एनपिएल : लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्ससामु जीतका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।      कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५६ रन जोड्यो ।      लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । यस्तै, रुबेन ट्रम्पलमान २९ रनमा अविजित रहे । जोहानीस जोनाथन स्मितले २३ रन तथा डी’आर्की शर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।      बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक/एक विकेट लिए ।      आजै हुने दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्स खेल्दैछन् ।   

जैविक तटबन्धले जोगियो बस्ती (फोटो फिचर)

काठमाडौं । हरेक वर्ष मनसुन शुरु हुनासाथ बाँके, बर्दिया, कञ्चनपुरका नदी तटिय क्षेत्रका बासिन्दाहरू त्रसित हुनुपर्थ्यो । गाउँ डुबानमा पर्थ्यो, खेतबारी बगर बन्थ्यो, घर छोडेर पशु–बालबच्चा बोकेर भाग्नुपर्थ्यो । तर अब त्यो डर हराएको छ । कारण नदी किनारमा बाँस, घाँस र स्थानीय प्रजातिका बोटबिरुवाले बनाइएको २ सय २० मिटर लामो जैविक तटबन्ध । समुदायस्तरिय विपद् व्यवस्थापन समिति र स्थानीयको श्रमदानमा बनेको यो तटबन्धले कर्णाली र यसका शाखा नदीहरूको कटान तथा बाढी थेग्ने काम गरेको छ । बाँके, बर्दिया र कञ्चनपुरका दर्जनौं नदीतटीय गाउँहरूमा यस्तै जैविक तटबन्धले किसानको जीवन सहज बनाएको छ । जैविक तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री मात्र होइन, स्थानीयले नै बनाउन र मर्मत गर्न सक्छन् । यो सफलताले बर्दियाका अन्य जोखिमयुक्त बस्तीहरूमा पनि यस्तै अभियान तीब्र बनेको छ । बाढीको कहर थेग्न अब स्थानीयको साथमा प्रकृतिको शक्ति पनि जोडिएको छ । फोटो फिचरमा तटबन्ध जोगिएको बस्ती सम्बन्धी केही तस्बिरहरु ।  

थपिए आठ लाख ३७ हजार नयाँ मतदाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि  आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् ।      निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम  दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख नौ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।      आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको हो ।      प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ मतदाताको सङ्ख्या समावेश गर्दै मतदाता नामावली सङ्कलन सकिएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो ।      सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपिएको थियो ।