सासु कोषमा जम्मा भएको अर्बौं बढी रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरौं : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा (सासु) कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं बढी रकम मुलुकका ठूला पूर्वाधारदेखि उत्पादनमुलक क्षेत्रहरूमा परिचालन गर्नुपर्ने बताएका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले अहिले कोषमा ९५ अर्ब भन्दा बढी रकम जम्मा भएको र त्यो रकम सही रुपमा सदुपयोग नभएको भन्दै उनले चिन्ता व्यक्त गरे । उनकाअनुसार लगानी गर्नका लागि कार्यविधि बाधक भए त्यसलाई सच्चाउनुपर्छ । कोषले उत्पादनमूलक क्षेत्रमा लगानी नगरेसम्म त्यसको अर्थ नरहने ढकालको भनाइ रहेको छ । ढकालले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरू अझै पनि धेरै सामाजिक सुरक्षाको दायरामा रहेको भन्दै तिनलाई तत्काल समेट्न आग्रह गरे । अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । ढकालकाअनुसार साना तथा मझौला उद्योगहरुलाई सरकारको तर्फबाट सहुलियत दिएर त्यहाँ काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याए । महासंघ अध्यक्ष ढकालले भने–‘अहिले वास्तवमा सबै पैसा चाहे फिक्समा भनौं चाहे विभिन्न बन्डमा राख्ने गरिएको छ । यसलाई रोजगारी सिर्जना गर्ने र अवसर भएको उत्पादनमुलक क्षेत्रमा लगानी गरेर आम्दानी बढाउनुपर्छ । अहिलेको पोलिसि जुन छ, त्यो बाधक पनि रहेको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।’ औद्योगिक क्षेत्र, ट्रेड युनियन मजदुरबीचमा असल श्रम सम्बन्ध कायम गर्दै औद्योगिक वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालकाअनुसार श्रमिकको कल्याणका लागि कोषसँग निजी क्षेत्र सहकार्यका लागि तयार रहेको छ । असल सुमधुर सम्बन्ध कायम गर्न उद्योग वाणिज्य महासंघ तयार रहेको उनको भनाइ छ ।
सामाजिक सुरक्षा कोषले गर्यो १२६ अर्ब रकम लगानी
काठमाडौं । सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिए । आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा बोल्दै उनले लगानी कार्यविधि बमोजिङ मुद्दति खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरेको बताए । कार्यकारी निर्देशक अधिकारीकाअनुसार ५८ अर्ब ८९ करोड बैंकको विभिन्न मुद्दतीमा लगानी भएको छ भने ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेञ्चरमा, १ अर्ब ९५ करोड म्याचुयल फण्डमा लगानी गरेको जानकारी दिए । त्यस्तै कोषले २० हजार योगदानकर्तालाई सापटी बापत ७ अर्ब ७९ करोड ८३ लाख रकम लगानी गरेको छ । योगदानकर्ता सापटि अन्तर्गत कोषले वार्षिक ५.२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५.८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिनेगरी अधिकारीले बताए । कार्यकारी निर्देशक अधिकारीले भने– ‘योगदानकर्ता सापटि अन्तर्गत कोषले वार्षिक ५.२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५.८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिने गरेको छ । कोषको योजनाको प्रभावकारी कार्यान्वयन मार्फत वार्षिक १ खर्बसम्म संकलन गर्नसक्ने र त्यो रकमलाई राज्यको पूर्वाधार निर्माणमा लगाउन सकिने सम्भावना छ ।’ अधिकारीकाअनुसार कोषमा श्रमिकहरुको आवद्धताका लागि ११४ ओटा पालिकासँग एमओयू गरिसकिएको बताए । केही पालिकाले योगदान रकम जम्मा गर्न थालिसकेको उनको भनाइ छ ।
बैंकमा काम गर्ने महिलाको सुन र नगद लुटपाट गरेको आरोपमा ४ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बैंकमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा स्याङ्जा घर भई तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोट घर भई तारकेश्वर बस्ने २० वर्षीय बिशाल राई, नुवाकोटको १८ वर्षीय साजन तामाङ र नुवाकोटकै १९ वर्षीय समिर तामाङ रहेका छन् । उनीहरुले गत मङ्सिर ८ गते महिलालाई लुटपाट गरी फरार रहेको आरोप छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले साँझको समयमा हिँडेर घर फर्किने क्रममा महिलाको साथमा रहेको नगद, सुन, बैंकका चाबी, मोबाइल सेट र महत्त्वपूर्ण कागजातसहितको झोला लुटपाट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुले मोटरसाइकलबाट आएर लुटपाट गरी भागेका थिए । पक्राउ परेकासँग प्रहरीले मोबाइल, चाँबीको झुप्पो लगायतका सामानसहित १२ दशमलव ६३० ग्राम सुनको झुम्का, ७ दशमलव ८ लालको सुनको टप, दुई हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेका चारैजनालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।