सेफ साह दाजुभाइलाई सोमबार अदालत उपस्थित गराइने
काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका सेफ साह दाजुभाइ सन्तोष साह र नारायण साह सुडीलाई सोमबार अदालतमा उपस्थित गराइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सोमबार अदालत खुलेपछि उनीहरूलाई अदालतमा उपस्थित गराइनेछ । 'सोमबार अदालतमा उपस्थित गराइन्छ, अहिले प्रक्रिया अघि बढाउने अवस्था छैन,' उनले भने । हाल उनीहरू काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका छन् । भट्टराईका अनुसार ४१ वर्षीय सन्तोष साह र ५८ वर्षीय नारायण साह सुडी हिरासतमा रहेका छन् । शकुन्तला अधिकारी (थापा) को जाहेरीका आधारमा ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो ।प्रहरीका अनुसार २५ लाख रुपैयाँ र साढे ४ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीहरूविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता गरिएको हो । जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा २ बमोजिम पक्राउ अनुमति दिएको थियो । अदालतले वैशाख २३ गते पक्राउ अनुमति जारी गरेको हो ।
काभ्रेमा बस दुर्घटना सम्बन्धी छानबिन गर्न समिति गठन
काठमाडौं । काभ्रेको बुच्चाकोटस्थित बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन भएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति शनिबार गठन गरिएको हो । शुक्रबार नमोबुद्ध नगरपालिका-२ मा बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका बसमा सवार अन्य १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य- तथ्य छानबिन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।
ठमेलका व्यापारीसँग रकम असुल्ने सई गणेश भट्ट निलम्बनमा
काठमाडौं । सोर्हखुट्टे लैनचौर प्रहरी वृतमा कार्यरत एक जना प्रहरी अधिकृत निलम्बनमा परेका छन् । लैनचौर वृत्तमा कार्यरत प्रहरी नायव निरीक्षक (सई ) गणेश भट्टलाई निलम्बन गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार प्रहरी नायव निरीक्षक भट्टले पर्यटकीय क्षेत्र ठमेलका व्यापारीसँग रकम लिएका थिए । व्यापारीसँग रकम लिएको प्रमाण फेला परेपछि निलम्बन गरिएको उनले बताए । उनीमाथि अनुसन्धान भइरहेको थप प्रमाण भेटिएमा कारबाही गरिने भट्टराईको भनाइ छ ।