झापामा १ हजार ११० उद्योग दर्ता, २ करोड ६८ लाख राजस्व संकलन

फाइल फोटो भद्रपुर । आर्थिक वर्ष २०८०/८१ झापामा १ हजार १ सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ ६ सय २९ र वाणिज्यतर्फ ४ सय ८१ फर्म दर्ता भएका हुन् । उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार २ सय ८८ उद्योग खारेज हुँदा १ हजार ७ सय ८ उद्योगले नवीकरण गरेका छन् । गत आवमा २ सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी ३ अर्ब २८ करोड रुपैयाँले बढेको थियो । वाणिज्यतर्फ २ सय ७८ फर्मले पुँजी वृद्धि गर्दा ५ अर्ब १ करोड १० लाख ५० हजार भएको छ । उक्त कार्यालयले गत आवमा २ करोड ६८ लाख ९० हजार ७ सय ५० रुपैयाँ राजस्व संकलन गरेको छ । आव २०७९/८० मा १ करोड ८० लाख ६ हजार रुपैयाँ संकलन भएको थियो ।

‘स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा ‘निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ विषयमा मधेश प्रदेशका रोजगारदाताहरुका लागि वीरगंजमा आयोजित तीनदिने तालिमको बुधबार उद्घाटन समारोहमा बैद्यले यस्तो बताएका हुन् । उद्धघाटन कायक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका बैद्यले स्याहार तालिम आयोजना हुनुको प्रमुख उद्देश्य रोजगारदाताहरुलाई स्याहार काम के हो र यसको अर्थतन्त्रमा योगदान के छ भन्ने विषयमा प्रकास पारेका थिए । यस्तै, स्याहार कामको लागि वैदेशिक रोजगारीमा जानेले पठाउने रकम अर्थतन्त्रमा गणना हुने भए पनि स्वदेशमै गरिने स्याहार कामको गणना नहुने गरेको र अनौपचारिक क्षेत्रमा हुने यस्ता कामको पनि गणना गर्ने काममा सरकारसँगै निजी क्षेत्र र यसका सरोकारवालाहरुको उत्तिकै जिम्मेवारी रहेको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय श्रम संगठनको सशक्त महिला सम्बृद्ध नेपाल परियोजानासँगको सहकार्यमा मदेश, कर्णाली र सुदूरमश्चिम प्रदेशहरुमा कार्यक्रम गरिँदै आएको पनि उनले जानकारी दिए । महासंघका केन्द्रीय सदस्य तथा ब्यापार समिति सदस्य सुबोध गुप्ताले बीरगन्ज नगर सफा भएको तथापि सडकमा व्यवसाय गर्ने महिलाको व्यवसायको सुरक्षा नभएकोले त्यसको सुनिश्चित नहुँदा उनीहरुको जीविकोपार्जनमा असर परेको बताएका थिए ।  

