पूर्व गभर्नरलाई राष्ट्र बैंकले गाडीसँगै बाचुन्जेल ड्राइभर पनि दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरलाई दिने सुविधा थप गरेको छ । यसअघि गभर्नरले पदमा बहाल रहदा चढेको गाडी अवकासपछि घर लैजान पाउने व्यवस्था थियो । अव भने राष्ट्र बैंकले तलब दिएर एक जना ड्राइभर पनि दिने भएको छ । केही साता अघि बसेको राष्ट्र बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । पूर्व गभर्नरलाई राज्यको तर्फबाट सम्मान दिनुपर्ने भन्दै गभर्नर डा. चिरन्जीवी नेपालले गरेको प्रस्ताव संचालक समितिले पारित गरेको हो । डा. नेपालको कार्यकाल ५ चैतदेखि सकिएको छ । ‘पूर्व गभर्नरलाई गाडी दिने चलन थियो, अब ड्राइभर पनि दिने निर्णय गरिएको हो, पूर्व गभर्नरलाई दिइएको ड्राइभरलाई राष्ट्र बैंकबाट तलब भत्ता लगायतका सुविधा प्रदान गरिन्छ,’ राष्ट्र बैंक संचालक समितिका एक सदस्यले विकासन्युजसँग भने । राष्ट्र बैंक संचालक समितिको यो निर्णयपछि संस्थापक गभर्नर हिमालय शमशेर जवरादेखि भेषबहादुर थापा, गणेशबहादुर थापा, डा. तिलक रावल, दीपेन्द्रपुरुष ढकाल, सत्येन्द्रप्यारा श्रेष्ठ, विजयनाथ भट्टराई, दीपेन्द्रबहादुर क्षेत्री, डा. युवराज खतिवडा, डा. चिरिन्जीवी नेपालसम्मले ड्राइभर सुविधा पाउने छन् । यसमध्ये दीपेन्द्रबहादुर क्षेत्रीले पूर्व गभर्नरको हैसियतमा राष्ट्र बैंकबाट गाडी सुविधा पनि लिएका छैनन् भने डा. युवराज खतिवडा अर्थमन्त्रीको जिम्मेवारीमा छन् । डा. खतिवडाले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाउँदा पनि गाडी सुविधा लिएका थिए भने गभर्नरबाट अवकाश पाउँदा पनि गाडी सुविधा लिएका थिए । यसअघि नै ७० वर्ष उमेर कटेका पूर्व गभर्नरहरुलाई गाडीसहित ड्राइभर सुविधा दिने व्यवस्था थियो । अबदेखि भने गभर्नरबाट अवकाश पाउने वित्तिकै ड्राइभर सहितको गाडी सुविधा पाइने भएको छ ।
रित्तदै राजधानीः भिडियाे फिचर
काठमाडौं । कोरोना संक्रमणको त्राससँगै राजधानी उपत्यका रित्तदै गएको छ । स्थायी र अस्थायी गरी काठमाडौं उपात्यकाभित्र करिव ५० लाख मानिस बसोबास गर्ने गरेको सरकारी तथ्याङ्क छ । कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न सरकारले अत्यावश्यक सेवा बाहेकको व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिएपछि र चैत १० गतेदेखि लामो दूरीमा चल्ले सवारी साधान चल्न नदिने निर्णय गरेपछि तीन दिनभित्रका करिव १५ लाख सर्वसाधारणले राजधानी छोडेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक तथा प्रबक्ता जीवन कुमार श्रेष्ठले बताए । आइतबार १ लाख ६१ हजार, शनिबार १ लाख ६ हजार र शुक्रबार १ लाख ८ हजार मानिस सडक सवारीबाट राजधानी वाहिर गएको उनको भनाई छ । कोरोना त्राससँगै गत दुई सातामा राजधानी भित्रने भन्दा वाहिरीनेका संख्या बढी रहेको छ । रित्तिदै गएको राजधानीको सडक कस्तो देखिएको छ ? विकासन्युजका फोटोग्राफर प्रकाश वाग्लेले आइतबार राजधानीको वाहिरिने मुख्य चोकहरु कलंकी, कोटेश्वर, एयरपोर्टसहित सहरका मुख्य भागहरुको भिडियो खिचेका छन् । राजधानीबाट वाहिरिने चोक तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा भीडभाड देखियो भने सधैं भिडभाड हुने माइतघर, जाउलाखेल, चक्रपथ क्षेत्रमा सुनसान देखियो । भिडियो हेर्नुहोस् ।
