आर्थिक विकासका लागि पुँजीगत खर्च बढाऔं, अर्थतन्त्रको चक्रलाई चलायमान बनाऔं

सरकारका योजना तथा कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकार तथा सरोकार निकायहरुसँग निरन्तर सहकार्य र समन्वय गर्दै आइरहेको छ । परिसंघले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा राखेर नीतिगत सुझाव दिँदै आएको छ भने आफ्ना गतिविधिहरु पनि सोही दिशामा केन्द्रित गर्दै आएको छ । यसै सन्दर्भमा बजेटमा राम्रा योजना तथा कार्यक्रम आउने तर कार्यान्वयनको अवस्था निकै कमजोर रहने गरेको अनुभव हामी सबैले गरेका छौं । बजेटको सफल कार्यान्वयनबाट नै पुँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विस्तार हुने हुँदा बजेटको सफल कार्यान्वयन अति महत्वपूर्ण छ । प्रभावकारी बजेट कार्यान्वयनका लागि निजी क्षेत्रकोतर्फबाट रचनात्मक सहयोग गर्ने उद्देश्यसहित नेपाल आर्थिक पत्रकार समाज (सेजन) तथा पायोनेयर ल फर्मसँगको सहकार्यमा नेपाल उद्योग परिसंघले बजेटवाच कार्यक्रम सुरु गरेको छ । सीएनआई बजेट वाच नेपाल सरकारको बजेटमा आएका निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष सरोकारका नीति तथा कार्यक्रमहरुमाथिको सार्वजनिक निजी संवाद कार्यक्रम हो । सरकार, निजी क्षेत्र विज्ञलगायत सम्पूर्ण सरोकारवालाहरुबीच सघन अन्तरक्रियामार्फत सरकारको वार्षिक बजेट कार्यान्वयनमा देखिएका अवरोधहरुको पहिचान र तिनको समाधानका लागि रचनात्मक सहयोग गर्दै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाइ समग्र आर्थिक विकासलाई बढवा दिनु हाम्रो उद्देश्य रहेको छ । निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष सरोकारका ७३ वटा बुँदालाई औद्योगिक विकास, लगानी प्रबर्द्धन, पूर्वाधार विकास, पर्यटन, कृषि, जडिबुटी तथा सुगन्धित वनस्पति, स्वदेशी उत्पादन तथा निर्यात प्रबर्द्धन, र कर व्यवस्थालाई सात क्षेत्रमा वर्गिकरण गरेका छौं । चालु आर्थिक वर्षको तेस्रो संवाद पूर्वाधार विकासमा केन्द्रित रहेर आज हामीले आयोजना गरेका हौं । बजेट सार्वजनिक भएको ६ महिना पूरा भइसकेको छ । बजेटमा घोषणा भएका निजी क्षेत्र र आर्थिक समृद्धिसँग सम्बन्धित ७३ वटा बुँदाहरुलाई दृष्टिगत गर्दा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा केही सुधार आएको देखिएको छ । दोस्रो त्रैमासको अन्त्यसम्म आइपुग्दा बजेटमा घोषणा भएका बुँदाहरु मध्ये ७४ प्रतिशत (कुल ५४ बुँदा) नीति तथा कार्यक्रमहरु आंशिक कार्यान्वयन गइसकेको देखिएको छ । यो सकारात्मक छ । किनकि, अघिल्लो वर्ष समग्र आर्थिक वर्षभरिमा नै सीएनआईले प्राथमिकतामा राखेका ६३ मध्ये ४७ बुँदाहरु मात्र आंशिक कार्यान्वयनको चरणमा थिए । शून्य प्रगति भएका बजेटका बुँदाहरु दोस्रो त्रैमासको अन्त्यसम्म आइपुग्दा १६ प्रतिशतमा झरेको छ । शून्य प्रगतिका नीति तथा कार्यक्रमहरुको संख्यामा यस किसिमले कमी आउनुलाई हामीले सकारात्मक मान्नुपर्छ । यद्यपी ६ महिनाको अवधिमा ७३ बुँदाहरु मध्ये ७ बुँदाहरु (करिब १० प्रतिशत) पूर्ण कार्यन्वयनमा आएका छन् । यसैले बजेटको