४० लाख रुपैयाँ लगानी गर्दै विमानस्थलमा ‘पर्यटक परी’ राखियो

काठमाडौं । सरकारले ४० लाख रुपैयाँ लागनी गर्दै त्रिभुवन विमानस्थलमा दुई ‘पर्यटक परी’ राखेको छ । पर्यटकहरुको स्वागतका लागि विमानस्थलमा दुई पर्यटक परी नाम गरेका रोबर्ट राखिएको हो । बिहिबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले पर्यटक परी नाम गरेका दुई रोबर्टको उद्घाटन गरेका छन् ।  रोबर्ट पाइला टेक्नोलोजीले निर्माण गरेको जनाइएकाे छ। रोबर्टले बिहिबार राष्ट्रिय गान बजाउँदै सबैलाई आसन ग्रहण गराएको थियो । झन्डै २ महिना समय लगाएर निर्माण गरिएको रोबर्टले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा पर्यटक लाइ स्वागत गर्ने बताइकाे छ । मन्त्री भट्टराईले नयाँ तथा आधुनिक प्रविधिको प्रयोग गरी विमानस्थलमा रोबर्ट राखिएको बताए ।

पर्यटक भित्र्याउन नयाँ योजना बनाउँदै बाँके राष्ट्रिय निकुञ्ज

नेपालगञ्ज । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा बाँके राष्ट्रिय निकुञ्ज लागे पनि सोचेअनुसारको नतिजा ल्याउन सकेको छैन । गत आर्थिक वर्ष २०७५/०७६ मा निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक घुम्न आएको तथ्याङ्कले देखाउँछ । ती मध्ये बाह्य विदेशी पर्यटकको सङ्ख्या आठ मात्र रहेको छ । अन्य निकुञ्जका तुलनामा यस निकुञ्जमा पर्यटक कम आउने कारणको खोजी गरी नयाँ रणनीतिक योजना बनाउन लागिएको निकुञ्ज प्रमुख प्रमोद भट्टराईले जानकारी दिए । पर्यटक भित्र्याउने योजनाअन्तर्गत निकुञ्जले यहाँका जनप्रतिनिधि, होटल तथा यातायात व्यवसायी, पत्रकार, उद्योगी, व्यापारी र अन्य सरोकारवाला पक्षसँग छलफल कार्यक्रमको आयोजना गरी राय सुझाव लिने काम पनि गरिरहेको उनले बताए । बाँके जिल्लामा नेपाल भ्रमण वर्षको गतिविधि कम भएकाले निकुञ्जमा पर्यटकको उपस्थिति बढ्न नसकेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीमलाल कँडेलको जानकारी दिए । उनका अनुसार, भ्रमण वर्षलाई दृष्टिगत गरी सङ्घले नेपालगञ्जमा प्रथम सडक खाना महोत्सव (फुड फेस्टिबल) गर्न लागेको छ । यही फागुन २३ देखि २४ गतेसम्म हुने खाना महोत्सवमा भारतीय पर्यटक समेत भित्र्याउने सङ्घको योजना छ । करिब ५० हजारले अवलोकन गर्ने र रु दुई करोड बढीको कारोबार हुने लक्ष्य लिइएको महोत्सवमा आउने पर्यटकलाई बाँके निकुञ्ज पुर्याउने सकिने अध्यक्ष कँडेलले बताए । सो निकुञ्ज नेपालगञ्जदेखि २० किलोमिटर टाँढा पूर्व–पश्चिम राजमार्गको छेउमै अवस्थित छ । राजमार्गको चौबाटो कोहलपुर चोकवाट पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा अवस्थित यो पाटेबाघको मुख्य क्रिडास्थलका रुपमा समेत परिचित छ । निकुञ्जको मनमोहक प्राकृतिक छँटा, विभिन्न थरीका वन्यजन्तु, नदीनाला र विभिन्न जातिका परम्परागत आवास घर (होमस्टे) ले निकुञ्जको शोभा बढाएको छ । आठ वर्षअघि स्थापना भएको यो निकुञ्जमा पाटेबाघको सङ्ख्या २१ पुगेको निकुञ्जका प्रमुख भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार, पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएपछि पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुने क्रम बढेको छ । गाभर भ्याली सामुदायिक होमस्टे र चुरिया रेन्जले पनि निकुञ्जको शोभा बढाएको छ । होमस्टेका प्रमुख कृष्ण चौधरीका अनुसार, चुरे क्षेत्रमा हाइकिङको व्यवस्था भएकाले पनि यो निकुञ्ज पर्यटकको रोजाइँमा पर्ने विश्वास गरिएको छ । बाँकेमा भ्रमण वर्षको गतिविधि शून्यजस्तै भएरै अहिले होटल व्यवसायी मात्र होइन, स्थानीय निकाय पनि पर्यटक भित्र्याउने दौड र योजनामा लागिपरेका छन् । भ्रमण वर्षलाई दृष्टिगत गरी नेपालगञ्ज उपमहानगरपालिका–२२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीय स्थलका रुपमा निर्माण गर्नका लागि धमाधम काम अगाडि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट तालको पुनःनिर्माण भइरहेको नगर प्रमुख डा धवलशम्शेर राणाले बताए । विगतमा यो ताल पुरैना, पुरैनी तालको नामले चिनिन्थ्यो । नेपालगञ्जदेखि साढे दुई किलोमिटर पूर्व राप्ती सडकको किनारमा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको छ । कान्तिताल एउटा प्राकृतिक ताल हो । यो तालको पानी पहिला खेती सिँचाइका लागि प्रयोग गरिन्थ्यो । २०३९ देखि २०७२ सम्म ताललाई माछापालन गर्न ठेक्कामा दिने गरिएको थियो । अहिले आएर नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना अगाडि बढाएको हो । यसैगरी, नेपालगञ्जको ऐतिहासिक रानीतलाउ अहिले आएर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । डेढ दशक अघिसम्म जीर्ण अवस्थामा रहेको नेपालगञ्ज वडा नं ८ स्थित प्रसिद्ध ऐतिहासिक रानी तलाउको नेपालगञ्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेको सङ्ख्या बढ्दै गएको छ । नगर प्रमुख डा धवलशम्शेर राणाले स्थानीय तहको गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीयरुपमा विकसित गर्दै लगिएको बताएका छन् । पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन् । नेपालगञ्जकै अर्को ऐतिहासिक महेन्द्र पार्क पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । यो पार्कलाई ‘मिनी जू’ को पनि नाम दिइएको छ । पार्कमा मयुर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्न थरीका चरा रहेका छन् । सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाइने निर्णय गरेअनुरुप सोहीअनुसार नेपालगञ्ज उपमहानगरपालिकाले पनि यहाका पर्यटकीयस्थललाई आकर्षक बनाउने अभियान नै सञ्चालन गरेको नगर प्रमुख राणाले बताए । उनका अनुसार, नेपालगञ्जको यी दुई पार्कका साथै ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिरको विस्तार, नेपालगञ्जकै कान्तिताल र वाटरपार्कको निर्माण धमाधम भइरहेको छ । यसका साथै नेपालगञ्ज फोहरमुक्त बनाउन प्लाष्टिकजन्य वस्तुको व्यवस्थापनलाई पनि नगरपालिकाले आफ्नो कार्यक्रममा समेटेको छ । नेपालगञ्ज उपमहानगरपालिका जस्तै यहाका आठवटै पालिकाले पनि भ्रमण वर्षमा आआफ्नो क्षेत्रमा पर्यटक भित्र्याउन योजनाअनुसार कार्यक्रम तय गरेका छन् । “हामीले राप्तीसोनारी गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल भुँवरभवानीमा पर्यटकको पहुँच बढाउन सबैखाले संयन्त्र प्रयोग गरेका छौँ”, सो गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले भने । रासस

