नेक्सजेनले स्टार्ट अप व्यवसाय गर्न चाहने युवालाई प्रोत्साहित गर्ने
काठमाडौं । नेक्सजेन म्यानेजमेन्टले सनिबार काठमाडौंमा ‘योंग इनोभेटर्स मिट’ कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बानेश्वरको आनन्दभुमि विजनेस सेन्टरमा आयोजित कार्यक्रममा युवाहरूको सहभागिता रहेको थियो । स्टार्ट अप व्यवसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न नेक्सजेनले यो कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा सहभागिहरूको स्वागत नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका थिए । देशमा कामको प्रशस्त अवसर भएर पनि उचित जानकारीको अभावमा युवाहरू निराश भएर विदेश पलायन हुँदैछन् । सहयोगी संस्थाहरू र काम गर्न चाहने युवाहरूबीच सहजीकरण गर्न यस कार्यक्रमको आयोजना गरिएको जानकारी अध्यक्ष भट्टराईले दिए । यस्ता कार्यक्रम काठमाडौं लगायत देशका अन्य स्थानमा पनि निरन्तर गरिने बताए । स्टार्ट अप इनोभेसन एण्ड इन्कयुवेसन सेन्टरका अध्यक्ष डा. शम्भु पोखरेलले आर्थिक मन्दिको यस्तो प्रतिकुल अवस्थामा नेक्सजेन म्यानेजमेन्टले प्रशंशनिय कार्य गरेको छ । उनले स्टार्ट अप व्यवसाय गर्न चाहनेलाई सेन्टरले सहयोग गर्ने विश्वास दिलाए । कार्यक्रममा विजय लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले लघु वित्तिय संस्थाको तर्फबाट स्टार्ट अप व्यवसाय गर्न चाहनेलाई वित्तिय श्रोतको व्यवस्था गर्न सकिने जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट कृषि विकास बैंक र नेपाल बैंकका पुर्व कार्यकारी प्रमुख देवेन्द्र प्रताप शाहले युवाहरू अघि नबढि देश नबन्ने बताए । युवाहरूले नयाँनयाँ कामको संभावना खोजि गरेर अघि बढ्नुपर्ने र नेक्सजेन म्यानेजमेन्ट जस्तो संस्थासँग सहकार्य गरि काम गर्दा सफल हुन सकिने विश्वास व्यक्त गरे । ‘योंग इनोभेटर्स मिट’ कार्यक्रमको अध्यक्षता ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले गरेका थिए । उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै उनले बैंकहरूले जनताको निक्षेप बाट लगानी गर्नुपर्ने हुन्छ । त्यसैले संभावना भएको र कर्जा तिर्न सक्ने क्षमता भएको उद्योग व्यवसायमा मात्र लगानी गर्न सकिने जानकारी दिए । स्टार्ट अप व्यवसाय अधिकांश सफल हुँदैनन् । त्यसैले अध्ययन अनुसन्धान गरेर नयाँ प्रविधि र सोचका साथ टिम बनाएर काम गर्दा सफल हुने बज्राचार्यले विश्वास व्यक्त रे । साथै नेक्सजेन म्यानेजमेन्ट जस्तो अनुभवि र दक्ष संस्थामार्फत आउँदा बैंकहरूलाई लगानी गर्न सहज हुने जानकारी पनि उनले दिए । कार्यक्रमको अन्त्यमा नेक्सजेनका सञ्चालक सुरेश सापकोटाले सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै युवाहरूले जोखिम नलिई अगाडि बढ्न सक्दैनन् । त्यसैले संभावनाका नयाँ क्षेत्रको पहिचान गर्दै काम गर्ने साहस देखाउन आग्रह गरे । स्टार्ट अप व्यवसायी, विभिन्न कलेजका मास्टर्स तहमा अध्यानरत विद्यार्थी र नयाँ काम गर्न चाहने युवाहरूसमेत गरि सत्तरी जना भन्दा बढिको सहभागिता रहेको थियो ।
बाँकेमा २ सय ६५ घरेलु उद्योग बन्द
