नेपाल वायुसेवा निगमका भारतका तीन गन्तव्यका उडान स्थगित
काठमाडौं । नेपाल वायुसेवा निगमले भारतमा तीन गन्तव्यका उडान स्थगित गरेको छ । निगमले एक सूचना जारी गर्दै उडान स्थगित गरेकाे बताएकाे हाे। निगमले भारतको नयाँ दिल्ली, मुम्बई र ब्याङ्ग्लोरमा गर्दै आएको नियमित उडानहरु चैत्र ९ गतेदेखि लागू हुनेगरी स्थगित गरेको हाे । डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचनाअनुसार ती गन्तव्यको नियमित उडानहरु स्थगित गरिएकाे हाे । चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराउने एयरलाइन्सले बताएको छ। निगमले हाल चैत्र १६ गतेसम्मका लागि उडान स्थगित गरिएको जानकारी दिएको छ ।
चैत्र १९ गतेदेखि हेलिकप्टर सेवा बन्द, नाजायज माग राख्दै व्यवसायीहरू
काठमाडौं । बायुसेवा सञ्चालक संघ नेपालले अप्रिल १ देखि हेलिकप्टर सेवा बन्द गर्ने घोषणा गरेको छ । यात्रुहरु नभएको जनाउँदै यसअघि प्रतिवद्धता जनाएको उडान मात्र उडान गर्ने र सबै हेलिकप्टरहरु ग्राउण्डेट (भूमिस्थ) गरिने संघले जनाएको छ । त्यस्तै, कम्पनीको खर्च कम गर्न कम्पनी पुर्नसंरचना गर्ने र कर्मचारीहरु हटाउने कार्य चैत १८ गतेदेखि शुरु गर्ने संघले जनाएको छ । कोरोना भाइरसको कारण हवाई सेवा प्रदायक कम्पनीहरुलाई ठूलो क्षति भएको जनाउँदै हवाई कम्पनीहरुलाई भ्याट, आयकर, टीडीएस, बैंकको व्याज, बीमा शुल्क, ल्याण्डिङ शुल्क, पार्किङ, रात्री विसान शुल्कमा छुट दिनुपर्ने माग संघको छ । त्यस्तै, स्वदेशी तथा विदेशी बैंकबाट लिएको कर्जाको कम्तिमा एक वर्षको व्याज मिनाह गर्नुपर्ने, एक वर्षलाई कर्जाको किस्ता स्थगित गर्नुपर्ने, ऋण पुर्नतालिकीकरण गर्नुपर्ने जनाएको छ । चैत ६ गते बसेको संघको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको प्रबक्ता याेगराज कँडेलले जानकारी दिए । संघकाे धेरै माग नाजायज भएकाे जानकारहरू बताउँछन् । काेराेनाकाे कारण हवाइ सेवा नराम्ररी प्रभावित भएता पनि सबै कर छुटदेखि बैंक व्याज र बीमा शुल्कमा छुट सम्भव नभएकाे उनीहरू बताँछन् ।
मनकामना केवुलकार चैत ८ गतेदेखि बन्द
काठमाडौं । नेपालको पहिलो केबुलकार सञ्चालक मनकामना दर्शन प्रा.लि.ले आगामी चैत ८ गते शनिबारदेखि मनकामना केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउने उद्देश्यले सो दिनदेखि यो महिनाभरि उक्त सेवा बन्द गर्न लागेको हो । स्वास्थ्य नै सर्वोपरी हो भन्ने मनकामना दर्शनले हालको परिपेक्षमा यस भाइरसको संक्रमण फैलिन नदिन थप सहयोग पुगोस् भन्ने हेतुले केवुलकार सेवा चैत महिनाभरिको लागि केवुलकार सेवा स्थगित गरिएकाे जानकारी दिएकाे छ ।