नेपालमा रहेका अमेरिकीलाई फिर्ता लिन जहाज आउने

काठमाडौं । नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान मंगलबार जहाज आउने भएको छ । अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरेको छ । यो जहाज काठमाडौंबाट दोहा हुँदै वासिंटन डिसीस्थित डल्लास एयरपोर्ट पुग्ने अमेरिकी दूतावासले जनाएको छ । सोमबार स्थलमार्गबाट नेपालका विभिन्न भागमा रहेका अमेरिकी नागरिकलाई भने काठमाडौं ल्याइदैछ । नेपालमा रहेका अमेरिकी नागरिकलाई अमेरिकाले मंगलबार चार्टर्ड उडानमार्फत अमेरिका फिर्ता लैजाने जानकारी गराएसँगै नेपाल पर्यटन बोर्डले अमेरिकी नागरिकलाई काठमाडौंमा ल्याउन सहजीकरण गरिरहेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडान बैशाख तीन गतेसम्म बन्द

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बैशाख तीन गतेसम्म बन्द गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकल सो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

५ सय २६ पर्यटकको उद्धार गरिँदै, शुक्रबार मात्र ३ सयभन्दा बढी स्वदेश फर्किए 

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लैजान शुरु गरेका हुन् । शुक्रबार कतार एयरको चार्टर्ड उडानबाट फ्रेन्ससहित युरोपका ३ सय ५ नागरिक स्वदेश फर्किएका थिए । आज पनि कतार एयरवेजको दुई उडानबाट विदेशी नागरिक स्वदेश जाँदैछन् । नेपालमा झण्डै १० हजार पर्यटकले प्रवेशाज्ञा थपेर बसेका छन् । कतिपय पर्यटक भने विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका छन् । लुक्ला, जोमसोम, पोखरालगायत गन्तव्यबाट पर्यटकलाई जहाजबाट उद्धार गरी काठमाडौँ ल्याएर सम्बन्धित मुलुकमा पठाउने काम भइरहेको छ । यसैबीच नेपालका विभिन्न स्थानमा रहेका पर्यटकको खोजी, उद्धार तथा पर्यटकको सङ्ख्या व्यवस्थापनमा नेपाल पर्यटन बोर्ड खटिएको छ । बोर्डले शुक्रबार सूचना जारी गरी कुन मुलुकका नागरिक कुन स्थानमा छन् जो कोहीले विवरण उपलब्ध गराइदिन अनुरोध गरेको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले नेपालमा रोकिएका पर्यटकको उद्धार गरी उनीहरुको मुलुक फर्काउने कार्य धमाधम भइरहेको छ । उनले नेपालका विभिन्न गन्तव्यबाट अहिले ५ सय २६ पर्यटकको उद्धार गर्ने जानकारी दिए। तीमध्ये २२६ जनाको शुक्रबार उद्धार गरिएको छ । आज माउण्टेन उडानमार्फत १ सय जनाको उद्धार गरी काठमाडौं ल्याइनेछ । यस्तै पोखरामा रोकिएका ३ सय पर्यटकलाई जहाजमार्फत काठमाडौँ ल्याइने तथा जोमसोमबाट ६० जना पर्यटकलाई काठमाडौँ ल्याइनेछ । नेपालमा कति सङ्ख्यामा पर्यटक रोकिएका छन् उनीहरुको यकिन विवरण आज साँझसम्म आउने बोर्डले जनाएको छ । रासस