समग्र कार्यान्वयनको अवस्थामा भने सन्तोष मान्न सकिने अवस्था नरहेको देखिन्छ । हामीले विश्वास लिएका छौं की बाँकी अवधिमा बजेट कार्यान्वयन प्रभावकारी रुपमा हुनेछ । बजेटमार्फत राखिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पूँजीगत खर्च बढाउनुपर्ने आवश्यकता छ । पुँजीगत खर्च बढ्न नसक्दा विकास निर्माणका कार्यहरु प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको हो की भन्ने हामीलाई महसुस गरिरहेका छौं । चालु आर्थिक वर्षको ७ महिना पूरा हुनै लाग्दा पुँजीगत खर्च ज्यादै न्यून छ । हालसम्म २० प्रतिशत पनि पुँजीगत खर्च भएको छैन । अर्थतन्त्रलाई प्रभावकारी रुपमा चलायमान बनाउन, विकास निर्माणलाई तीब्रता दिँदै समग्र आर्थिक विकासका लागि पुँजीगत खर्च बढाउनुपर्ने हुन्छ । पुँजीगत खर्च बढ्दै जाँदा त्यसले अर्थतन्त्रको चक्रलाई नै चलायमान बनाउँछ । बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ । औद्योगिकीकरणका माध्यमबाट समग्र अर्थतन्त्रको विकास, रोजगारी सिर्जना गर्न लगानी प्रोत्साहन गर्न अपरिहार्य छ । सरकारले योजनाहरु अगाडि बढाउने तर कार्यान्वयन फितलो हुने गरेको विगतका परम्परालाई तोड्दै मुलुकलाई आर्थिक रुपान्तरणको वाटोमा लैजान बजेटको सफल कार्यान्वयन महत्वपूर्ण हुन्छ । परिसंघले जहिले पनि देशको समग्र आर्थिक हितलाई नै हेरेर आफ्ना सुझावहरु दिने र सोही अनुरुपका आफ्ना गतिविधिहरु संचालन गर्दै आइरहेको छ । बजेट वाच पनि सोही अनुरुप एउटा पहलको रुपमा अगाडि बढाइएको छ । (नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधार विकासमा केन्द्रित बजेट वाच कार्यक्रममा राखेका मन्तव्यको सम्पादित अंश)

अर्थतन्त्र चलायमान बनाउन संवाद परिषद्लाई सक्रिय बनाऔं : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायी र आम उपभोक्ताको मनोबल बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले निजी क्षेत्रको सुझावअनुसार संवाद परिषद्लाई थप सक्रिय बनाउन आग्रह गरेका छन् । नुवाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं नुवाकोट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यवसायी तथा आम उपभोक्ताको मनोबल वृद्धि गर्न परिषद्लाई थप चुस्त र सक्रिय बनाई निजी र सरकारी संवाद जरुरी छ । यसका लागि हामीले दिएको सुझाव अनुसार प्रधानमन्त्रीज्यूले संवाद परिषद्लाई सक्रिय बनाउनुभएको छ । यसलाई थप सक्रिय बनाउन आवश्यक छ ।’ स्थानीय मेला महोत्सवले अर्थतन्त्र र आर्थिक गतिविधि बढाउन सहयोग गर्ने बताउँदै उनले यसलाई महासंघ विशेष महत्वका विभिन्न स्थान आयोजना गर्ने गरेको जानकारी गराए । ‘मेला महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा, स्थानीयस्तर व्यावसायिक गतिविधिहरु बढाउन, स्थानीय वस्तु तथा सेवाको बजार विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मेला महोत्सवहरु महासंघका आफ्ना कार्यक्रमहरु हुन् । त्यसले आजको यस भव्य महोत्सवको आयोजक नुवाकोट उद्योग वाणिज्य संघलाई विशेष धन्यवाद दिन चाहन्छु,’ उनले भने । अध्यक्ष