२०९ अंकले बढ्यो नेप्से परिसूचक, आठ महिनामै साढे १ खर्बको धितोपत्र सूचीकृत

काठमाडौं । २०७८ फागुन मसान्तमा सेयर मूल्य मापन नेप्से परिसूचक २६६८.१ बिन्दुमा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०९.६ अंकले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ फागुन मसान्तमा उक्त सूचक २४५८.५ बिन्दुमा रहेको थियो । त्यस्तै, समीक्षा अवधिमा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब ८७ करोड रुपैयाँबाट बढेर ३७ खर्ब ८२ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा सूचीकृत कम्पनीको संख्या पनि बढेको छ । २०७७ फागुनमा २१७ रहेको सूचीकृत कम्पनीको संख्या २०७८ फागुनमा बढेर २२८ पुगेको छ । २०७८ फागुनमा सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १०.६ प्रतिशत, लगानी कम्पनीको ७१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.३ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०७८ फागुनसम्ममा सूचीकृत ६ अर्ब ६१ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ५१ अर्ब २१ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनासम्ममा ४६ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३७ अर्ब १६ करोड रुपैयाँ बराबरको बोनस सेयर, २९ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, १७ अर्ब ८३ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९ अर्ब १८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब ११ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ३ अर्ब रुपयाँ बराबरको म्युचअल फण्ड र २ अर्ब ८४ करोड रुपैयाँ बराबरको साधारण सेयर गरी कुल १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

दुई लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । चैत २९ गते एकैदिन सूर्योदय र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । दुई संस्थाको कूल ९ लाख ४८ हजार ७०६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये सूर्योदय लघुवित्तको २० प्रतिशत अर्थात ४ लाख ९६ हजार ८५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २७.७० प्रतिशत अर्थात ८ लाख ९९ हजार ९८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै अब दुबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

मागभन्दा बढी आवेदन परिसकेको उपकार लघुवित्तको आईपीओ भर्ने म्याद किन थपियो ?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । सेयरको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले चैत २९ गतेसम्म आवेदन दिने म्याद थपेको हो । गत चैत २७ गते राम नवमी परेर सार्वजनिक बिदा भएको भन्दै मर्चेन्टले थप एक दिन म्याद थपेको हो । यससँगै, चैत २९ गतेसम्म आवेदन दिन पाइने भनिएको उक्त सेयरमा अब चैत ३० गतेसम्म आवेदन दिन पाइने छ । संस्थाले गत चैत २५ गतेदेखि २ लाख २६ हजार २५० कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये त्यसमध्ये ०.५० प्रतिशत आर्थत ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । र, बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेको हो । सर्वसाधारणलाई २ लाख २१ हजार १५६ कित्ता सेयर माग गरेको उक्त आईपीओमा हालसम्म २ अर्ब ३२ करोड रुपैयाँ बराबरको २ करोड ३२ लाख कित्ता आवेदन परेको छ । चैत २९ गते बिहान १० बजेसम्ममा २० लाख ४४ हजार ९०२ जनाले २ अर्ब ३२ करोड रुपैयाँ बराबरको आवेदन दिएका हुन् । उक्त सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उनीहरुले चैत २९ गतेसम्म आवेदन दिन पाउने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । संस्थाको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ । हाल ४ करोड २० लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी आईपीओ पश्चात ६ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।