हवाई सेवा जेठ २ सम्मका लागि बन्द गर्ने उच्चस्तरीय समितिकाे निर्णय

काठमाडाैं ।अब आन्तरिक एवम् वाह्य हवाई उडान सेवा जेठ २ गतेसम्मका लागि स्थगित नै राखिने भएकाे छ । उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको बताइएकाे हाे । यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवा बन्द गर्ने निर्णय भएकाे थियाे । अब भने जेठ २ गतेसम्म पनि बन्द नै लकडाउनकाे बारेमा भने भाेलिकाे मन्त्रिपरिषद्काे बैठकले  नै निर्णय गर्ने बताइएकाे छ । शनिबारकाे बैठकमा लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समिक्षा भएपनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको बताइएकाे छ । प्रदेशहरुलाई समन्वय गर्ने मन्त्रीहरुको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरुको समिक्षा भएको छ ।

श्री एयरलाइन्‍सले पायाे एसिया क्षेत्रमा कार्गो उडानको अनुमति, बिहिबार सिंगापुरका लागि उड्ने

काठमाडौँ । निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलायन्सले एसिया क्षेत्रमा कार्गो उडानको अनुमति पाएको छ ।एयरलायन्सले पूर्वी एसिया, दक्षिण एसिया र मध्यपूर्वी क्षेत्रमा कार्गो उडानको अनुमति पाएको हाे । नागरिक उड्डयन प्राधिकरणले श्री एयरलायन्सका दुइटा बमबार्डियर सीआरजे–२०० र दुइटा बमबार्डियर सीआरजे–७०० विमानलाई यी क्षेत्रका कुनै पनि मुलुकबाट कार्गो बोक्न पाउने अनुमति आइतबार दिएको बताइएकाे छ । अब श्रीले यी ठाउँका जुनसुकै ठाउँमा पनि जान पाउने छ । यो अनुमति पाएसँगै एयरलाइन्सको एउटा सीआरजे विमान बिहीबार सिंगापुर जाने श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले बताए  । उनले नेपालबाट सिंगापुरसम्म उड्दा ७ वटा मुलुकहरुको आकाशको रुट अनुमति लिनुपर्ने भएकाेले जहाज ल्याण्डिङका लागि अनुमति पाउन बाँकी रहेकाे बताए । यसकाे बुधबार साँझसम्म नै अनुमति पाउन सक्ने उनकाे भनाइ छ ।      

लकडाउन कहिले सम्म भन्ने विषय नेपालको मात्र परिस्थितिमा निर्भर नरहने

काठमाडौं । लकडाउन कहिलेसम्म राख्ने/नराख्ने भन्ने विषय नेपालको मात्रै परिस्थितिमा निर्भर नरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । ताप्लेजुङका सञ्चारकर्मीसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्दै मन्त्री भट्टराईले कोरोना सङ्क्रमणले उत्पन्न हरेक परिस्थितिको नियमित विश्लेषण गर्दै आवश्यक नीति र योजनाका साथ सरकारले काम गरिरहेको भन्दै थप परिस्थतिलाई हेरी काम गर्नु पर्ने अवस्था पैँदा भएको जानकारी दिए । सबैको सचेत प्रयासबाट मात्र कोरोना भाइरस नियन्त्रण हुने भन्दै मन्त्री भट्टराईले कोरोना सङ्क्रमणको कुनै औषधि र खोप विकास नभएकाले सचेतनाबाटै नियन्त्रण गर्नु नै पहिलो विकल्प भएको बताए । सङ्क्रमणविरुद्ध सावधानी नअपनाएका मुलुकमा देखिएको सङ्कट र शुरुदेखि नै यसको नियन्त्रणमा जुटेका मुलुकको अभ्यासबाट शिक्षा लिँदै नेपाल सरकारले कोरोनाको नियन्त्रण र जोखिम व्यवस्थापनमा योजनाबद्ध ढङ्गले काम गरेको उनले स्पष्ट पारे । कोरोना भाइरसविरुद्ध सञ्चालन गरिएको सचेतना अभियानदेखि हालसम्म सरकारले अपनाएका विधि सफल भएको र यसलाई अन्तर्राष्ट्रिय सङ्घसस्थाले समेत राम्रो ठानेको उनको भनाइ छ । यसैबीच कोरोनाको सङ्क्रमणले नेपालको अर्थतन्त्र, पर्यटनलगायत क्षेत्रमा नकारात्मक प्रभाव पु¥याएको भन्दै यसलाई उकास्न नयाँ ढङ्गले काम गर्ने मन्त्री भट्टराईको भनाई छ । आर्थिक अवस्थालाई सुधार गर्न सरकारले बैंकको ब्याजदर घटाउने, बैंकको ऋण बुझाउने म्याद थप गर्ने, व्यवसायीलाई सस्तो ब्यजादरमा ऋण प्रवाह गर्नेजस्ता कुरामा ध्यान दिने बताए । रासस