ढकालले श्रीलंकामा देखिएको आर्थिक समस्यालाई केन्द्रित गरी नेपाल सरकार र अन्य नियामक निकायले लिएका नीति नियमले अर्थतन्त्रलाई संकुचित गरेको उल्लेख गरे । ‘अहिले अर्थतन्त्रका सबै बाह्य सूचकहरु ठिक छन् । विप्रेषण अहिलेसम्मकै धेरै आएको छ । वैदेशिक मुद्राको संचिति पनि उत्तिकै बढेको छ । यति हुँदाहुँदै पनि आम उपभोक्ता, व्यवसायी तथा लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । त्यसैले, निजी क्षेत्रको सुझाव र प्रधानमन्त्रीज्यूको अगुवाईमा सक्रिय बनेको संवाद परिषद्लाई थप सक्रिय बनाउँदै अर्थतन्त्रलाई गति दिन आवश्यक छ,’ उनले भने । धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्वर्द्धन, दिगो आर्थिक विकासको लागि व्यावसायिक प्रवर्द्धन भन्ने नारासहित शुक्रबारबाट शुरु भएको सातौं नुवाकोट महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् ।

एफएनसीसीआई र बीभीएमडब्ल्यूबीच समझदारी, महिलाद्वारा सञ्चालित उद्योगलाई सहयोग पुग्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले जर्मन कम्पनीहरूले नेपालमा लगानी गर्ने वा नेपाली व्यवसायसँग सहकार्य गर्ने सम्भावना खोज्न बीभीएमडब्ल्यू जर्मनीसँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । फेब्रुअरी ७ मा भएको उक्त समझदारी पत्रमा एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीभीएमडब्लुका कार्यकारी अध्यक्ष क्रिस्टोफ अहलहसले हस्ताक्षर गरेका हुन् । एमओयू हस्ताक्षर समारोह नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जको उपस्थितिमा काठमाडौंस्थित जर्मनीको राजदूतावासमा भएको थियो । अध्यक्ष ढकालले नेपालले युरोपमा निर्यातमा भन्सारमुक्त पहुँच गुमाउने भएकाले नेपाल विकासोन्मुख मुलुकमा परिणत भएपछि सबैभन्दा बढी असर साना तथा मझौला उद्योगमा पर्ने बताए । उनले विशेषगरी महिलाद्वारा सञ्चालित साना तथा मझौला उद्योगहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले साना तथा मझौला उद्योगको प्रवर्द्धन र विकासका लागि एफएनसीसीआई र बीभीएमडब्ल्यूले सहकार्य गर्नुपर्ने बताए । एमओयूको प्रमुख उद्देश्य एफएनसीसीआई र बीभीएमडब्ल्यूबीचको सहकार्य अभिवृद्धि गर्नु र लगानी प्रवर्द्धनमा सहकार्य गर्न व्यावहारिक रूपरेखा स्थापना गर्नु हो। एमओयूले आपसी सहयोग मार्फत संस्थागत सम्बन्ध सुदृढ गर्ने र क्षमता अभिवृद्धि गर्ने बारे पनि कुरा गर्छ । एमओयू अनुसार एफएनसीसीआई र बीभीएमडब्ल्यू दुबैले लगानी नीति, नियम, विनियम, कार्यविधि, प्रोत्साहन र अवसरका बारेमा जानकारीको नियमित आदानप्रदान गर्नेछन् । नेपाल र जर्मनीसँग सम्बन्धित तथ्याङ्क र तथ्याङ्कहरू दुवै संस्थाको पहुँचमा पुग्ने गरी सामान्य अपडेटको आदानप्रदान पनि हुनेछ । एमओयू अनुसार दुवै संस्थाले व्यापार प्रतिनिधिमण्डल वा लगानी मिशनको आदानप्रदानका लागि प्रोत्साहन र सहयोग उपलब्ध गराउन पहल गर्नेछन् । एफएनसीसीआई र बीभीएमडब्ल्यू ले लगानी र उद्यमशीलता सम्बन्धी संयुक्त कार्यक्रम आयोजना गर्न एक अर्कालाई सहयोग गर्न पनि सहमति जनाएका छन् ।