द्विपक्षीय नाका पुनः सञ्चालनमा आएपछि नेपाल र चीनको व्यापार बढेको छ : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा बुधबार भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं सांस्कृतिक रुपमा पनि निकै घनिभूत रहेको बताए । उनले भने, ‘दुई देशबीचको जनस्तरको सम्बन्ध तथा आपसी सहयोगले नेपाल–चीनबीचको सम्बन्धको आयामलाई थप विस्तार गरेको अनुभूति गरेको छु, नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध छ र चीन विरोधी कुनै पनि कसिमका गतिविधिका लागि आफ्नो भूमिको दुरुपयोग हुन नदिने सङ्कल्पमा नेपाल सरकार दृढ रहेको स्पष्ट पार्न चाहन्छु ।’ नेपाल चीनको शान्ति, स्थायित्व एवं विकासमा योगदान गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउँदै मन्त्री भण्डारीले पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रवद्र्धन गर्न महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरुको आदानप्रदान भएको बताए । ‘यस्ता उच्चस्तरीय भ्रमणहरुका क्रममा व्यापार, ‘कनेक्टिभिटी’ र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ पार्ने उद्देश्यले धेरै सहमति तथा समझदारीहरु भएका छन्, यस्ता किसिमका भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रहरु थप विस्तारित र समृद्ध हुनेमा म विश्वस्त छु’, मन्त्री भण्डारीले भने । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि चीन महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको उनले बताए । उनले भने, ‘व्यापारको क्षेत्रमा चीन नेपालको दोस्रो ठूलो साझेदार हो भने प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रमा पहिलो लगानीकर्ता मुलुक हो, नेपालको भौतिक तथा व्यापार ‘लजिस्टिक्स’ पूर्वाधार, अन्तर–आबद्धता, ऊर्जा, व्यापार, कृषि तथा औद्योगिक विकासका क्षेत्रमा चीनले खलेको महत्वपूर्ण भूमिकाको सरहाना गर्न चाहन्छु ।’ मन्त्री भण्डारीले द्विपक्षीय नाकाहरु पुनः सञ्चालनमा आएपछि दुई देशीय व्यापारको मात्रा उल्लेख्य रूपमा बढेको उल्लेख गरे । दोस्रो ठूलो व्यापार साझेदार भए पनि आयात र निर्यातबीच ठूलो खाडल देखिएको उनको भनाइ छ । ‘हामी हाम्रो व्यापार पूर्वाधार विकास गर्न, यातायात सञ्जालको स्तरवृद्धि गर्न, भन्सार सुविधाहरूमा सुधार गर्न र हाम्रो ‘लजिस्टिक्स’ प्रणालीलाई आधुनिकीकरण गर्न इच्छुक छौँ, यी क्षेत्रमा चीनको विशेषज्ञता र लगानीको लाभमार्फत हाम्रो औद्योगिक विकास र दुई देशीय व्यापारलाई उल्लेखनीय रूपमा वृद्धि गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ छ’, उनले भने । चिनियाँ सरकारको सहयोगमा रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह तोकिएको मितिमा सम्पन्न हुनेमा मन्त्री भण्डारीले विश्वास व्यक्त गर्दै मुस्ताङको कोरालामा पूर्वाधार विकास गर्ने विषयमा नेपाल र चीन सरकारबीच सैद्धान्तिक रुपमा सहमति भइसकेकाले छिट्टै कार्यान्वयनमा जाने उल्लेख गरे । चीन सरकारको अनुदान सहयोगमा दैलेखमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनामार्फत पेट्रोलियम अन्वेषण कार्य द्रुत गतिमा अगाडि बढिरहेको मन्त्री भण्डारीले जानकारी गराए । उनले भने, ‘नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो, नेपालले यस क्षेत्रमा कानुन संशोधन र परिमार्जन गरी लगानीको वातावारण बनाएको छ, यसबाट नेपालमा थप चिनियाँ लगानी आकर्षित हुनेमा विश्वस्त छु ।’ मन्त्री भण्डारीले चीनमा नेपाली उत्पादनको बजार पहुँच विस्तार गर्न र चीनको बजारमा नेपाली वस्तुहरूको प्रवद्र्धन गर्न चीन सरकारसँग सहकार्य गर्न निकै उत्साही रहेको बताए । उनले भने, ‘यस सम्बन्धमा व्यापार मेला, व्यापार प्रतिनिधिमण्डल र द्विपक्षीय सम्झौता जस्ता पहलहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।’ भेटका क्रममा चिनियाँ राजदूत सोङले चीन–नेपाल आपसी सम्बन्ध विस्तार गरी सौहाद्र्र वातावरण सिर्जना गर्न समर्पित रहेको बताए । व्यापार र विकास निर्माणमा साझेदारी तथा नेपालको आर्थिक विकास र समृद्धिको साझेदारका रुपमा चीनले काम गरिरहेको बताए । राजदूतका रुपमा आफूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै अन्य मन्त्रालयसँगसमेत अन्तरक्रिया गरी सहकार्यको वातावरण बनाउँदै गएको सोङको भनाइ छ ।