब रुपैयाँकाे सर्वसाधारण सेयर निश्कासन गर्ने भएकाे छ । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको उक्त जलविद्युत आयाेजनाले ६४ अर्ब रुपैयाँ इक्विटीमध्ये ४९ प्रतिशत अर्थात करिब ३२ अर्ब रुपैयाँकाे सर्वसाधरण सेयर निश्कासन गर्ने भएकाे हाे । यस आयोजनालाई ‘ब्लेन्डेड फाईनान्सिङ’ (मिश्रित लगानी)को नमुना प रियोजनाको रुपमा अगाडि बढाइने भएको छ । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा निर्माण हुने आयोजनामा नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लाबासी, देशभरीका सर्वसाधारणको सेयर लगानी, अन्तर्राष्ट्रिय वहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने छ । आयोजना निर्माण गर्न संस्थापना गरिएको अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमा प्राधिकरणको सबैभन्दा बढी सेयर स्वामित्व रहने छ । निर्माण अवधिको ब्याज, मूल्यवृद्धिलगायत सहित १ अर्ब ७५ करोड अमेरिकी डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइने छ । करिब १ खर्ब ५० अर्ब रुपैयाँ ऋणमध्ये ९७ अर्ब विश्व बैंक, युरोपेली लगानी बैंक जस्ता वहुपक्षीय अन्तर्राष्ट्रिय विकास साझेदारबाट सहुलियपूर्ण ऋण र ५३ अर्ब अर्ब स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने छ । अन्तर्राष्ट्रिय संस्थाको सहवित्तीयकरणको नेतृत्व विश्व बैंकले गर्ने छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल)को नेतृत्वमा स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी हुने छ । आयोजनाका हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनका उपकरणहरु विदेशबाट आयात गर्दा कुल लागतमध्ये करिब ३० देखि ४० प्रतिशत खर्च हुने र उक्त रकम वैदेशिक लगानीबाट प्राप्त हुने डलरबाट भुक्तानी हुँदा यसले मुलुकको सोधानान्तर बचतमा समेत सहयोग गर्ने छ । प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवद्र्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका अध्यक्ष कुलमान घिसिङले माथिल्लो अरुणलाई नेपालमा ब्लेन्डेड फाईनान्सिङको पहिलो प्रकारको मोडालिटीमा निर्माण गरिने बताए । ‘एचआइडिसिएलको अगुवाइमा हुने सहवित्तीयकरणमा नेपालका निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले पनि आयोजनामा ऋण प्रवाह गर्ने छन्, यो ब्लेन्डेड फाईनान्सिङको पहिलो प्रकारको मोडेल बन्ने छ, जसबाट मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक हलचल ल्याउने छ’,उनले भने । ‘चार अंकको जडित क्षमता (१०६१ मेगावाट) भएको माथिल्लो अरुणबाट अहिले देशमा खपत भइरहेको ऊर्जाको झण्डै आधार ऊर्जा उत्पादन हुने छ, आयोजना तुलनात्मक रुपमा सस्तो पनि त्यसैले धेरैलाई सहभागी बनाएर नुमना परियोजनाको रुपमा फाष्ट ट्रयाकमा अगाडि बढाइने छ ।’ ६४ अर्ब रुपैयाँ इक्विटीमध्ये ५१ प्रतिशत आयोजनाको प्रवद्र्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक सेयरबाट र ४९ प्रतिशत सर्वसाधारण सेयरबाट संकलन गरिने छ । जनताको जलविद्युत कार्यक्रममा समावेश माथिल्लो अरुणमा प्रदेश सरकार, आयोजना रहेको जिल्ला संखुवासभाका स्थानीय तह, नेपाल विद्युत प्राधिकरणलगायतका संस्थापक सेयर रहने छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा बिहीबार प्राधिकरण, आयोजनाको प्रवद्र्धक कम्पनी र स्वदेशी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणको अगुवा गर्ने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल)बीच ऋण लगानी सम्बन्धी समझदारीपत्रमामा हस्ताक्षर भएको छ । प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक घिसिङले, एचआइडिसिएलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम र प्रवद्र्धक कम्पनीकातर्फबाट प्रबन्ध–सञ्चालक फडिन्द्र जोशीले हस्ताक्षर गरेका हुन् । सहवित्तीयकरणमार्फत आयोजनामा करिब ५३ अर्ब रुपैयाँ लगानी हुने छ । सहवित्तीयकरणमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नागरिक लगानी कोषलगायतका बैंक तथा वित्तीय संस्था सहभागी छन् । समझदारीमा हस्ताक्षर भएको मितिबाट १२० दिनभित्र ऋण लगानीको टर्मसिट तयार गरी एक वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ । मन्त्री भुसालले जनतालाई प्रत्यक्ष लाभ दिने रुपान्तरणकारी आयोजनाका निर्माण पूर्वका तयारीहरु पूरा गरी जतिसक्दो छिट्टो निर्माणमा लैजानु पर्ने बताइन् । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव शुशीलचन्द्र तिवारीले आयोजना निर्माणका लागि तय गरिएका समयतालिका अनुसार तत्काल काम सुरु गरिनु पर्ने बताए । आयोजनाको निर्माण पुस २०८१ बाट सुरु गरी पुस २०८७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई टेण्डर डिजाइन तथा निर्माण सुपरीवेक्षणका लागि परामर्शदाता छनोट कार्य भइरहेको छ । आयोजनाको पूर्व तयारीमध्ये २ किलोमिटर सुरुङ मार्गसहित करिब २१ किलोमिटर पहुँच सडक निर्माण गर्न निर्माण व्यवसायी छनोटका लागि पेश भएका बोलपत्रको मूल्याङ्कन भइरहेको छ । पहुँच मार्ग आगामी पुसबाट सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । आयोजनालाई आवश्यक पर्ने २ हजार २५ हेक्टर निजी जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण भइसकेको छ । आयोजनाबाट करिब २२ घरधुरी भौतिक रुपमा विस्थापित हुने छन् । आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभावहरु तुलनात्मक रुपमा न्यून रहने अध्ययनले देखाएको छ । आयोजनालाई विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउने गरी डिजाइन गरिएको छ । आयोजनाबाट वार्षिक ४ अर्ब ५१ करोड युनिट ऊर्जा उत्पादन हुने छ । यसमध्ये करिब ३० प्रतिशत ऊर्जा हिउँदमा उत्पादन हुने छ । उत्पादित विद्युतलाई करिब ६ किलोमिटर ४०० केभीको प्रसारण लाइनमार्फत संखुवासभाको हाइटारमा प्रस्तावित सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत कार्यक्रममा समावेश भएको आयोजना हो ।
नेप्सेमा एक लघुवित्तको २० प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार लघुवित्तको २० प्रतिशत बोनस सेयर वापतको ८ लाख ७० हजार १४२.३१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।