नेशनल लाईफ इन्स्योरेन्स घोषणा गर्यो लाभांश, चुक्ता पुँजी कति पुग्छ ?

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेपछि कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । सभाले पारित गरेपछि कम्पनीका सेयरधनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड रुपैयाँ छ । १५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ । योसँगै बीमा समितिले तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्न कम्पनीलाई ३७ करोड रुपैयाँ आवश्यक पर्ने देखिन्छ ।

विदेशमा रहेका नेपालीलाई १० प्रतिशत आईपीओ, रेमिट्यान्स बचत खातामार्फत् मात्रै भुक्तानी गर्नु पर्ने

काठमाडौं । आईपीओ निष्काशन गर्ने कम्पनीले १० प्रतिशत सेयर नेपाल सरकारको सम्वन्धीत निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याउनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दर्ता तथा निष्काशन (छैठौं संशोधन) नियमावली २०७९ सार्वजनिक गर्दै श्रम स्वीकृति प्राप्त गरि वैदेशिक रोजगारीमा रहेका नेपालीले मात्र आईपीओमा आवेदन दिन पाउने व्यवस्था गरेको हो । ‘संगठित संस्थाले सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्नु पर्नेछ,’ संशोधन गरेको नियमावलीमा उल्लेख गरिएको छ । यस्तै, निष्काशित सेयरमा सम्बन्धित व्यक्तिले आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खातामार्फत् मात्र भुक्तानी गर्नु पर्ने भएको हो । सेयर बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समूहमा थप गरी जारी गर्नु पर्ने ब्यबस्था नियमावलीले गरेको हो । [pdf id=351468]

नयाँ स्टकको पूँजी ३ अर्ब हुनुपर्ने, सर्वसाधारणले ३० प्रतिशत सेयर पाउने (यस्तो छ नियमावली)

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाहेक नयाँ स्टक एक्सचेन्ज स्थापना गर्दा चुक्ता पूँजी ३ अर्ब रुपैयाँ हुने गरी धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको संशोधनमा नयाँ स्टक एक्सचेञ्ज चुक्ता पूँजी ३ अर्ब हुनु पर्ने व्यवस्था मिलाएको हो । यसअघि स्टक एक्सचेञ्जको पूँजी ५ करोड रुपैयाँ मात्रै थियो । नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आएको २ वर्ष भित्र ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था मिलाएको छ । अब आउने नयाँ स्टकको सेयर सर्वसाधारणले पनि पाउने भएका हुन् । नेपालबाहेक अन्य मुलुकमा धितोपत्र बजार सञ्चालन गरेका कम्पनीले पनि स्टक एक्सचेन्जमा लगानी गर्ने व्यवस्था गरिएको छ । यस्तै, पछिल्लो १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गर्दै आएका तथा नेपालमा लगानी गर्न स्वीकृति पाएका कम्पनीले नेपाली स्टक एक्सचेन्जमा लगानी गर्न पाउने व्यवस्था पनि नियमावलीमा गरेको छ । [pdf id=351459]