गाँजाले देश समृद्ध गर्छ भन्ने कुरा कहाँबाट आयो ? यसले नेपाललाई समस्यामा पार्छः पूर्व डीआईजी मल्ल
काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी तथा लागू औषध विज्ञ हेमन्त मल्लले नेपालमा गाँजाखेती खुल्ला गर्नु नहुने बताएका छन् । गाँजाखेती बैधानिक दायरामा ल्याएर नेपालको आर्थिक विकास गर्ने भन्दै प्रतिनिधिसभा र बागमती प्रदेशसभामा गैरसरकारी विधेयक नै दर्ता भइसकेको सन्दर्भमा मल्लले यस्तो बताएका हुन् । नेपालले अन्तराष्ट्रिय, क्षेत्रीय तथा अन्य सन्धी सम्झौतामा हस्ताक्षर गरेको र त्यस्ता सन्धी सम्झौताले औषधी प्रयोजनको लागिबाहेक गाँजाखेती प्रतिबन्द गरेकोले यसको बैधानिक खेती गर्नुपर्छ भन्ने तर्क नै संकास्पद भएको उनले बताए । ‘अहिले कार्यान्वयनमा रहेको लागू औषध नियन्त्रण ऐनले औषधी प्रयोजनको लागि गाँजाखेती प्रतिबन्ध गरेको छैन, गाँजाको उत्पादन तथा ओसार पसार रोक्ने भन्दै नेपालले विभिन्न प्रकारका अन्तराष्ट्रिय सन्धी सम्झौतमा हस्ताक्षर गरेको छ, अहिले संसदमा दर्ता भएको विधेयकले सबै नेपालीलाई ६ बोट गाँजा लगाउन दिने भनेको छ, यस्तो परिवेशमा विधेयकमा जे जस्ता प्रावधान राखेर यसको पक्षमा कुरा गरिदैछ, त्यो नै संकास्पद छ,’ पूर्व डीआईजी मल्लले विकासन्युजसँग भने । संयुक्त राष्ट्र संघको सन् १९६१ को कन्भेन्सनले औषधी प्रयोजनको लागि गाँजा तथा अफिमखेती गर्न छुट दिएपनि त्यसका प्रावधान पूरा गर्नुपर्ने व्यवस्था गरिएको मल्लले बताए । सो कन्भेन्सनले खुल्ला गर्दैमा कुनै पनि पक्ष राष्ट्रले ऐन बनाएर खेती गर्न नपाउने उनको भनाइ छ । ‘राष्ट्र संघका जे जति नियम र व्यवस्थाहरु छन्, त्यसको नियन्त्रण र नियमन गर्ने भनेको अन्तराष्ट्रिय लागू औषध नियन्त्रण बोर्डले हो, कुनै पनि देशले औषधी प्रयोजनको लागि गाँजा वा अफिमखेती गर्ने हो भने पनि त्यसले उत्पादन गरेको गाँजा वा अफिम खपत हुने कहाँ हो, त्यसको ओसार पसार तथा सेवन र दुरुपयोग नियन्त्रण गर्न सक्ने पूर्वाधार तयार भएको छ कि छैनलगायतका धेरै मापदण्डहरु छन्, ती मापदण्डहरु हेरेपछि मात्रै गाँजाखेती खुल्ला गर्ने कि नगर्ने भनेर बहस गर्न सकिन्छ,’ मल्लले भने । तर, नेपालमा अहिले निकै हलुका ढंगले यसको बहस भएको तर्क गरे । ‘गाँजाखेती खुल्ला गर्ने हल्लाले गाउँका मान्छे पनि खुसी छन्, धान वा गहुँखेती गरे जस्तै गरी गाँजाखेती गर्न पाइने, धान वा गहुँबाली भित्र्याए झै गाँजा भित्र्याउने र त्यसैगरी बेच्ने भन्ने अर्थमा उनीहरुले बुझेका छन्, हामीले त्यसै गर्न खोजेको होइन होला, त्यसो गर्न सकिदैन होला,’ उनले थपे । लागू औषध नियन्त्रण ऐन आउनुभन्दा अघि नेपालमा भएको गाँजा निर्यात नहुने गरेको पनि उनले बताए । सो समयमा नेपालमा बैधानिक रुपमा गाँजा वा अफिमखेती गरिए पनि अबैध रुपमा निर्यात हुने गरेको उनको भनाइ छ । अमेरिका, क्यानडा, उरुग्वे जस्ता देशले नसा लाग्ने खालको गाँजाखेती