नेपाल पर्वतारोहण संघले हस्तान्तरण गर्याे पाँच लाख रूपैयाँकाे चेक

काठमाडौं । नेपाल पर्वतारोहण संघले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग रकमको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग रकमको चेक एक समारोहका बीच संघका अध्यक्ष सन्तबीर लामाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईलाई हस्तान्तरण गरेका हुन् । संघले प्रदान गरेको सहयोगप्रति धन्यवाद दिँदै सचिव गुरागाईले कोरोना भाइरसको माहामारीको रोकथाम, नियन्त्रण र उपचारमा संघबाट प्राप्त रकमबाट सकरात्मक सहयोग पुग्ने बताए । सो अवसरमा संघका अध्यक्ष सन्तबीर लामाले पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारको दैनिक आवश्यक एवं उपभोग्य सामाग्रीहरुका निम्ति सहयोग पुग्ने विश्वास गरेका छन् । त्यसअवसरमा संघका महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङ, कोषध्यक्ष सुदर्शन न्यौपाने र सचिवालय सदस्य शिवबहादुर सापकोटाको सहभागिता थियो । उक्त सहयोग रकमले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति सहयोग पुग्ने संघको विश्वास छ । साथै, यस कोरोना भाइरसको माहावारीबाट नेपालको पर्वतीय पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको संघले जनाएको छ ।सरकारले अघि बढाएको अभियानमा संघको तर्फबाट ऐक्यवद्धता स्वरुप आर्थिक सहयोग गरिएको संघले विज्ञप्तिमार्फत जनाएको छ ।

हिमालयन एयरलाइन्सले कोरोना रोकथाम काेषमा दियाे एक करोड रूपैयाँ

काठमाडौं । हिमालयन एयरलाइन्सले सरकारद्वारा स्थापित कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त रकमकाे चेक एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आइतबार पर्यटन, संस्कृति र नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरेका हुन् । एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काेराेना उपचारकाे लागि राहत पुग्ने उद्देश्यले उक्त सहयोग गरेको हो ।

काठमाडौं मेरियट होटलले अतिथि र कर्मचारीको सुरक्षा गर्न चाल्याे यस्ताे कदम

काठमाडौं । नक्सालमा अवस्थित काठमाडौं मेरियट होटलले यस्तो महामारीको अवस्थामा सम्पूर्ण अतिथिहरु र कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न विशेष कदम चालेको छ । होटलले यस्तो स्थितिमा पनि कोरोना रहित विश्व बनाउन चौबीसै घण्टा काम गरिरहेका कर्मचारीहरुको प्रशंसा स्वरुप मुटु आकारको चिन्ह अंकित गरेको छ । नेपाल सरकारको निर्देशन अनुसरण गर्दै होटलले पूर्ण क्षमताले काम नगरेको भएपनि यसले होटलमा पहिले नै बसिरहेका अतिथिहरुको सेवामा यथासक्दो गरिरहेको छ । होटलमा डब्लूएचओद्वारा निर्दिष्ट रोकथामा उपायहरुको बारेमा पोस्टर र साइनबोर्डहरु राखिएको छ जसले अतिथिहरु र कर्मचारीहरुलाई शिक्षा दिँदै आइरहेको छ । होटलले अतिथिहरुले चेक इन गर्दा तापक्रम पनि जाँच गरिरहेको छ । कर्मचारीहरुलाई पनि अतिथिहरु कम्तीमा ३ फिटको दुरिमा बसिरहेको सुनिश्चित गर्न कडा निर्देशन दिइएको छ । यसका साथै आवश्यकता र कुनै प्रकारका मेडिकल आवश्यकतालाई सहयोग गर्न अन्य कर्मचारीहरु चौबीसै घण्टा उपलब्ध छन् । ब्रेड र अन्य बेकरी आइटम अर्डरका लागि होटेलको पेटिसेरी र काठमाडौं बकिङ्ग कम्पनी पनि खुल्ला रहेको जानकारी गराएकाे छ । बाल्यो प्रेम र आशाका बत्तीहरू !