पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी छाडेकालाई पुनः कांग्रेसमा फर्कन आग्रह गरेको छ । पार्टी सभापति गगन थापाको नेतृत्वमा आज भएको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न कारणले पार्टीबाट अलग भएकालाई पार्टीमा पुनः आबद्ध हुन आग्रह गरेको हो । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरेकामा आयोगप्रति बैठकले आभार व्यक्त गरेको छ । बैठकले एकता, सद्भाव र सहकार्यमा जोड दिँदै देशविदेशमा रहेका सबै कांग्रेसीमा नवीन ऊर्जाका साथ आगामी फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन आह्वान गरेको छ । बैठकले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीका अन्य नेताले कांग्रेसको नेतृत्वमा रही लामो समयदेखि पु¥याएको योगदानको उच्च कदर गर्दै धन्यवादज्ञापन गरेको छ । साथै बैठकले उहाँहरूबाट भविष्यमा पनि पार्टीका लागि अभिभावकीय भूमिका प्राप्त हुने विश्वास व्यक्त गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले भविष्यमा कुनै दलसँग अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने निर्णय गरेको छ ।
महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम
जलेश्वर । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ । उक्त कार्यालयका अनुसार जिल्लामा चार लाख ३१ हजार २८२ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा निर्वाचन क्षेत्र नम्बर १ मा ५६ हजार २२२ पुरुष, ४९ हजार ४२२ महिला र अन्य दुई जना गरी जम्मा मतदाता सङ्ख्या एक लाख पाँच हजार ६४६ जना कायम भएका छन् । यसैगरी, निर्वाचन क्षेत्र नं २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला, निर्वाचन क्षेत्र नं ३ मा ५९ हजार ९५० पुरुष र ५० हजार ८८६ महिला, निर्वाचन क्षेत्र नं ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ४५६ महिला कायम भएका निर्वाचन अधिकारी झाले बताए । यसैगरी, ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन् । योसँगै जिल्लामा मतदाता सङ्ख्या चार लाख ३१ हजार २८२ पुगेको छ । यसअघि जिल्लामा तीन लाख ९७ हजार ३० जना मतदाता थिए । अब जिल्लामा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र कायम भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा जम्मा ५९ वटा मतदानस्थल र १३० वटा मतदान केन्द्र कायम भएका छन् । यसैगरी, क्षेत्र नं २ मा ६२ वटा मतदानस्थल र १३३ वटा मतदान केन्द्र, क्षेत्र नं ३ मा ७७ वटा मतदानस्थल र १४२ वटा मतदान केन्द्र, क्षेत्र नं ४ मा ६० वटा मतदानस्थल र १३१ वटा मतदान केन्द्र कायम भएका छन् ।
कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि शनिबार केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढ्ने बताएका हुन् । निर्वाचन आयोगले निर्णय गरिसकेपछि निर्णयलाई स्वीकार गरेर आगामी दिनमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 'पार्टीभित्रका अग्रज नेतालाईसँगै हिँडाउने र नयाँ युवालाई जोडेर अगाडि बढ्छौँ, पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका खोजेको छौँ, एकदुई दिनभित्र सिङ्गो कांग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेका छौँ,' उनले भने । उनले फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने समय नजिकिएसँगै समयको चाप रहेको भन्दै सबैलाई साथमा लिएर पार्टीलाई आगाडि बढाउने दृढता व्यक्त गरे ।