यति एयरलाइन्सले पनि भाडा घटायो

काठमाडौं । यति एयरलाइन्सले पनि भाडा घटाएकाे छ । आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै यतिले हवाई भाडा घटाएको बताएको हो । यति एयरले अब भद्रपुरको भाडादर ९ हजारबाट अधिकतम सिमा ६२ सय रुपैयाँ कायम गरेको छ । बिराटनगरको ७ हजार ४ सय ४५ रुपैयाँबाट ५५ सय कायम गरिएको छ । भैरहवाको ६१ सयबाट ४९ सय कायम भएको छ । नेपालगन्जको ९ हजार ८ सय ५० बाट ६३ सय कायम गरिएको छ । पोखराको ५ हजारबाट ३७ सय रुपैयाँ कायम गरिएको छ । अन्य गन्तब्यको भने अधिकतम मूल्य यथावत राखिएको छ । यो दर लामो दूरीका सवारी साधन सञ्चालनमा नआएसम्मका लागि कायम रहने कमपनीले जनाएको छ । घटेको भाडादर १० चैतबाट २१ चैतसम्म कायम रहने भएको छ । आन्तरिक उडानतर्फ नेपालका तीन वटै ठूला एयरलाइन्सले भाडा घटाएका छन् । यति एयरलाइन्सले समेत भद्रपुर, बिराटनगर, भैरहवा, नेपालगन्ज र पोखराको लागि निर्धारित टिकटको माथिल्लो दर घटाएको छ । यसअघि बुद्ध एयरले आइतबार र श्री एयरलाइन्सले शनिबारनै अधिकतम् मूल्य घटाउने निर्णय गरेका थिए । संकटकालिन अवस्थामा वायुसेवा कम्पनीले अधिकतम् भाडा लिएपछि कम्पनीहरु व्यापक आलोचना भएको थियो । त्यसपछि शनिबार नै पर्यटन मन्त्री योगेश भट्टराईले भाडादर समायोजन गर्न सुझाव दिएका थिए  ।

