मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भागलिन मन्त्री भण्डारी भारत प्रस्थान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा मंगलबार नयाँदिल्ली प्रस्थान गरेका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीज्ले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) व्यापार शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ । सम्मेलनका क्रममा नेपालका तर्फबाट बिम्स्टेकबाट नेपालको व्यापार व्यवसाय प्रवद्र्धनमा लिन सकिने फाइदा र भारतसँगको व्यावसायिक हितका विषयमा छलफल गरिने मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । सम्मेलनमा मन्त्री भण्डारीको उपस्थितिले नेपालका लागि दक्षिण एसिसाली र पूर्वी एसियाली क्षेत्रीय सौविध्यपूर्ण बजार पहुँच अभिवृद्धि, नेपालको स्तरोन्नति पश्चात नेपालले बजार पहुँच सुविधा गुमाउने सन्दर्भमा नयाँ क्षेत्रीय बजारमा सौविध्यपूर्ण बजार पहुँच प्राप्त हुने र नोक्सानी न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली वस्तु निर्यातका लागि बजार वृद्धि हुने, क्षेत्रीय मूल्य श्रृंखलामा आबद्धता अभिवृद्धि हुनसक्ने, व्यापार सहजीकरण भन्सार सहयोग र व्यापार तथा ‘लजिष्टिक्स’ लागत न्यूनीकरण हुनसक्ने, क्षेत्रीय लगानी आप्रवाह बढ्नसक्ने, पर्यटन आप्रवाहमा वृद्धि हुनसक्ने, सूचना प्रविधि सेवा लगायतका सेवा निर्यात अभिवृद्धि हुनसक्ने नेपालका तर्फबाट अपेक्षा गरिएको छ ।

कास्कीमा ६४९ नयाँ उद्योग थपिए, ५७ जनालाई रोजगारी

फाइल फोटो कास्की । जिल्लामा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् । नयाँ उद्योगमा एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार रुपैयाँ पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिए । उनका अनुसार पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन् । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ सेवामूलक उद्योग दुई सय ४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग एक सय ६२, पर्यटन उद्योग एक सय ६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित उद्योग तीनवटा दर्ता भएका छन् । सो वर्षमा ऊर्जा तथा खनिजमूलक कुनै पनि उद्योग दर्ता भएनन् । एक वर्षमा दर्ता भएका उद्योगमा महिला नौ सय ३९ र पुरुष एक हजार एक सय १८ गरी दुई हजार ५७ जनालाई रोजगारी सिर्जना भएको छ । यसैगरी गत वर्ष तीन सय ६५ उद्योग खारेज भएका छन् । खारेज हुने उद्योगको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको कार्यालय प्रमुख ढकालले बताए । उनका अनुसार थपिएका उद्योगको ५० प्रतिशत सङ्ख्या खारेज भएका छन् । ‘नयाँ उद्योग दर्तासँगसँगै खारेज हुने उद्योगको सङ्ख्यासमेत धेरै छ । आर्थिक गतिविधिमा शिथिलता, विदेश जाने प्रवृत्ति र धेरै ठाउँमा कर तिर्नुपर्ने बाध्यतालगायत कारणले उद्योग खारेजीका लागि आउने गरेका छन्’, कार्यालय प्रमुख ढकालले भने । कार्यालयका अनुसार जिल्लामा वैदेशिक रोजगारीबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपक्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । जिल्लामा हालसम्म २४ हजार दुई सय ७८ उद्योग दर्ता भएकामा गत आवसम्ममा पाँच हजार आठ सय ३२ वटा खारेज भई १८ हजार चार सय ४६ सञ्चालमा रहेका छन् । यसैगरी, वाणिज्य फर्महरूको सङ्ख्या ३० हजार एक सय ७० रहेको छ । गत आवमा एक हजार एक सय ९३ वाणिज्य फर्म दर्ता भएकामा चार सय २१ वटा खारेज भएका थिए । पोखरा देशको पर्यटकीय राजधानी हो । यहाँ हालसम्म चार सय ६२ ट्राभल्स, दुई सय ३८ ट्रेकिङ, चार सय ७० होटल, आठ जलयात्रा व्यवसाय र ३६ वटा घरबास सञ्चालनमा रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । रासस

सिमेन्ट उत्पादक संघमा नयाँ नेतृत्व, अध्यक्षमा मारु, महासचिवमा खड्का

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघुनन्दन मारु निर्वाचित भएका छन् । संघको २०औं साधारणसभाले अध्यक्षसहित नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । संघको उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन् । महासचिवमा राजाराम खड्का निर्वाचित भएका छन् । तत्कालिन इन्टरनेशन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खड्का हाल कुमारी बैंकको सञ्चालक समिति सदस्य हुन् । उनी महाशक्ति सिमेन्ट लिमिटेडको प्रबन्ध निर्देशक हुन्। नयाँ कार्यसमितिको कोषाध्यक्षमा अरुणकुमार कर्ण चुनिएका छन् । त्यस्तै, सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य सांघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा छन् । राजन कुमार झा संघको आमन्त्रित सदस्यमा नियुक्त भएका छन् । संघको सल्लाहकार समूहमा पुरुषोत्तमलाल संघई, पशुपति मुरारका र साहिल अग्रवाल मनोनीत भएका छन् । कार्यसमितिमा निवर्तमान अध्यक्ष ध्रुब थापा छन् । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उद्योगका क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न नयाँ कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । चुनढुंगा उत्खनन्, वन, विद्युत्, बैंकिङ, बीमा, श्रम तथा स्थानीय निकायसँग सम्बन्धित समस्याहरु समाधान गर्न नयाँ कर्यासमितिले तत्काल पहल गर्ने उनले बताए ।