२७ वर्षपछि लाभांश दिन लागेको प्रोग्रेशिभ फाइनान्समा लफडा, धितोपत्र बोर्ड भन्छः सेयरधनीलाई मारमा पार्दैनौं

काठमाडौं । २७ वर्षपछि सेयरधनीलाई लाभांश वितरण गर्न लागेको प्रोग्रेशिभ फाइनान्सले बजारमा तहल्का मच्चाएको छ । संस्थाले दोश्रो बजारमा बुक क्लोज भइसकेपछि लाभांश परिमार्जन गरेर बजारमा नौलो तहल्का मच्चाएको हो । जुन नेपाली बजारमा नयाँ केश हो । संस्थाले प्रस्तावित ७ प्रतिशत बोनसको लागि गत पुस १९ गते बुक क्लोज गर्यो । सोही अनुसार दोश्रो बजारमा मूल्य समायोजन पनि भयो । र, एक साता पछि अर्थात पुस २८ गते संस्थाले प्रस्तावित लाभांश परिमार्जन गर्यो । यससँगै, संस्थाले मूल्य समायोजन भएपछि लाभांश परिमार्जन गर्दा राष्ट्र बैंकको स्वीकृति बिनै बुक क्लोजको मिति तय गरेको हो की भन्ने धेरैले अनुमान लगाएका थिए । यता संस्थाले भने राष्ट्र बैंकको स्वीकृति पाएपछि मात्रै बुक क्लोज र साधारणसभाको मिति तय गरेको बताएको छ । तर पुसको अन्तिममा ट्याक्स फाइल गर्दा त्यसमा गडबढी भएको कारणले बुक क्लोजपछि लाभांश परिमार्जन गर्नु पर्ने अवस्था आएको फाइनान्सका कम्पनी सचिव प्रमोद भट्टराईले बताए । ‘हामीले राष्ट्र बैंकको स्वीकृति लिएपछि बुक क्लोज तथा सभाको निर्णय गरेका थियौं, तर पुस २५/२६ गतेतिर ट्याक्स फाइल गर्दा ट्याक्स प्रोभिजन कम गरेको थाहा भयो, जुन हाम्रो गल्ती भयो, त्यतिखेर नहेर्दा अहिले पुनः लाभांश रिभाइज गर्नुपर्ने अवस्था आयो, र, रिभाइज्ड गरी हामीले राष्ट्र बैंकमा पठाइसकेका छौं, सम्भवतः दुई/चार दिनमा एप्रुभ होला, त्यसपछि एजीएमको लागि पुनः नयाँ मिति तय गर्छौं’ कम्पनी सचिव भट्टाईले विकासन्युजसँग भने । उनका अनुसार संस्थाको गत वर्षको कर अडिट गर्दा मिसम्याच भएको र जसले गर्दा खुद नाफासँगै लाभांशमा पनि परिवर्तन गर्नुपर्ने अवस्था आएको हो । साथै, उनले राष्ट्र बैंकले स्वीकृति दिएपछि नेप्सेले पुनः सेयर मूल्य समायोजन गर्न सक्ने बताएका छन् । ‘हामीले बुक क्लोजको मिति साविककै कायम गर्ने भनेर नेप्सेलाई भनिसकेका छौं, त्यसलाई नै आधार मानिन्छ, अब राष्ट्र बैंकबाट स्वीकृत भएपछि सायद नेप्सेले नयाँ समायोजन गर्छ होला,’ भट्टराईले भने । पुनः समायोजन गर्दा त सेयरधनी मारमा पर्छन् हैन र ? भन्ने प्रश्नमा उनले भने– ‘त्यसमा समस्या देखिएको छ, पहिला ७ प्रतिशतमा भएको थियो भने अब ६ प्रतिशतमा हुन्छ, तर धेरैको अन्तर नभएकोले त्यति ठूलो असर नपर्ला ।’ यता बजार सञ्चालक नेप्सेले सेयर मूल्य समायोजन भइसकेपछि लाभांश परिमार्जन गर्नु गलत भएको दाबी गरेको छ । र, यो केश प्रोग्रेसिभ फाइनान्स र नेपाल राष्ट्र बैंकबीचको कुरा भएको र अब बैंकको निर्णय अनुसार गृहकार्य गरिने बताएको छ । ‘हामीलाई कम्पनीले सभामा जान बुक क्लोजको मिति तय गरेको सूचना सार्वजनिक गरेपछि चिठी दिन्छ, कम्पनीको चिठी अनुसार हामीले ७ प्रतिशत बोनसमा मूल्य समायोजन गरेको हो, अहिले उक्त लाभांश परिमार्जित गर्दै ६ प्रतिशत दिने भनेको छ, अब नेपाल राष्ट्र बैंकले के गर्छ त्यही अनुसार प्रकृया अघि बढ्छ,’ नेप्सेका एक पदाधिकारीले भने । त्यस्तै, कुनै पनि कम्पनीको दोश्रो बजारमा सेयर मूल्य समायोजन भइसकेपछि लाभांश परिमार्जन गर्नु गलत भएको नेप्सेको दावी छ । ‘संस्थाले साधारणसभा मात्रै स्थगित गरेको भए केही हुँदैन थियो, फेरि बोनस ७ प्रतिशत नै दिएको भएपनि असर पर्दैन थियो, तर बोनस सेयर नै घटाएर प्रस्ताव गरेको छ, यहाँ एकदमै गलत भएको छ, समायोजन पछि लाभांश परिमार्जन गर्न पाइँदैन, र, पहिला ७ प्रतिशतमा मूल्य समायोजन भएको संस्थाको फेरि ६ प्रतिशतमा मूल्य समायोजन गर्न मिल्दैन,’ उनले थप प्रष्ट पार्दै भने । साथै, एकपटक मूल्य समायोजन भइसकेको अब पुनः मूल्य समायोजन गर्न नमिल्ने बजार सञ्चालक नेप्सेको भनाई छ । ‘बुक क्लोजसँग मूल्य समायोजन भइसकेको कम्पनीले एजीएम पनि स्थगित गर्यो, बोनसलाई रिभाइज पनि गर्यो त्यसैले यो अलि जटिल केश छ, अब संस्थाले परिमार्जित लाभांश प्रस्ताव राष्ट्र बैंक समक्ष पठाएको छ, सम्भवतः राष्ट्र बैंकले यसलाई रोक्छ, हेरौं, राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले के निर्णय गर्छ,’ उनले भने । अब राष्ट्र बैंक र धितोपत्र बोर्डको निर्णय अनुसार समन्वय गर्दै नेप्सेले यस विषयमा कुनै न कुनै एक्सन पक्कै लिने नेप्सेका पदाधिकारी बताउँछन् । धितोपत्र बोर्ड भन्छ: लगानीकर्तालाई मारमा पार्दैनौं नेपाल धितोपत्र बोर्डले पनि बुक क्लोजपछि लाभांश परिमार्जन गरेको हालसम्मकै पहिलो केश भएको बताएको छ । त्यसैले यो विषयमा नेप्सेसँग परामर्श गरेर मात्रै अगाडि बढ्ने बोर्डका एक पदाधिकारीले बताए । ‘हालसम्म कुनै पनि कम्पनीको बुक क्लोजपछि लाभांश परिमार्जन गरिएको थाहाँ थिएन, यो नौलो केश भएकोले बोर्डले पनि यो विषयमा थप गृहकार्य गर्नुपर्ने हुन्छ,’ उनले विकासन्युजसँग भने । दोश्रो बजारमा समायोजन भइसकेको मूल्यको के हुन्छ ? भन्ने विकासन्युजको प्रश्नमा बोर्डले लगानीकर्तालाई मारमा पार्ने काम हुन नदिने बताएको छ । ‘नयाँ केश भएकोले समाधान गर्न समय लाग्ला, तर लगानीकर्तालाई भने मारमा पार्ने काम गर्दैनौं,’ उनले थप प्रष्ट पार्दै भने– ‘राष्ट्र बैंक कम्पनीको पहिलो रेगुलेटर हो, संस्थाको परिमार्जित लाभांशमा राष्ट्र बैंकको के राय आउँछ, हेरौं, पक्कै पनि बैंकले यसमा केही निर्णय गर्छ, त्यसपछि बैंकको निर्णय अनुसार हामी पनि नेप्सेसँग परामर्श लिएर अघि बढ्छौं ।’ लाभांश खुवाउन झमेला ! वि.स २०५१ सालमा स्थापना भएको प्रोग्रेशिभ फाइनान्सले हालसम्म सेयरधनीलाई लाभांश वितरण गरेको थिएन । फाइनान्सले २७ वर्षपछि एकैपटक आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुराना बैंकर किशोर महर्जन अध्यक्ष भएर आएसँगै संस्थाले २७ वर्षपछि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको हो । गत पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । त्यसको ८ दिनपछि अर्थात पुस ८ गते संस्थाले साधारणसभा र उक्त सभामा जानको लागि बुक क्लोजको मिति तय गर्यो । जसअनुसार संस्थाले पुस ३० गते वार्षिक साधारणसभा र पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । सोही अनुसार नेप्सेले पुस १९ गते संस्थाको ७ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन गरिदियो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३३१.६८ रुपैयाँ कायम भयो । जुन पुस १८ गतेको अन्तिम कारोबारमा मानेर गरिएको थियो । सो दिन संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ३५४.९० रुपैयाँमा भएको थियो । त्यसपछि दोश्रो बजारमा मूल्य समायोजन भएपछि संस्थाले पुस २७ गते सभा स्थगित भन्दै अर्को सूचना जारी गर्यो । उक्त सूचनामा सभा स्थगित मात्रै नभई लाभांश परिमार्जन समेत हुने उल्लेख गरिएको थियो भने बुक क्लोजको मिति भने पुरानै लागू हुने संस्थाले जनाएको थियो । त्यसपछि संस्थाले लाभांश परिमार्जित गर्दै पुस २८ गते पुनः लाभांश घोषणा गर्यो । जसमा ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने उल्लेख छ । जसलाई हाल राष्ट्र बैंकले स्वीकृति दिएको छैन । बैंकले स्वीकृति दिएपछि मात्रै संस्थाको साधारण सभा पारित गर्ने छ । पुनः समायोजन भए लगानीकर्तालाई घाटा ! हुन त, हालसम्म प्रोग्रेसिभको सेयर मूल्य पुनः समायोजन हुन्छ हुन्न भन्नेमा एकिन छैन । यसको लागि नेप्से तथा धितोपत्र बोर्डले निर्णय गर्ने छ । सम्भवतः नहुन पनि सक्छ । यदि राष्ट्र बैंकले स्वीकृति दियो र पुनः समायोजन भयो भने पुस १८ गतेको अन्तिम कारोबार मूल्यलाई नै आधार मानेर गरिने छ । सो दिन संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ३५४.९० रुपैयाँमा भएको थियो । अब ६ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन हुँदा संस्थाको समायोजित मूल्य प्रतिकित्ता ३३४.८१ रुपैयाँ कायम हुने छ । संस्थाको सेयर पुनः समायोजन भयो भने सेयरधनीलाई घाटा हुने प्रष्टै देखिन्छ । किनभने पछिल्लो समय सेयर बजार निरन्तर रुपमा बढीरहेको छ । बढ्दो बजारमा प्रोग्रेशिभ फाइनान्सको सेयर मूल्य पनि बढिरहेको छ । संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता ४०० रुपैयाँ माथि पुगिसकेको छ । माघ ३ गतेको बजारमा भने संस्थाको प्रतिकित्ता सेयर ४२२ रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा भने ७ रुपैयाँले घटी हो ।

