एनपीएलको दोस्रो संस्करण आजदेखि सुरु हुँदै, ४० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य
काठमाडौं । नेशनल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ । मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, ३ वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् । त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो संस्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिटमै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका कारण खेलहरू अन्य देशका रङ्गशाला सरह रातिसमेत सञ्चालन हुनेछन् । सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई पहिलो एनपीएलको पूर्व सन्ध्यामा आइतबार साँझ मात्र चरणका संरचना हस्तान्तरण गरेको थियो । प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप १ करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख रुपैयाँ तथा चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । एनपीएल दोस्रोका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस पटक दैनिक ९ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट २ दिन अगाडि नै बिक्री भइसकेको छ । उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ ५ सय रुपैयाँ र प्रिमियमतर्फ १ हजार ५०० रुपैयाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य ५ सय रुपैयाँ र १ हजार रुपैयाँ तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ १ हजार रुपैयाँ र प्रिमियरतर्फ २ हजार रुपैयाँ राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ । एनपीएलमा साबिक विजेता जनकपुरसँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरेर ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक एनपीएलबाट ४० करोड रुपैयाँ आम्दानी गर्ने क्यानको लक्ष्य छ ।
राजस्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । मन्त्री खनालले अमेरिकालगायतका मुलुकहरुको दृष्टान्त दिँदै राजस्व सम्बन्धि केही समस्या भए त्यसलाई समाधान गर्न सोही सम्बन्धि विभागले नै काम गर्ने व्यवस्था गर्न उपयुक्त हुने स्पष्ट पारे । उनले वर्तमान सरकारसँग काम गर्ने समय करिव साढे ३ महिना मात्रै भएको उल्लेख गर्दै त्यस बीचमा आफूले अर्थतन्त्र सुधारका लागि आवश्यक प्रणालीको विकासमा आफू केन्द्रित हुने समेत बताए । अर्थमन्त्री खनालले भने,‘मेरो कार्यकाल अव साढे ३ महिना मात्रै बाँकि छ । फागुन २१ गते निर्वाचन भईसकेपछि त म मन्त्री पदमा रहन्न । त्यो भन्दा एक महिना अघिनै निर्वाचन आचार संहिता लागू होला । त्यो बेला पनि आर्थिक सुधारका कामहरु गर्न पाइन्न । सरकारी, निजी क्षेत्र वा समुदायमा पनि गलत कारोबार गर्ने केही अवश्य पनि हुन्छन । त्यसलाई कारबाही गर्ने निकाय सम्बन्धित निकायमा नै हुनुपर्छ । केही मुलुकहरुमा भन्सार सम्बन्धि काम त्यस अन्तर्गतकै निकायले हेर्छन् ।’ अर्थमन्त्री खनालले आपसी विश्वासमा आधारित प्रणालीको विकास गरेर मात्रै मुलुकको अर्थतन्त्रलाई सवल बनाउन सकिने बताए । सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्ने नीति लिएको पनि दोहोर्याए ।
एनपीएल सिजन २ का लागि काठमाडौं गोर्खाजसँग फोनपे प्लाटिनम प्रायोजक
काठमाडौं । फोनपेले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि काठमाडौं गोर्खाजसँग प्लाटिनम प्रायोजकको रूपमा सहकार्य गरेको घोषणा गरेको छ । यस साझेदारीमार्फत फोनपेले राष्ट्रिय खेलकुदको प्रवर्द्धन, स्थानीय प्रतिभा विकास र समुदायस्तरमा सहभागिता वृद्धि गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः दोहोर्याएको छ । फोनपेका अनुसार यो प्रायोजन युवालाई सशक्त बनाउने, खेलकुदमार्फत एकता र अनुशासनको संस्कृति विस्तार गर्ने, तथा राष्ट्रव्यापी डिजिटल भुक्तानीको प्रयोगलाई अझ प्रोत्साहित गर्ने उद्देश्यसहित अघि बढाइएको हो । फोनपे नेपालका सीईओ दिवासकुमारले सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, 'हामी एनपीएल सिजन २ मा काठमाडौं गोर्खाजलाई समर्थन गर्न पाउँदा गर्व गर्छौँ । फोनपेले युवालाई प्रेरणा दिने, राष्ट्रिय गौरव बढाउने, र सुरक्षित तथा सहज डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने अभियानलाई निरन्तर अघि बढाइरहेको छ । खेलकुद मानिसहरूलाई एकत्रित गर्ने माध्यम हो, र त्यही भावना बोकेको टोलीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ ।' काठमाडौं गोर्खाजले पनि फोनपेले प्रदान गरेको समर्थनप्रति आभार व्यक्त गर्दै आगामी सिजनमा यो सहकार्यले टोलीलाई थप ऊर्जा र आत्मविश्वास प्रदान गर्ने प्रतिक्रिया दिएको छ । एनपीएल सिजन २ का लागि भएको यो प्रायोजनले देशमा खेलकुदको विकास र व्यावसायिक क्रिकेटको उचाइ बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।