नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी खनाललाई तेस्रो वरियता, केही नेता अलग्गिए
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन भृकुटीमण्डपमा जारी छ । जहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलबीचको एकता प्रक्रिया निर्णायक मोडमा पुगेको छ । बुधबार घोषणा हुँदै गरेको नयाँ नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता दिने सहमति भएको छ । उक्त पार्टीमा पहिलो वरीयतामा पुष्पकमल दाहाल र दोश्रो वरीयतामा माधव कुमार नेपाल रहेका छन् । एकता अभियानको सबैभन्दा ठुलो दल माओवादी केन्द्रबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू अलग्गिएका छन् भने एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अन्तिम समयमा सम्मेलनमा सहभागी भएका छन् । यद्यपि, एकीकृत समाजवादीका नेता घनश्याम भूसाल र रामकुमारी झाँक्री भने माओवादीसँगको एकता प्रक्रियाबाट बाहिरिएका छन्।
कांग्रेसमा महाधिवेशन मिति विवाद, सभापति खड्काले भने - यादवको प्रस्ताव व्यक्तिगत
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आगामी १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा तीव्र मतभेद चर्किँदै गएको छ । पछिल्लो पटक स्थगित बैठकको दोस्रो दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेको कार्यतालिका पार्टीको आधिकारिक प्रस्ताव नभई व्यक्तिगत धारणा भएको स्पष्ट पारे । बैठक सुरु हुनेबित्तिकै खड्काले भने, 'मिडिया र सामाजिक सञ्जालमा निर्णयका रूपमा कुरा आइरहेका छन्, तर सहमहामन्त्रीको प्रस्ताव व्यक्तिगत मात्र हो ।' उनका अनुसार महाधिवेशनको मिति पार्टीको सामूहिक निर्णयबाट मात्रै तय हुनेछ । हिजोको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । त्यसको जवाफमा सहमहामन्त्री यादवले वैशाख २७ देखि ३० गतेसम्म गर्ने वैकल्पिक तालिका प्रस्तुत गरेका थिए । यादवको प्रस्तावलाई संस्थापन पक्षले गगन थापाको प्रस्तावको प्रतिवादका रूपमा व्याख्या गरेको थियो । तर आजको बैठकमा कार्यवाहक सभापति खड्काले उक्त प्रस्तावलाई औपचारिक मान्यता नदिँदै, त्यसले भ्रम सिर्जना गरेको बताए । उनले पार्टी एकताको आवश्यकता औंल्याउँदै भने, 'महाधिवेशन हाम्रो साझा प्रक्रिया हो, यसलाई गुटगत प्रतिस्पर्धा बनाउनुहुँदैन ।' कांग्रेसभित्र अहिले महाधिवेशन चुनावअघि गर्ने कि चुनावपछि भन्ने विषयमा तीव्र विवाद देखिएको छ । महामन्त्री थापाको नेतृत्वमा रहेको समूहले चुनावअघि नयाँ नेतृत्व चयन गरी जनतामाझ जानुपर्ने धारणा राखेको छ । जबकि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति खड्काको पक्षले आगामी चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने तर्क प्रस्तुत गरेको छ ।
चित्लाङमा नेपाल टेलिकमको एनटी फाइबर सेवा विस्तार
काठमाडौं । नेपाल टेलिकमले मकवानपुर जिल्लाको थाहा नगरपालिका–९, चित्लाङ क्षेत्रमा एनटी फाइबर (एफटीटीएच) सेवा विस्तार गर्दै आधुनिक इन्टरनेट तथा टेलिफोन सेवाको सुरुवात गरेको छ । कार्तिक १८ गते श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममार्फत टेलिफोन तथा इन्टरनेट सहितको फाइबर टु दि होम (एफटीटीएच) सेवा औपचारिक रूपमा सुरु गरिएको हो । यससँगै चित्लाङ क्षेत्रमा पहिलोपटक फाइबर प्रविधिमार्फत आधारभूत आवाज सेवा र उच्च गतिको इन्टरनेट उपलब्ध गराइएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका अनुसार चित्लाङ पर्यटकीय एवं ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएकाले आधुनिक प्रविधियुक्त सञ्चार सेवा विस्तार गरिएको हो । ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै केही विद्यालय तथा संस्थाहरूमा सेवा जडानको प्रक्रिया अघि बढिसकेको छ । हाल रेडियो ब्याकहोलमार्फत सेवा सञ्चालन गरिएको भए पनि निकट भविष्यमा फाइबर ब्याकहोलमार्फत सेवा प्रवाह गरी टेलिफोन, इन्टरनेटसँगै टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना रहेको कम्पनीले स्पष्ट पारेको छ । नेपाल टेलिकमले चित्लाङमा सञ्चार पहुँच विस्तारसँगै डिजिटल समावेशीकरण, शिक्षा, व्यवसाय तथा स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।