उद्योग र श्रम मन्त्रीसँग सीएनआईको छलफल, महसुस हुने गरी सरकारले काम गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीसँग छुट्टाछुट्टै छलफल गरेको छ । आज शुक्रबार मन्त्रीद्वयलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सीएनआईले आर्थिक अवस्था र सुधारका विषयमा आफ्ना सुझाव दिएको हो । परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले निरन्तर घट्दो अर्थतन्त्रलाई माथि उकास्न औद्योगिक उत्पादन, निर्माण क्षेत्र र थोक तथा खुद्रा क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । यी क्षेत्रमा आएको निराशाका कारण समग्र अर्थतन्त्र संकुचित भएको उनले बताए । युवा जनशक्तिलाई पलायन हुनबाट रोक्न मुलुकमा औद्योगिकरणलाई बढावा दिइनुपर्नेमा उनले जोड दिए । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्ने र लगानी गर्न सक्ने विश्वासको वातावरण बनाइनुपर्ने उनले बताए । सो अवसरमा उद्योग मन्त्री दामोदर भण्डारीले कोभिड १९ पछि विग्रिएको अर्थतन्त्रलाई जसरी पनि उकास्नुपर्ने बताए । प्रधानमन्त्रीले महसुस हुनेगरी प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभएको भन्नुहुँदै अर्थतन्त्रको सुधार उच्च प्राथमिकतामा रहेको उनले बताए । यो सरकारलाई काम नगर्ने छुट नभएको भन्दै उनले निजी क्षेत्रलाई स्पष्ट रुपमा समस्या र समाधानको उपाय दिन आग्रह गरे । यसैगरी श्रम मन्त्री सरतसिंह भण्डारीले यो सरकारप्रति आश र भरोसा रहेको भन्नुहुँदै सोही रुपमा काम हुने बताए । मन्त्री भण्डारीले आफूले यसअघि राखेका योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने समेत बताए । सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, भीम घिमिरे, उद्योग समिति सभापति लक्ष्मीप्रसाद सुवेदी, रोजगारदाता परिषद् सभापति धुब्र रिजाल, महानिर्देशक डा. घनश्याम ओझालगायतले सुझावसहित बधाई तथा शुभकामना व्यक्त गरे ।

परिवर्तन गर्न यो सरकार बनेको हो, निजी क्षेत्रले आशा भरोसा गर्नैपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघसँगको छलफलमा उनले यसअघि नै प्रधानमन्त्री बनिसकेकाले प्रधानमन्त्री बन्नका लागि मात्रै आफू नआएको बताए । उनले अर्थतन्त्रलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रलाई यो सरकारप्रति आशा, भरोसा हुनैपर्ने समेत बताए । ‘मुलुकको प्रधानमन्त्री बन्नको लागि मात्र म आएको होइन । समस्या देखेर, समस्याको समाधान गर्न, परिवर्तन ल्याउनुपर्छ, काम गर्नैपर्छ भनेर आएको हुँ’ उनले भने, ‘त्यसैले तपाईहरुको आशा भरोसा हामीमाथि हुनैपर्छ ।’ कुनै पनि करका विषय अनुहार हेरेर गर्न नहुने भन्दै उनले गलत नीति लिएको बेला निजी क्षेत्रले त्यसको विरोध गर्न सक्नुपर्ने समेत बताए । प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिँदै मौद्रिक नीति कठोर हुन नहुने बताए । प्रधानमन्त्री ओलीलाई परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिँदै अध्यक्ष राजेश कुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकार चुक्न नहुने बताए । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भएपनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको दृष्तान्त दिँदै उनले निजी क्षेत्रको बनोबल बढाउनुपर्नेमा जोड दिए । विगतका संकुचनकारी मौद्रिक नीतिका कारण समग्र बजार मागमा संकुचन आएको र अर्थतन्त्र शिथिल बन्न पुगेको अध्यक्ष अग्रवालले बताए । सो अवसरमा परिसंघका निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्व अध्यक्षद्वय सतिश कुमार मोर, हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर, भीम घिमिरे, गभर्निङ काउन्सिल सदस्यहरु शिवरतन शारडा, योगेश्वरलाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठलगायतले अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

राष्ट्रिय दायित्व पूरा गर्न उद्योगमा लगानी वृद्धि आवश्यक : उद्योगमन्त्री भण्डारी

काठमाडौँ, साउन ३ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले रोजगारी सिर्जना गरी विदेश पलायन हुने युवा जनशक्ति रोक्नका लागि उद्योग सञ्चालन गर्नु जरुरी रहेको बताए । उनले मुलुकमा उद्योगमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गरेर युवाहरूलाई स्वदेश फर्काउन सकिने बताए । उनले उद्योग मन्त्रालय नीतिगत रूपमा अहिले पनि ओझेलमा परेको जिकिर गरे । मन्त्री भण्डारीले उद्योग तथा आपूर्ति मन्त्रालयले माग गरे अनुसारको नीतिगत व्यवस्था अझै पनि प्राप्त गर्न नसकेको बताए । उनले मन्त्रालयले नीतिगत सुधारका पक्षहरूलाई विशेष महत्त्वका साथ सुधारका पक्षमा काम गरिरहेको बताए । उनले लगानी सम्मेलनपछि लगानी सहजीकरणका लागि आवश्यक ऐन संशोधनले सबैभन्दा बढी प्रभाव सेजमा देखिएको बताए। सेजलाई मर्ज गर्नुपर्छ भन्ने ठाउँमा पुगेको सरकार अहिले सेजका उद्योगहरू सञ्चालन हुने ठाउँमा पुगेको उनको भनाइ छ । उद्योग मन्त्री भण्डारीले सुर्तीजन्य पदार्थहरूको प्रयोगलाई नीतिमार्फत निरुत्साहित गर्न आवश्यक रहेको बताए । उनले सरकारले नीतिमार्फत निरुत्साहित गर्न आवश्यक भए पनि सरकारले नीतिगत व्यवस्था गरेर उद्योगहरू सञ्चालन गरी रहेको जानकारी दिए । उनले छिमेकी मुलुकमा सुर्तीजन्य पदार्थको उत्पादन र वितरणमा ७५ प्रतिशतसम्म कर लगाएर रोक लगाएको बताए । उद्योग मन्त्री भण्डारीले नेपाल अझै सुर्तीजन्य पदार्थहरूको प्रयोगसम्बन्धी ऐन, कानुन र नीतिमा अभ्यस्त बन्न नसकेको बताए । उनले सुर्तीजन्य उद्योगको क्षमता वृद्धि गर्नेकुरा भन्दा पनि निरुत्साहित गर्न आवश्यक भए पनि उद्योग सञ्चालन गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले कोभिडपछि नेपालको अर्थतन्त्र आएको शिथिलतले सबैभन्दा ठुलो प्रभाव उद्योग र उत्पादन क्षेत्र भएकाले अर्थतन्त्र र उद्योगमा सङ्कुचन आएको जिकिर गरे ।