सम्झौता बहुउद्देश्यीय सहकारीद्वारा तोरी पेल्ने उद्योग सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’  , ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ । नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको सर्शत अनुदान रु १० लाख र सहकारीको रु पाँच लाख गरी रु ३० लाखमा उद्योग सञ्चालनमा ल्याइएको हो । ‘दुई किलो ५० ग्राम तोरीबाट एक लिटर तेल उत्पादान हुन्छ, यसमा तोरीको मूल्य रु दुई सय ८०, बोतलसँगै बिर्को र ढुवानी रु १३, स्टिकर रु १२, श्रम लागत रु १३ गरी रु तीन सय २३ मा तेल बिक्री मूल्य राखेका छौँ’, उनले भनिन्, ‘उद्योगलाई मुनाफाका रूपमा खली पिना रहेको छ, यसको मूल्य प्रतिकिलो लगभग रु ३४ छ ।’ सहकारीका लेखा संयोजक मनराज उपाध्यायले उद्योग सञ्चालनमा आइसकेकाले तत्कालै तेलको ब्राण्डिङ, प्याकेजिङ गरी बजारमा ल्याउन लागेको जानकारी दिए । उनका अनुसार उद्योगको दैनिक पाँच सय लिटर प्रशोधित तेल उत्पादन गर्ने क्षमता छ । सहकारीले उपसमिति बनाएर उद्योग सञ्चालन र व्यवस्थापनको कार्य अगाडि बढाउने उनले बताए। स्थानीय किसान धर्मराज चौधरीले नगरपालिका क्षेत्र तोरी उत्पादनका लागि अग्रणी भए पनि बजार खोज्न निकै अप्ठेरो रहेको अवस्थामा उद्योग सञ्चालनमा आएपछि सहजरूपमा तोरी बिक्री हुने बताए । ‘विगतमा बाहिरबाट व्यापारी आएर तोरी खरिद गर्थे’, उनले भने, ‘व्यापारीले तोकेकै मूल्यमा तोरी बेच्नुपर्ने अवस्था थियो, उद्योगमा तोरी बेच्दा मूल्य पनि बढी पाउने र बजार खोज्दै हिँडनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’ नगरप्रमुख पोतिलाल चौधरीले नगर क्षेत्रमा तोरी पेल्ने उद्योग भए पनि प्रशोधन गरी शुद्ध तोरीको तेल उत्पादन गर्ने उद्योग पहिलोपटक सञ्चालनमा आएको बताए । ‘उद्योग खुलेपछि रोजगारीका अवसर सिर्जना हुन्छन्’, उनले भने, ‘किसानको तोरी बिक्री हुन्छ, मिसावट भएको तेलको प्रयोगमा कमी आउँछ ।’ उद्योग सञ्चालक सहकारीसँग बजारभाउभन्दा बढी मूल्यमा किसानको तोरी खरिद गर्ने सहमति भएको उनले उल्लेख गरे । किसानलाई उन्नत तोरीको खेती गर्न नगरपालिकाका तर्फबाट अनुदानका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । उद्योग सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन गर्न चार महिना समय लाग्ने, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयबाट ब्याच नम्बर लिन वातावरणीय प्रभाव मूल्याङ्कन हुनुपर्ने, बोतलका लागि आफ्नै डाइसाँचो हुनुपर्नेलगायतका यावत समस्या भए पनि तोरी उत्पादनको सिजन भएकाले उद्योग उद्घाटन गरी सुरु गर्ने लक्ष्य लिइएको नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमनराज जोशीले बताए । नगरपालिका क्षेत्रको खुला सीमानाकाबाट अखाद्य खानेतेल दैनिक भित्रिने गरेकाले यस क्षेत्रका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको उनको भनाइ छ । यस विषयमा नगरपालिकाले विश्लेषण गरी नगरवासीलाई शुद्ध तोरीको तेल उपभोग गर्न भारतबाट आयात हुने अखाद्य तेललाई विस्थापित गर्नका लागि सहकारीसँग सम्झौता गरी शुद्ध तोरीको तेल उत्पादन गरी नगरवासीको घरघरका भान्सामा आपूर्ति गर्ने लक्ष्य लिइएको उनले उल्लेख गरे । रासस

प्रधानमन्त्री दाहालले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उद्योग रहेको स्थान उदयपुरको जलजले पुगी उनले आज उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् । प्रधानमन्त्री दाहाललाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायतका उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । त्यसक्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने बताए । आफूले उद्योगको समस्यालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीनरूपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए । अहिले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा विसं २०४४ जेठ ३१ गते सो उद्योगको स्थापना भएको थियो । उक्त उद्योगले उत्पादन गरेको ‘गैँडा छाप’ ब्राण्डको सिमेन्ट नेपाली उपभोक्तामाझ लोकप्रिय छ ।

स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासबाट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा वर्तमान सरकार केन्द्रित भएको बताएका छन् । सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उनले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताए । स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उनले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रूपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको बताए । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उनको भनाइ छ । वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्प्ष्ट दृष्टिकोणसहित अघि बढेको उल्लेख गर्दै प्रधामन्त्री दाहालले सरकारबाट थालनी भएका जनपक्षीय कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बताए । ‘सरकारले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएको छ, सुशासनको पक्षमा सरकारले महत्वपूर्ण कदम चालेको छ,’ उनले भने, ‘जनताले पाइरहेको सास्तीलाई मध्यनजगर गर्दै सेवा प्रवाहलाई सहज बनाइएको छ ।’ प्रधानमन्त्रीका रूपमा आफूले द्विपक्षीय र बहुपक्षीय मञ्चमा नेपालका तर्फबाट जलवायु परिवर्तनका असरका मुद्दालाई प्रमुखताका साथ उठान गरेको जानकारी दिँदै उहाँले नेपालजस्ता पर्वतीय मुलुकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको बताए । मुलुकको अर्थतन्त्रलाई सही स्थानमा ल्याउन महत्वपूर्ण निर्णय लिइएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्लो समय अर्थतन्त्र सही अवस्थामा फर्किएको स्पष्ट पारे । ‘अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन वृद्धि भएको छ,’ उनले भने, ‘यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्दत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।’ प्रधानमन्त्री दाहालले दुधौली नगर अस्पताललाई आवश्यकपर्ने उपकरण, दक्ष जनशक्ति र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । यस क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेको जानकारी आफूले प्राप्त गरेको उल्लेख गर्दै उनले दुधौली अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिने बताए । गरिब, दलित, उत्पीडित जनताको हकहित संरक्षणबाट मात्रै गणतन्त्र संस्थागत हुने भएकाले तल्लोतहका जनताको हकहित रक्षामा लाग्नुपर्नेमा जोड दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रण्को विकल्प सुदृढ र समुन्नत गणतन्त्र नै भएको त्यसको अर्को विकल्प हुनै सक्दैन भने । कार्यक्रममा बागमती प्रदेशमा मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले नगर अस्पतालको विकासमा प्रदेश सरकारकोतर्फबाट उचित सहयोग रहने बताए। त्यस अवसरमा प्रधानमन्त्री दाहालले १५ शय्याको दुधौली नगर अस्पतालको समुद्घाटन गरेका थिए । करिब १८ करोड रुपैयाँ लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।