नेशनल माइक्रोफाइनान्सकाे ४५ प्रतिशत लाभांश पारित
काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ४५ प्रतिशत लाभांश पारित गरेकाे छ । माघ ६ गते सम्पन्न संस्थाको ८ औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश पाउने छन् । बाेनश सेयर पश्चात कम्पनीको चुक्ता पूंजी ५८ करोड ६७ लाख पुगेको छ । सभाले सञ्चालक समितिको तर्फबाट सभाध्यक्ष रविन सिजापतिले प्रस्तुत गरेकाे आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सभाले संस्थाको हालको अधिकृत पुँजी ५० करोडबाट बृद्धि गरी ७० करोड पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ । यस लघुवित्तले आठौं बर्षमा आइपुग्दा, हाल देशका ७ वटा प्रदेशहरुका ६४ वटा जिल्लाहरुमा रहेका १०० वटा शाखा कार्यालयहरु मार्फत करीव १ लाख ४३ हजार भन्दा बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाले हालसम्म १० अर्ब ५३ करोड कर्जा लगानी गरी २ अर्ब ८३ करोड बरावर ग्राहक सदस्यहरुबाट बचत संकलन गरेको छ ।
यी ५ कम्पनीकाे एक अर्ब २१ करोडको आईपीओ जारी हुँदै, कसको कति ?
काठमाडौं । नेपाली प्राथमिक बजारमा अब धमाधम एक अर्ब बढीको आईपीओ निष्काशन हुने भएको छ । बजारमा लघुवित्त र हाइड्रो समूहका कम्पनीहरुले कूल १ अर्ब २१ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएका हुन् । जसमध्ये सबैभन्दा बढी हाइड्रो कम्पनीहरुको रहेको छ । हाइड्रो समूह अन्तर्गतका कम्पनीले ९९ करोड ५ लाख ९४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएका हुन् भने लघुवित्त समूह अन्तर्गतका संस्थाले २२ करोड ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने छन् । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै हाइड्रो समूहका दुई र लघुवित्त समूहका तीन कम्पनी गरी ५ वटा कम्पनीलाई सेयर निष्काशन गर्न बाटो खुला भएको हो । यससँगै यिनीहरूले धमाधम आईपीओ जारी गर्न शुरू गर्ने छन् । लघुवित्त समूहमध्ये नेष्ठो सम्बृद्ध लघुवित्त, जालपा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले लामो पर्खाइपछि आईपीओ जारी गर्ने प्रकृया अघि बढाएका हुन् । जसमा नेष्ठो सम्बृद्धले करिब ७ महिना पछि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर जारी गर्ने छ । संस्थाले गत असार ६ गते सो मात्राको आईपीओ जारी गर्नको लागि बोर्डको स्वीकृति मागेको थियो । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । त्यस्तै, असार २० गते आईपीओको अनुमति मागेको जालपा सामुदायिक लघुवित्तले पनि ८ महिनाको पर्खाइ पछि बोर्डको स्वीकृति पाएको हो । स्वीकृति पाएसँगै संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशनको काम भने प्रभु क्यापिटलले गर्ने छ । उता राष्ट्र उत्थान लघुवित्तले पनि करिब ७ महिना पछि नै अनुमति पाएको हो । संस्थाले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओको जारी गर्न गत असार २४ गते नै बोर्डमा पत्र पठाएको थियो । यता हाइड्रो कम्पनीले पनि ९९ करोड ५ लाख ९४ हजार रुपैयाँ बराबरको आईपीओ बजारमा ल्याउने भएका छन् । बोर्डले बलेफी हाइड्रोपावर र ग्रीन भेन्चरलाई सो मात्राको आईपीओ जारी गर्न स्वीकृति दिएसँगै उनीहरुले अब छिट्टै नै आईपीओ निष्काशनको प्रकृया अघि बढाउने छन् । जसमध्ये बलेफी हाइड्रोलाई ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिइएको छ । यससँगै कम्पनीले स्थानिय तथा सर्वसाधारणलाई एक सय अंकित दरको ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । त्यसैगरी, गीन भेन्चरलाई पनि एक सय अंकित दरका ६२ लाख ५० हजार कित्ता अर्थात ६२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डले स्वीकृति दिएको छ । यससँगै कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्फत सो मात्राको सेयर स्थानिय तथा सर्वसाधारणमा जारी गर्ने छ ।