अब देशभरका होटल र विद्यालयलाई क्वारेन्टाइन बनाइने

विश्वरभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएको बेला नेपाल सरकारले पनि उचित सतर्कता अपनाइरहेको छ । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि सरकारले पूर्व तयारी भने तीव्र रुपमा भइरहेकाे छ ।नागरिकमा कोरोनाको त्रास बढिरहेको बेला सरकारले विभिन्न होटल र विद्यालयहरुलाई क्वारेन्टाइन बनाउने तयारी गरिरहेको छ । विभिन्न होटल सञ्चालकहरुले आफ्ना होटललाई क्वारेन्टाइनको रुपमा दिन सहमत भएपछि सरकरले पनि त्यसको लागि तयारी गरिरहेको हो । शनिबार बसेको कोरोना रोकथामका लागि उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर आवश्यकता अनुसार क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । बैठकले व्यक्तिको घर, विद्यालय र होटलहरु क्वारेन्टाइन बनाउन दिने प्रस्तावलाई पनि स्वीकार गरेको हो । विभिन्न ठाउँका होटल सञ्चालकहरुले होटलहरुलाई क्वारेन्टाइनका रुपमा दिन सक्ने निर्णय गरिसकेका छन् । काठमाडौंका सबै होटल सरकारलाई कोरोना रोकथामका लागि आवश्यक परे क्वारेन्टाइनका लागि दिने होटल व्यवसायीहरुले निर्णय गरेका छन् । शनिवार होटल  व्यवसायी महासंघको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नम्बर ३ काठमाण्डौ जिल्ला होटल व्यवसायी संघका ९ वटा इकाईका अध्यक्षहरुको आकस्मिक बैठकबाट काठमाण्डौ उपत्यकाभित्र रहेका पर्यटन सम्बद्ध होटलहरुले नेपाल सरकारलाई कोरोना नियन्त्रणका लागि आवश्यक परेको खण्डमा पर्यटन व्यवसायको रुपमा संचालन भइरहेका होटलहरु क्वारेन्टाइन संचालनका लागि प्रदान गर्ने निर्णय गरेका हुन् । बैठकले उपत्यकाबाहिरका अन्य जिल्लाहरुमा सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशैभर क्वारेन्टाइन संचालनका लागि सहयोग गर्ने निर्णय समेत गरेको छ । होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले उपत्यका बाहिर पनि सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशभर क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने निर्णय गरेको बताए । काठमाडौंका होटलहरुमा मात्र ३० हजार कोठा उपलब्ध हुने उनकाे भनाइ छ । यस्तै, ठूला होटलहरुको छाता संगठन होटल संघ नेपालले पनि होटल क्वारेन्टाइनमा दिनको लागि आज साँझ बैठक बस्ने बताएको छ । संघका महासचिव शाजन शाक्यले सरकारले चाहेमा आफुहरु सहयोग गर्ने तयार रहेको बताए । आज त्यसको बारेमा छलफल गर्ने र कसरी जाने भन्ने विषयमा छलफल हुने बताए । व्यवसायीहरुले कोरोनाको त्रासका कारण आफूहरुको व्यवसाय शून्यको अवस्थामा झरेकोमा चिन्ता समेत व्यक्त गरेका छन् । तर, राज्यलाई विपत आएको अवस्थामा आफूहरु सहयोग गर्न तयार रहेको उनीहरूकाे भनाइ छ । यस्तै, प्रेसिडेन्ट ग्रुपले पनि क्वारेन्टाइनका लागि होटलहरू सरकारलाई दिन तयार भएकाे छ । प्रेसिडेन्ड ग्रुपका अध्यक्ष शंकर भण्डारीले एक विज्ञप्ती जारी गरी होटललाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सरकारलाई दिने घोषणा गरेका हुन् । अध्यक्ष भण्डारीले काठमाडौंमा रहेका प्रेसिडेन्ट होटलका एक सय वटा कोठाहरू क्वारेन्टाइनका लागि सरकारलाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । अब सरकारले क्वारेन्टाइनमा कडाइ गर्ने भएकाे छ । होम तथा सेल्फ आइसोलेसनमा बस्नुपर्ने व्यक्तिहरु समेत नबसेको पाइएपछि कडाइ गर्ने निर्णय गरेको हो । शनिबारकाे बैठकमा क्वारेन्टाइन तथा आइसोलेसनमा बस्नु पर्नेहरु नबसेको, बिरामीहरू चेकजाँचमा नगएको पाइएपछि सुरक्षाका साथ शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने निर्णय गरेको छ ।

चौतर्फी दबाबपछि बुद्ध एयरले घटायो हवाई भाडा, कहाँ जान कति ?

काठमाडौं । चौतर्फी दबाबपछि बुद्ध एयरले हवाई भाडा घटाएकाे छ । सरकारले लामो दूरीका यात्रुवाहक सवारीसाधन सञ्चालनमा १० दिनसम्म रोक लगाएपछि बुद्ध एयरले हवाई भाडा घटाएको हाे । आइतबार बिहान विज्ञप्ती जारी गर्दै हवाई भाडा घटाएको बताएकाे हाे । यात्रुवाहक सवारीसाधनमा रोक लगाएपछि हवाईमार्ग मात्रै यात्राको पहिलो साधन बन्न पुगेकाले नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि भन्दै भाडादर घटाइएको बुद्धको भनाइ छ । जसअनुसार विराटनगरमा ७ हजार ८ सय ७८ रुपैयाँ लिँदै आएकोमा ५ हजार ५ सय, भैरहवा ४ हजार ९ सय, नेपालगन्ज ६ हजार ३ सय, भद्रपुर ६ हजार २ सय, धनगढी ७ हजार ९ सय, पोखरा ३ हजार ७ सय, राजविराज ४ हजार २ सय रुपैयाँ ताेकेकाे छ । कुन ठाउँ जान कति ?