कांग्रेस एकतावद्ध राख्ने प्रयास असफल भयो : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै यसमा को दोषी वा निर्दोषी भन्ने बहसले राष्ट्रिय राजनीतिलाई थप धुमिल बनाउने बताएका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै उनले पार्टीभित्र देखिएका अन्तरविरोध, षड्यन्त्र र कमजोरीका बाबजुद कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्नु अपरिहार्य रहेको धारणा राखेका छन् । बिहीबार सार्वजनिक गरिएको आफ्नो भनाइमा डा. कोइरालाले कांग्रेसलाई एकतामा राख्न गरिएको 'भागिरथ प्रयास' सफल हुन नसकेको उल्लेख गर्दै यसबीच घटेका घटनाहरूको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिकाबारेको मूल्यांकन इतिहासले गर्ने बताए । 'हामी सबै कहीं न कहीं चुकेका छौँ भन्ने स्वीकार गर्न मलाई कुनै संकोच छैन,' उनले भने । उनले पार्टीभित्र दृश्य र अदृश्य रूपमा देखिएका अनेक अन्तरविरोधका कारण कांग्रेसले कठिन समय व्यहोर्नुपरेको उल्लेख गर्दै राजधानी केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्रका तानाबाना बुन्ने प्रयासहरू रोक्न नसकिएको स्वीकार गरेका छन् । 'कांग्रेस एक भएर निर्वाचनमा होमिनु पर्छ भन्नेमा सबैको इमान्दार प्रयास थियो, तर त्यसो हुन सकेन,' उनले भने । डा. कोइरालाले यस कठिन घडीमा महामानव नेता बीपी कोइरालालाई स्मरण गर्नुपर्ने बताए । बीपी कोइरालाले जीवन र ज्यानको बाजी लगाएर लोकतन्त्रको संघर्ष अघि बढाउँदा पनि केही व्यक्ति र समूह पार्टीबाट अलग भएको प्रसंग स्मरण गर्दै उनले बीपीले यसलाई ‘नियतिको खेल’ भनेको उल्लेख गरेका छन् । 'बीपी नियतिमा विश्वास गर्नुहुन्थ्यो । आज कांग्रेस एकढिक्का हुन नसक्नु पनि त्यही नियतिको कठोर सत्यका रूपमा बुझ्छु,' उनले भने । वरिष्ठ नेता कोइरालाले अब कांग्रेसका सामु आसन्न निर्वाचनमा होमिएर आठ दशक लामो पार्टी इतिहासको गौरव जोगाउने ठूलो जिम्मेवारी रहेको बताएका छन् । संगठनात्मक ऊर्जाको प्रस्फुटनबिनै इतिहास र अग्रज नेताहरूले दिएको जिम्मेवारी पूरा गर्न नसकिने उनको भनाइ छ । उनले सम्पूर्ण कांग्रेस एकताको आवश्यकता अहिले अपरिहार्य भइसकेको उल्लेख गर्दै पार्टी आम कार्यकर्ताले निर्माण गरेको साझा संस्था भएको बताए । 'हाम्रा साझा इतिहास, साझा नेता र शहीदहरू छन् । यिनैबाट प्रेरणा लिएर नेपाल र नेपालीको साझा भविष्यको कल्पना गर्न सक्छौँ,' उनले भने । नेपाली जनताले विगतमा पार्टी विभाजनका बाबजुद कांग्रेसप्रतिको भरोसा नटुटाएको स्मरण गराउँदै डा. कोइरालाले अग्रज नेताहरूको मार्गदर्शन र शहीदहरूको बलिदान सम्झेर जनताको घर–घरमा पुगेर मत माग्नुपर्ने बताए । समय छोटो भए पनि आफू यथासम्भव कांग्रेसको चुनावी अभियानमा सहभागी हुने प्रतिबद्धता पनि उनले व्यक्त गरे । पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया नरोकिने स्पष्ट पार्दै डा. कोइरालाले अन्त्यमा आह्वान गरेका छन्, 'हामी सबै घर फर्कौँ, कांग्रेसमा फर्कौँ । यहाँ जित–हार कसैको छैन । सबैको विन–विन अवस्थामै हामी अगाडि बढ्न सक्छौँ ।'
गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
काठमाडौं । गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बिहीबार मध्यान्हबाट सुरु भएको छ । बुधबार निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बिहीबार ललितपुरको कुपण्डोलमा सुरु भएको हो । बुधबार मध्यरातमा सम्पन्न विशेष महाधिवेशनपछि बसेको यो पहिलो बैठकलाई कांग्रेसको भावी राजनीतिक दिशा र संगठनात्मक कार्ययोजनाका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दै
काठमाडौं । गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बिहीबार ललितपुरको कुपण्डोलमा बस्न लागेको हो । बुधबार मध्यरातमा सम्पन्न विशेष महाधिवेशनपछि बस्न लागेको यो पहिलो बैठकलाई कांग्रेसको भावी राजनीतिक दिशा र संगठनात्मक कार्ययोजनाका दृष्टिले महत्वपूर्ण मानिएको छ । बैठकमा महाधिवेशनका निर्णयहरूको औपचारिक अनुमोदन, पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पार्टी संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे छलफल हुने जनाइएको छ । नवनिर्वाचित सहमहामन्त्री प्रकाश स्नेहिकाका अनुसार बैठकले विभाग गठन, प्रवक्तासहितका जिम्मेवारी तोक्ने, प्रदेश तथा भ्रातृ–शुभेच्छुक संस्थाहरूसँगको समन्वय र निकट भविष्यका राजनीतिक कार्यक्रमको खाका तय गर्ने सम्भावना छ । विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति थापाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने, सामूहिक नेतृत्वको अभ्यास बढाउने र नीतिगत स्पष्टतासहित कांग्रेसलाई पुनः जनतासँग जोड्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । आजको बैठकबाट त्यसको प्रारम्भिक संकेत देखिने नेताहरूले बताएका छन् । सहमहामन्त्री स्नेहिकाका अनुसार बैठक बिहान ११ बजेलाई तोकिए पनि रातभरको अनिदोका कारण नेताहरू अझै बैठकस्थल नआइपुगेकाले बैठक बस्न केही समय ढिलाइ हुने छ ।