राँझा ।बाँकेमा चालु आर्थिक वर्षको ९ महिनामा २ सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरूपमा बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण हुन नसकेका १ सय ६५ उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले जानकारी दिए । उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन् । १ सय ५ उद्योगतर्फ र १ सय ६० वाणिज्यतर्फका फर्म बन्द भएका हुन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी÷व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका छन् । बाँकेमा गत आर्थिक वर्ष २०७९÷८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका थिए । यस वर्ष गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका छन् । यस वर्ष चालु आर्थिक वर्षको चैतसम्म ९ महिनाको अवधिमा उद्योगतर्फ ४ सय ३४ र वाणिज्यतर्फ ३ सय ७३ गरी ८ सय ७ घरेलु तथा साना उद्योग दर्ता भएको सूचना अधिकारीले जानकारी दिए । बाँकेमा चैत मसान्तसम्म उद्योगतर्फका ६ सय ३१ र वाणिज्य फार्म १ हजार १ सय ५० गरी १ हजार ७ सय ८१ घरेलु तथा साना उद्योग नविकरण भएका छन् । कोभिड–१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले बताए । उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन् । कैयौँ उद्योगी व्यवसायी नेपालगञ्जबाट विस्थापित हुन पुगेका छन् ।
महासंघमा संयोजकको जिम्मा सापकोटालाई, प्राथमिकतामा व्यवसायीका समस्या समाधान
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको संयोजकमा भागिरथ सापकोटा चयन भएका छन् । संघीय सांसद एलपी साँवा लिम्बु अध्यक्ष रहेको उक्त महासंघले महाधिवेशन आयोजक कमिटि घोषणा गर्दै संयोजकको जिम्मा सापकोटालाई दिएको हो । व्यवसायी सापकोटा पार्टी संगठन विस्तारमा काविलका साथै उद्योगी व्यवसायीका समस्या बुझेर सरकारसँग लविङ गर्न सक्ने व्यक्ति हुन् । नेकपा एमालेको उद्योगी व्यवसायीहरुको भातृ संगठनको रुपमा रहेको उक्त महासंघमा सापकोटा यसअघि महासचिव रहेका थिए । यसैगरी महासंघको महासचिवमा बालकृष्ण सिवाकोटी चयन भएका छन् । उनी यसअघि सोही महासंघको उपाध्यक्ष रहेका थिए । यस्तै कोषाध्यक्षमा डीमप्रकाश पौडेल चयन भएका छन् । उनी यसअघि महासंघका लेखा आयोग संयोजक रहेका थिए । देशको विग्रदो अर्थतन्त्र सुधारका साथै उद्योगी व्यवसायीक समस्या समाधानका लागि पहल गर्न एमालले सापकोटाको संयोजकत्वमा उक्त आयोजक कमिटि गठन गरेको हो । उनको संयोजकत्वमा २१ सदस्यीय सचिवलाय समेत गठन भएको छ भने महासंघको पाँचौं केन्द्रिय कमिटि बैंठकमा उपस्थित केन्द्रिय सदस्यहरुलाई आयोजक समितिमा राखिएको छ । साथै लगातार ३ पटक केन्द्रिय कमिटि बैंठकमा नआउने केन्द्रिय सदस्यहरुलाई संस्थाको विधान अनुसार पदबाट हटाइएको छ । यसैगरी महासंघको केन्द्रिय कार्यसमिति बैंठकले विधान मस्यौदा समिति समेत चयन गरेको छ । महासंघका तत्कालिन उपाध्यक्ष डेकनाथ गौतमको संयोजकत्वमा ९ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको हो । कार्यक्रममा एमाले जनसंगठन इन्चार्ज एवं पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले नयाँ बनेको आयोजक समितिले उद्योगी व्यवसायीको समस्या समाधानमा पलह गर्नुका साथै पार्टीको नीति निर्देशन भित्र रहेर समयमै संस्थाको महाधिवेशन गराउनुपर्ने बताए । यसैगरी संयोजक भएसँगै सापकोटाले अहिलेको विषम परिस्थितमा व्यवसायीका समस्या समाधान गर्न पार्टीदेखि सरकारसँग लविङ गर्नुपर्ने जिम्मेवारी आफुकहाँ आएको बताए । ‘मैले अहिलेपनि पनि महासंघमा रहेर संगठन विस्तारदेखि उद्योगी व्यवसायीका समस्या समाधान गर्न अग्रसर भएर काम गर्दै आएको छु,’ उनले भने, ‘अब यो आयोजक कमिटिले अहिले देखिएको उद्योगी व्यवसायीका समस्या समाधान गर्दै तोकिएको समयभित्र महासंघको अधिवेशन गर्नेछ ।’