पावरहाउस नेदरल्यान्डलाई कडा टक्कर दिने जापानका ‘मास्टरमाइन्ड’ मोरियासु
काठमाडौं । सन् २०२६ को फिफा विश्वकपमा नेदरल्याण्ड्सविरुद्धको रोमाञ्चक २–२ को बराबरी खेलअघि जापानको राष्ट्रिय गान बज्दा उनी भावुक भएर आँसु खसाल्दै गरेका देखिन्थे । उनी एउटा वाइटबोर्डमा ठूला–ठूला अंकहरू कोरेर आफ्ना खेलाडीहरूसँग संवाद गरिरहेका थिए । उनले आफ्नो नोटप्याडमा पनि लगातार केही टिपोट गरिरहेका थिए, जसले गर्दा मानिसहरूबीच उक्त नोटप्याड कतै प्रसिद्ध जापानी मङ्गा (कार्टुन) को पौराणिक ‘डेथ नोट’ त होइन भन्ने आशंकासमेत उब्जायो । २०२६ को फिफा विश्वकप सुरु भएको भर्खरै चार दिन मात्र भएको छ, तर सामाजिक सञ्जालको दुनियाँमा भाइरल भएका घटनाहरूको सूची निकै लामो भइसकेको छ । जापानका प्रशिक्षक हाजिमे मोरियासु अब यस सूचीमा थपिने नयाँ व्यक्ति बनेका छन् । हाजिमे मोरियासु । दोस्रो पटक विश्वकपमा मुख्य प्रशिक्षकको रूपमा जापानको नेतृत्व गरिरहेका ५७ वर्षीय मोरियासुका स्क्रिनसट र भिडियो क्लिपहरू इन्टरनेटभरि छ्यापछ्याप्ती भेटिन्छन् । जसमा उनी र उनका सहयोगी प्रशिक्षकहरूले ठूला अंकहरू लेखिएको ह्वाइट बोर्ड समातिरहेको देखिन्छ । धेरैले यो मोरियासुले आफ्ना खेलाडीहरूलाई हाफ टाइम सकिन कति समय बाँकी छ भनी जानकारी दिने तरिका भएको अनुमान गरे भने कतिपयले यो रणनीतिक परिवर्तनका लागि प्रयोग गरिएको कुनै गुप्त कोड हुन सक्ने बताए । ग्यारी नेभिललाई सोधिएको थियो कि उनी भ्यालेन्सियाको प्रशिक्षक हुँदा आफ्ना खेलाडीहरूलाई खेलको कति औं मिनेट चलिरहेको छ भनेर बताउने इच्छा कहिल्यै भएको थियो ? फुटबल पण्डित नेभिलले ठट्टा गर्दै भने, ‘छैन, त्यो मैले अपनाएको रणनीति थिएन । जब मैले ‘६’ लेखिएको बोर्ड देख्थेँ, त्यो हामीले खाएको गोलको संख्या हुन्थ्यो ।’ डलास काउब्वाइज स्टेडियममा भएको खेलमा जापानले दुई पटक सम्हालिँदै नेदरल्याण्ड्सविरुद्ध एक अंक खोस्न सफल भयो, जुन सम्भवतः यस विश्वकपको अहिलेसम्मकै सबैभन्दा रोमाञ्चक खेल हो । खेलपछि जापानी टोली निकै खुसी देखिए पनि मोरियासुले भने जित हासिल गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए । खेलपछिको पत्रकार सम्मेलनमा मोरियासुले भने, ‘नेदरल्याण्ड्स वास्तवमै एक बलियो प्रतिद्वन्द्वी थियो । हामीले मात्र एक अंक पाए पनि खेलाडीहरूले अन्त्यसम्म एकजुट भएर लडे र दुई पटक खेलमा फर्कन सफल भए । मलाई विश्वास छ कि यो खेलले हामीलाई आत्मविश्वास दिएको छ कि यदि हामीले आफ्नो प्रदर्शनलाई कायम राख्यौं भने अंक र जित सुनिश्चित गर्न सक्छौं ।’ यो बराबरीसँगै स्वीडेन र ट्युनिसियासमेत रहेको यस समूहमा दुवै टोली बलियो स्थितिमा रहेका छन् । यस खेलले यी दुवै टोली किन नकआउट चरणमा पुग्ने मात्र नभई त्योभन्दा माथिको महत्त्वाकांक्षा बोकेर उत्तर अमेरिका आएका हुन् भन्ने कुराको झलक दिएको छ । खेलको लामो समयसम्म डच टोली बढी परिष्कृत देखिएको थियो । टोलीले बलमाथि नियन्त्रण राख्ने, स्पष्ट अवसरहरू सिर्जना गर्ने र दुई पटक खेल जितिसकेको जस्तो स्थितिमा पुग्ने काम गरे । तैपनि जापानले आफ्नो आत्मविश्वास, संगठन र दृढताका साथ उनीहरूलाई कडा टक्कर दियो । सन् २०१८ को अगस्टमा जापानको सिनियर राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हालेका मोरियासुको नेतृत्वमा जापानी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सन् १९८० को दशकको अन्त्यतिरबाट व्यावसायिक फुटबल सुरु गरेका मोरियासुले आफ्नो खेल जीवनको लामो समय जापानी क्लब ‘सानफ्रेसे हिरोसिमा’ मा बिताए । उनले सन् १९९२ देखि १९९६ सम्म जापानको राष्ट्रिय टोलीबाट ३५ खेल खेल्दै देशका लागि महत्वपूर्ण योगदान दिएका थिए । सन् १९९२ मा जापानले एएफसी एसियन कप जित्दा उनी टोलीका मुख्य सदस्य थिए । सन् २००३ मा खेलाडी जीवनबाट सन्यास लिएपछि उनले प्रशिक्षकको रूपमा आफ्नो दोस्रो इनिङ सुरु गरे । उनले सुरुमा जापानको युथ टोली र आफ्नै पुरानो क्लब सानफ्रेसे हिरोसिमाको सहायक प्रशिक्षक भएर काम गरे। सन् २०१२ मा सानफ्रेसे हिरोसिमाको मुख्य प्रशिक्षक बनेपछि उनको चर्चा एकाएक चुलियो। उनले आफ्नो रणनीति र कुशल नेतृत्वको बलमा क्लबलाई चार वर्षभित्र तीन पटक (२०१२, २०१३ र २०१५) जापानी लिग (जे–लिग) को च्याम्पियन बनाए । घरेलु फुटबलमा देखाएको यही जादुमयी प्रदर्शनका कारण उनलाई सन् २०१७ मा जापानको ओलम्पिक (यु–२३) टोलीको जिम्मेवारी सुम्पियो । त्यसको लगत्तै सन् २०१८ को रसिया विश्वकपमा उनी सिनियर टोलीको सहायक प्रशिक्षक रहे । रसिया विश्वकप सकिएलगत्तै सन् २०१८ को अगस्टमा उनलाई आधिकारिक रूपमा जापानको सिनियर राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो ।
टेम्पो खसालेको प्रकरण : पीडित पक्षसँग छलफल, वार्ता नमिलेमा प्रक्रिया अगाडि बढ्छ
काठमाडौं । टेम्पो भीरबाट खसालिएको आरोपमा १२ जना वन कर्मचारीलाई कैलाली प्रहरीले आइतबार नियन्त्रणमा लियो । कैलाली जिल्ला प्रहरी कार्यालयले उनीहरूले सोधपुछका लागि नियन्त्रणमा लिइएको बताएको छ । वनका १२ जना कर्मचारीहरू प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमल्सिनाले जानकारी दिए । 'पीडित पक्षलाई बोलाएका छौँ । छलफल गरेर निष्कर्षमा पुगेमा यतिकै छाड्छौँ । वार्ता नमिलेमा प्रक्रिया अगाडि बढाइने छ, ' उनले भने । वन कार्यालय कैलालीका कर्मचारीले शनिबार गोदावरीमा एउटा टेम्पो धकेलेर भीरबाट खसालेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो नै सार्वजनिक भएपछि सर्वसाधारणदेखि सांसदहरूले वन कर्मचारीहरूले गरेका व्यवहारको आलोचना गरेका थिए । गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन कार्यालयका कर्मचारीहरुले भीरबाट धकेलेर खसालिदिएका थिए । धामीले घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडास्थित सडक छेउमा टेम्पोमा सामान लिएर बेच्ने गर्थिन् ।
विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको जित
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले ट्युनिसियामाथि जित निकालेको छ । मेक्सिकोको मोन्टेरे रङ्गशालामा आज भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५-१ गोलको जित निकालेको हो । स्वीडेनका लागि यासिन अयारीले दुई गोल गर्दा अलेज्यान्डर इसाक, भिक्टोर ग्योकेरेस र माथिएस स्भानवर्गले समान एकरएक गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले एक गोल फर्काए । खेल सुरुआती सातौँ मिनेटमा यासिन अयारीले गोल गर्दै स्वीडेनलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३०औँ मिनेटमा अलेज्यान्डरले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । खेलको पहिलो हाफको ४३ औँ मिनेटमा ट्युनिसियाका ओमारले एक गोल फर्काए । यसैगरी खेलको ५९औँ मिनेटमा भिक्टोरले स्वीडेनका लागि तेस्रो गोल गरे । खेलको ८६औँ मिनेटमा स्वीडेनका लागि माथिइस स्भानवर्गले एक गोल थपे । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा यासिनले व्यक्तिगत दोस्रो तथा टोलीको लागि पाँचौँ गोल गरेपछि स्वीडेनले ट्युनिसियमाथि ५-१ गोलको जित निकाल्यो । जितपछि स्वीडेनले शीर्ष तीन अंक जोडेको छ । समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २-२ को बराबरी खेल्दै समान एकरएक अंंक बाँडेका थिए ।