एकाएक दुई इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, तीन हाइड्रोमा लाग्यो सकारात्मक सर्किट
काठमाडौं । बिहीबारको बजारमा एकाएक दुई निर्जीवन बीमा कम्पनीमा इन्स्योरेन्समा लगानीकर्ताको आकर्षण देखिएको छ । बजारमा आईएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । नेपाल धितोपत्र बोर्डले लामो समयपछि गरेको निर्णयसँगै त्यसको प्रभाव दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा परेको हो । बोर्डले आईएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्स दुबैलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएसँगै लगानीकर्ताहरु यी कम्पनीको सेयरमा झुम्मिएका हुन् । बोर्डले अनुमति दिएसँगै आईएमई जनरल इन्स्योरेन्सको उच्च कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन २२ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बोर्डले कम्पनीलाई ४० प्रतिशतको हकप्रद सेयर जारी गर्न अनुमति दिएसँगै कम्पनीको सेयर कारोबार बढेको हो । आईएमई जनरलको सेयर कारोबार रकमसँगै सेयरमूल्य पनि बढेको छ । इन्स्योरेन्सको सेयर मूल्य एकैदिन ५० रुपैयाँले बढेर प्रतिकित्ता १२१७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.२८ प्रतिशतले बढी हो । त्यस्तै, बढी कारोबार गर्नेको तेश्रो स्थानमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको १७ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद जारी गर्न बोर्डको स्वीकृति पाएसँगै लगानीकर्ताहरु इन्स्योरेन्सको सेयरमा झुम्मिएका हुन् । त्यस्तै, शिखरको सेयर कारोबारसँगै सेयर मूल्य पनि बढेको छ । इन्स्योरेन्सको सेयर मूल्य ८६ रुपैयाँले बढेर प्रतिकित्ता २ हजार ९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.४७ प्रतिशतले बढी हो । दुई निर्जीवन बीमा कम्पनीले ९९ कराेड रूपैयाँकाे हकप्रद जारी गर्ने यता केही देखि उच्च कारोबार भइरहेको अपि पावर कम्पनी आज दोश्रो स्थानमा रहेको छ । कम्पनीको १८ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार भने प्रतिकित्ता ५५० रुपैयाँ भएको छ । त्यस्तै, बिहीबारको कूल कारोबार ५ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा २५ करोड रुपैयाँले घटी हो । अघिल्लो दिन अर्थात बुधबारको बजारमा ६ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबार घटेपनि सेयर मूल्य मापक नेप्से परिसूचक भने बढेको छ । गत दुई दिन निरन्तर घटेको बजार आज भने ३२.९६ अंकले बढेर २९३१.२६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.१४ प्रतिशतले बढेको हो । बजारमा अधिकांश समूह बढेका छन् । जसमध्ये सबैभन्दा बढी बढ्नेमा जीवन बीमा समूह रहेको छ । जो ४६२ अंकले बढेर १६ हजार ६५४ बिन्दुमा पुगेको छ । यता बैंकिङ्ग र म्युचुअल फण्ड समूह भने सामान्य अंकले घटेका छन् । दोहोरो अंकले बढेको बजारमा तीन वटा हाइड्रो कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा मध्य भोटेकोशी जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् । यी मध्ये दुई कम्पनी मध्य भोटेकोशी र तेह्रथुम पावरको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ भने बुद्धभूमी नेपालको ९.९७ प्रतिशतले बढेको छ । यससँगै, यी तीन वटै कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५५०, ६३५ र ३१६ रुपैयाँमा भएको छ ।