गरिरहेका छन् । तर, यी देशले गरेको गाँजाखेतीप्रति अन्तराष्ट्रिय लागु औषध नियन्त्रण बोर्डले विरोध गरिरहेको छ । यी देशपनि राष्ट्र संघको लागू औषध नियन्त्रण गर्ने सम्बन्धी व्यवस्थाको पक्ष राष्ट्र हुन् । युरोपका देशहरुमा गरिएको गाँजाखेती औद्योगिक प्रयोजनको लागि हो । यस्ता देशहरुले नसा लाग्ने तत्व नभएका गाँजाको खेती गरेका उनले बताए । नसा नलाग्ने गाँजाको खेती पनि नियन्त्रित रुपमा भइरहेको छ । गाँजा सेवनले व्यक्तिलाई असर नपर्ने कुराको पनि मल्लले खण्डन गरे । गाँजाको सेवनबाट कसैलाई झुम्म पार्ने, कसैलाई भ्रम उत्पन्न गराउने, कोही असाध्यै रिसाउने जस्ता व्यक्तिपिच्छे फरक फरक असर देखिने उनको भनाइ छ । गाँजा जस्ता लागू औषधको उत्पादन र कारोबारले संगठित अपराधलाई प्रश्रय दिने पनि मल्लको भनाइ छ । यसको उत्पादन एक ठाउँमा हुने, संकलन अर्काे ठाउँमा हुने र प्रयोग बेग्लै ठाउँमा हुने भएकोले संगठित अपराध बढ्ने मल्लको तर्क छ । नेपालमा गाँजाखेती बैधानिक हुने हो भने नेपालमा राम्रा पर्यटक नआउने गाँजा सेवन गर्नेहरु मात्रै आउने पनि सम्भावना रहेको उनको भनाइ छ । धेरै कुरामा हामी अमेरिकाको उदाहरण दिने गर्छाैं । अमेरिका निकै टाढा छ । हाम्रो छिमेकमा भारत छ, उसले अफिमलाई कडाइका साथ नियमन गरिरहेको छ । चीनले पनि अफिम खेती गर्छ, उसले पनि अफिमको कडा नियमन गर्छ । त्यसैले टाढाको अमेरिका मात्रै होइन, छिमेक पनि हेर्ने कि भन्ने मेरो कुरा हो । यस्तै, गाँजको कारण नेपाल लागू औषधको हब बन्न सक्ने र त्यसले संगठित अपराधको साथसाथै अबैध आर्थिक कारोबारले प्रश्रय पाएर नेपाल विश्व समुदायबाट एक्लिन सक्ने खतरा पनि उनले औल्याए । गाँजाखेतीबाट धेरै आम्दानी हुन्छ र नेपाल धनी बन्छ भन्ने तर्क पनि गलत भएको उनले बताए । भारतमा अहिले पनि ३० हजार हेक्टरभन्दा बढी जमिनमा अफिम खेती हुने गरेको र त्यसमा ६० हजार जति किसान संलग्न रहेको भन्दै उनले त्यति धेरै जमिनमा अफिमखेती गर्दा पनि भारतको कायापलट नभएको मल्लको भनाइ छ । अमेरिकाका केही राज्यका केही स्थानमा गाँजा खुल्ला भयो र अमेरिकाभर गाँजा खुल्ला गर्नुपर्ने राजनीतिक मुद्दा उठ्यो भन्दैमा नेपालमा खुल्ला गर्न नसकिने मल्लले बताए । नेपालका छिमेकी देशहरु भारत र चीनले यस्ता बस्तुको उत्पादन तथा प्रयोगलाई कडाइका साथ नियमन गरिरहेकोले नेपालमा खुल्ला खेती गर्न सम्भव नभएको उनको भनाइ छ । ‘धेरै कुरामा हामी अमेरिकाको उदाहरण दिने गर्छाैं, हामीले बुझ्नुपर्ने कुरा के हो भने अमेरिका निकै टाढा छ, हाम्रो छिमेकमा भारत छ, उसले अफिमलाई कडाइका साथ नियमन गरिरहेको छ, चीनले पनि अफिम खेती गर्छ, उसले पनि अफिमको कडा नियमन गर्छ, त्यसैले टाढाको अमेरिका मात्रै होइन, छिमेक पनि हेर्ने कि भन्ने मेरो कुरा हो,’ मल्लले भने । मल्लसँगको विस्तृत कुराकानी यो लिंकमा क्लिक गरेर पनि सुन्न र हेर्न सकिन्छ । सम्बन्धित सामग्री एक रोपनी जग्गा हुनेले वर्षमै करोड कमाउँछ: गाँजा खेतीबारे तामाङ र स्थापितको अन्तर्वार्ता गाँजाको खेतीलाई बैधानिकता दिँदा नेपालको जीडीपी ५ गुणाले बढ्छः उपाध्याय