कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भए/नभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ । सोमबारदेखि लागू भएको परिमार्जित कार्यालय समयको परिपालना र सेवा प्रवाहलाई चुस्त तुल्याउने उद्देश्यका साथ केन्द्रले कामठाडौं उपत्यकाबाहिर नौ जिल्लामा टोली खटाएको प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए । 'आयोजनाको गतिविधि र सेवा प्रवाहमा निगरानी तथा छड्के गर्ने गरी आजैदेखि उपत्यकाबाहिर पनि केन्द्रका टोली खटिएका छन्,' उनले भने, 'केन्द्रमा प्राप्त उजुरी तथा गुनासो सम्बोधन गर्ने काम पनि तीव्र गतिमा भइरहेका छन् ।' पछिल्लो समय दैनिक सेवा प्रवाहसँग जोडेर आएका गुनासा सम्बोधन गर्न केन्द्र सक्रिय र गतिशीलताका साथ लागिरहेको छ । नेपाल सरकारले आजदेखि लागू हुनेगरी कार्यालय समय बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म बनाएको छ । 'सरकारको निर्णयलाई मध्यनजर गरेर सो अवधिमा समय पालना भएरनभएको, कर्मचारीले तोकिएको कार्यकक्षमा बसेर कार्यसम्पादन गरेरनगरेको, सेवाग्राहीका काम समयमा सम्बोधन भएरनभएकाबारे अनुगमन भइरहेको छ,' केन्द्रका सहसचिव भट्टले भने । कहीँकतै ढिलासुस्ती भएरनभएका बारे केन्द्रले ‘फाइल ट्र्याकिङ’ समेत गरिरहेको छ । त्यस क्रममा भ्रष्टाचार र गलत कार्य भएको पाइएमा तत्काल सुधारका लागि निर्देशन दिने र भ्रष्टाचारसम्बन्धी काम भएको भेटिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने काम भइरहेको उनले जानकारी दिए । सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहलाई सरलीकरण र सहजीकरण गर्ने वर्तमान सरकारको गति र उद्देश्यअनुसार आफ्नो सम्पूर्ण साधनस्रोत र जनशक्ति परिचालित गरिएको केन्द्रले जनाएको छ । 'दैनिक रुपमा उपत्यकामा परिचालन गरेका छौँ । विभिन्न कार्यालय, मन्त्रालय, विभाग, सरकारी–सार्वजनिक निकायहरुमा अनुमगन, छड्के र निगरानी गर्ने, समय पालना भए/नभएको, फाइल अड्केको, सेवा प्रवाहमा कहीँकसैले व्यवधान भोगेको छ कि, त्यसमा सहजीकरण र कारबाहीका लागि फिल्डबाटै लेखेर दिने दैनिक रुपमा चलिरहेको छ', प्रवक्ता भट्टले भने । रासस
चोरीका सामान र नगदसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया, गुलरिया नगरपालिका–५ ज्योतिनगरका २१ वर्षीय समीर विक, सोही ठाउँका २३ वर्षीय सुवास विक, नुवाकोट, बेलकोटगढी नगरपालिका–७ का २८ वर्षीय रमेश सदाशङ्कर तथा बर्दिया, बाँसगढी नगरपालिका–७ का २३ वर्षीय सन्देश श्रीपाली रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, 'आइतबार दिउँसो करिब १ः३० बजेको समयमा कीर्तिपुर नगरपालिका–९ स्थित एक घरमा पार्किङ गरिराखेको बा२९प २४२ नम्बरको मोटरसाइकलबाट पेट्रोल चोरी गरिरहेको अवस्थामा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले निजहरुलाइ पक्राउ गरेको हो ।' पक्राउ परेकाहरूका साथबाट प्रहरीले नगद रु ५६ हजार, तामाको धातुबाट बनेको जस्तो देखिने मूर्ति ४० थान, चुरोट १५ बन्डल (१ बन्डलमा १० प्याकेट), एनोरेड मोबाइल छ थान, किप्याड मोबाइल चार थान, सुनको जस्तो देखिने कानको झुम्का एक जोर, सुनको जस्तो देखिने रातो पोतेसहितको नेकलेश, शिरबन्दी दुई थान, चाँदीको जस्तो देखिने पाउजु एक जोर, प्रदेश ३ –०२–००७ प ९३८६ नंको र बा२५प ६८७० नम्बरको मोटरसाइकल तथा हेलमेट १० थान बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका माथि थप अनुसन्धान सुरु भइरहेको प्रवक्ता भट्टराईले बताए ।
तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सभामुखमा निर्वाचित भएपछि सोमबार पहिलो बैठकको अध्यक्षता गर्दै सभामुख अर्यालले संसद्लाई निष्क्रियता नभई सक्रिय कार्यसम्पादनको थलो बनाउन तथा सदनलाई असल संवैधानिक अभ्यासबाट सुसञ्चालन गर्न सबैसँग सहयोगको अपेक्षा गरे । सभामुख अर्यालले जनताले पाँच वर्षका लागि आफूहरुलाई निर्वाचित गरेको केवल अधिकार मात्र नभई सुशासन र आर्थिक विकासका लागि जिम्मेवारीको अवसर भएको बताए । 'जेनजी आन्दोलनको मर्मअनुसार देशमा सुशासन कायम र आर्थिक विकास होस् भनी जनताले हामीलाई विश्वाससहित जिम्मा लगाएका छन्,' सभामुख अर्यालले भने, 'कुनै पनि बहानामा त्यो विश्वास गुम्न हामीले दिनु हुँदैन ।' निर्वाचनका क्रममा गरिएका वाचा र प्रतिबद्धतालाई मतदाता र जनप्रतिनिधिको राजनीतिक सम्झौता भएकाले समयबद्ध योजना बनाएर विधि निर्माण गर्न काममा लाग्न सभामुख अर्यालले आह्वान गरे । उनले आफूलाई निर्विरोध निर्वाचित गर्ने सबै दललाई धन्यवाद पनि दिए ।