नयाँ हवाई नीतिः कम उमेरको जहाज ल्याउने कम्पनीलाई आयकरमा छुट

काठमाडौं । सरकारले कम उमेरको जहाज ल्याउने कम्पनीलाई आयकरमा छुट दिने भएको छ । सरकारले पूर्वाधारलाई केन्द्रित गरेर तयार पारको नयाँ हवाई नीति अनुसार कम उमेरका जहाज ल्याउने कम्पनीलाई अयकरमा छुट दिने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेका विज्ञहरू सम्मिलित अध्ययन समितिले नीतिको प्रारम्भिक मस्यौदा तयार पारेर बुधबार मन्त्रालयसमक्ष बुझाएको छ । जहाज खरिद गरी, लिज वा लिज पर्चेज गरी ल्याइएका वायुयानहरू पैठारी गर्दाको अवस्थामा ५ वर्षसम्मको भए आयात गर्न छुट दिइने भएको छ । १५ वर्षसम्मको पुरानो जहाज ल्याउन नयाँ हवाई नीतिमा समेत छुट दिइन लागिएको छ । खासगरी पुराना १५ वर्ष पुग्न लागेका जहाज कम्पनीहरूले बढी ल्याउन लागेकाले नयाँ व्यवस्था गरिएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । संस्थालाई प्रत्येक वायुयान आयात गर्दाको भन्सार महसुलमा सहुलियत प्रदान गर्ने र त्यस्ता वायुयानको निरन्तर सञ्चालनका क्रममा पहिलो २ वर्षसम्म आयकरमा सहुलियत दिने व्यवस्था नीतिमा उल्लेख छ । यस्तै, नयाँ हवाई नीतिमा निजी जहाज खरिद गर्न चाहने नेपालीलाई अनुमति दिइने भएको छ । विगतमा यस्तो अनुमति दिइएको थिएन । अब धनीले निजी जहाज राख्न पाउने भएका छन्  । यस्तै,  सरकारले तयार गरिरहेको नयाँ हवाई नीति २०७६ को प्रारम्भिक मस्यौदामा अन्तर्राष्ट्रिय एयरलाइन्समा ८० प्रतिशतसम्म वैदेशिक लगानी पाइने भएकाे छ । यसअघि अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीहरूमा ४९ प्रतितसम्म मात्रै विदेशी लगानी गर्न पाइन्थ्यो । मस्यौदामा अन्तर्राष्ट्रिय ट्रान्जिटदेखि कार्गो हब बनाउनेसम्मका योजना समेटिएका छन् । सरकारले राष्ट्रिय हवाई नीति २०५० लाई विस्थापित गरी २०६३ सालमा नयाँ नीति जारी गरेको थियो । जसमा अन्तर्राष्ट्रिय वायुसेवा ८० प्रतिशतसम्म, आन्तरिक वायुसेवा ४९ प्रतिशतसम्म, प्रशिक्षण संस्था ७५ प्रतिशतसम्म, मर्मत–सम्भार संस्था ७५ प्रतिशतसम्म विदेशी लगानी खुला गरिने उल्लेख गरेकाे छ । हवाइ नीतिले अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई सम्वोधन गरेको उल्लेख गर्दै मन्त्री भट्टराईले हवाई नीतिलाई छिट्टै मन्त्रिपरिषद लैजाने बताए ।