किसान लघुवित्तले घोषणा गर्यो गत वर्षको लाभांश

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । माघ २ गते साँझ बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त आव  नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत अर्थात ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ छ । २५ प्रतिशत बोनस सेयर पारित पछि संस्थाको चुक्ता पुँजी ४९ करोड १० लाख रुपैयाँ पुग्ने छ । संस्थाको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

सोमबार बुद्धभूमि नेपालको सेयर कारोबार नहुने

काठमाडौं । सोमबार बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर कारोबार नहुने भएको छ । स्पेसल प्री ओपनिङको समयमा सेयर म्याचिङ नभएकोले कम्पनीको माघ ३ गतेको नियमित समयमा संस्थाको सेयर कारोबार नहुने भएको हो । यससँगै अब बुधबारको स्पेसल प्री ओपन सेसनमा कारोबार म्याच भएपछि मात्रै संस्थाको सेयर नियमित समयमा कारोबार हुने छ । दोस्रो बजारमा जुनसुकै कम्पनीको सेयर स्पेसल प्री ओपन सेसनमा म्याचिङ भएपछिमात्र नियमित समयमा कारोबार हुने व्यवस्था रहेको छ । यदि म्याचिङ भएन भने सो दिन कारोबार हुँदैन र अर्को दिनको प्री ओपनिङमा म्याचिङ भएपछि मात्रै उक्त संस्थाको नियमित सेयर कारोबार हुने छ । कम्पनीको सेयर गत तीन महिनापछि मात्रै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । गत असोजमा बाँडफाँड भएको कम्पनीको आईपीओ माघ २ गते मात्रै नेप्सेमा सूचीकरण भएको हो । कम्पनीको ४० लाख कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत असोज ११ देखि १४ गतेसम्म २८ लाख कित्ता सेयर सर्वसाधारणको लागि (आईपीओ) जारी गरेको थियो । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको पहिलो कारोबार न्यूनतम ८४.०५ देखि २५२.१५ रुपैयाँको बीचमा गर्न मिल्ने भएको छ । नेप्सेले कम्पनीलाई उक्त ओपनिङ रेन्ज तोकिदिएको हो । साथै, कारोबारको लागि कम्पनीको नेप्से सिम्बोल ‘बीएनएचसी’ तोकिएको छ ।