१९ बुँदे माग राखी ग्यास उद्योग संघले घोषणा गर्यो विभिन्न चरणका आन्दोलन
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संघले १९ बुँदे माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हाे । बिहीबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गर्दै संघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हाे । विगत ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकोले तत्कालै वृद्धि हुनु पर्ने र हरेक वर्ष मुद्रास्फीती दर अनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग संघको छ । यसैगरी, उद्योगी र डिलरहरूको मुनाफा प्रतिशतमा कायम गरी ५ प्रतिशत नघट्ने व्यवस्था हुनु पर्ने माग छ । पेट्रोलियम ऐन/नियम/कानुनको निर्माण गरी एउटा छुट्टै पेट्रोलियम बोर्ड प्राधिकरण नियमन निकाय खडा गर्नुपर्ने र सोका लागि निजी क्षेत्र तथा विज्ञको सहभागितामा सुझाव आयोग गठन गर्नुपर्ने माग पनि संघको छ । संघले फाल्गुण १८ गतेदेखि ५९ वटै एलपी ग्यास उद्योगहरूका माग सम्बोधन नभएमा अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ । देशभरका ५९ वटै एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने भएका छन् । यसैगरी, संघले फाल्गुण ६ गतेदेखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्यासको ग्यास बुलेट कुनै पनि लोड नगर्ने पनि भएको छ । फागुन १२ गतेदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्यास बुलेटहरू कुनै पनि भन्सार नाकाबाट नछुटाउने, यसैगरी फागुन २२ गते शनिवारदेखि देशभरका ग्यास बिक्रेता डिपोहरूले सम्पूर्ण बन्द गरिदिने पनि संघले जनाएकाे छ ।
पाथीभरामा यातायातको सुविधामात्र दिन खोजेको हो, मविरुद्ध नकारात्मक सन्देश फैलाइयो: ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले सामाजिक सञ्जालले गलत सन्देश प्रवाह भएको बताएका छन् । बिहीबार क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘सामाजिक सञ्जालले चन्द्र ढकाललाई दलाल भनेर चिनाउने प्रयास गरिरहेको छ, जुन खेदजनक छ । वैदेशिक रोजगारको जागीर छोडेर नेपालमै केही गर्नुपर्छ भनेर फर्केर आएको मान्छे, अहिले हजारौंलाई रोजगार दिइरहेका छु । तर आज सामाजिक सञ्जालमा मेरो विषयमा गलत सन्देश फैलिएको छ । विभिन्न क्षेत्रमा मैले योगदान दिएको छु ।’ अध्यक्ष ढकालले पाथीभरामा केबलकार बनाउने विषयमा भएको विवादले गलत देखाउन खोजेको हुँदा वास्तविक रूपमा त्यहाँ केबलकर बनाएर यातायातको सुविधा मात्र दिन खोजेको बताए । उनले धर्मको नाममा गलत सन्देश फैलाउन खोजिएको बताए । यसैगरी, अध्यक्ष ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताए । आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैया बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसँग आग्रह गरे । उनले क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने बताए । अर्काे प्रसंगमा अध्यक्ष ढकालले नेपालमा सरकारले रोजगारीमा प्रोत्साहन गर्न सकेन भने भोलिका सन्ततिले पछुताउनुपर्ने बताए । यसैगरी, सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रमा सरकार आफैले धेरै काम गर्न बाँकी रहेको बताए । उनले यस क्षेत्रमा निजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै आउने दिनमा निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने बताए । आईटीलाई उद्योगको रूपमा विकास गर्दै अगाडि लैजान नीतिगत सुधार आवस्यक रहेको उल्लेख गर्दै उनले सरकारले नीतिगत सुधारको लागि काम गरिरहेको जानकारी दिए । क्यान इन्फोटेक मेला आजदेखि सुरु
समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग, युवा विदेशिँदा व्यवसाय मारमा
भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच्चापदार्थको अभावमा यो व्यवसाय समस्यामा पर्न थालेको छ । एकातिर दक्ष कालिगडको अभाव, अर्कोतिर सीप सिक्नुपर्ने युवा विदेश पलायन हुँदा त्यसको मार यस व्यवसायमा परेको छ । रोजगारी र पढाइका लागि युवाहरू विदेश जाने क्रम बढेको बताउँदै आरन उद्योगी घनश्याम विश्वकर्माले भने, ‘युवा पलायन र कच्चापदार्थको अभावका कारण पनि खुकुरी बनाउने आरन उद्योगहरूको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको छ ।’ जिल्ला सदरमुकामका साथै कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दाँवा, तिम्मा, दिङ्ला, देउराली, जरायोटारलगायत क्षेत्रहरूमा भोजपुरे खुकुरी बनाउने गरिएको छ । कालिगड र वनपैदावर कच्चापदार्थ अभावमा यी क्षेत्रका उद्योगहरूसमेत बन्द हुने अवस्थामा पुगेका छन् । राणाकाल र पञ्चायतकालदेखि नै प्रसिद्ध भोजपुरे खुकुरी जनशक्ति र सल्लाका काठ, कोइला, गोल जस्ता कच्चापदार्थको अभावका कारण उत्पादनमा कमी आउन थालेको उद्यमीहरूको गुनासो छ । रञ्जिता खुकुरी उद्योगका सञ्चालक दिनेश गजमेरले भने, ‘हाल भनेजस्तो दक्ष कालिगड भेटिँदैनन्, काठको त्यस्तै अभाव छ । यसकारण उत्पादन खट्दो छ, माग धान्न सकिएको छैन । कालिगड अभावका कारण महँगो ज्याला दिएर काम गराउनुपर्ने अवस्था छ ।’ भोजपुरे खुकुरी प्रयोग गर्न, सजाउन र कर्मचारीको स्वागतदेखि बिदाइमा समेत बिक्री हुने गरेको उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक हिरा श्रेष्ठले बताए । भोजपुरमा सिरुपाते, बासँपाते, चित्लाङे, कोथिमुडा, पानवाला, धारखोले, बुदुनालगायतका खुकुरी बनाइन्छ । ‘यहाँ १९६५ सालदेखि नै खुकुरी उत्पादन सुरु गरिएको बताइन्छ । २०२७ तिर तत्कालीन राजा महेन्द्र जिल्ला भ्रमणमा आएका बेला बोखिमका स्थानीय सिंगबहादुर विकले उपहारस्वरूप उहाँलाई खुकुरी दिएको र राजा बक्सिससहित यसको प्रचार भएपछि यहाँको खुकुरी लोकप्रिय हो’, उनले भने । स्थानीय बजारमा प्रतिगोटा खुकुरीको मूल्य ८०० देखि एक हजार ८०० सम्म पर्ने गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा बुदुने र बाँसपाते खुकुरीहरू बढी प्रयोगमा आउने गरेको छ । यहाँको खुकुरी धरान, उदयपुर, खाँदबारी, काठमाडौं हुँदै बाहिरी मुुलुकहरूमा समेत चिनो, उपहार र सजावटका लागि ढुवानी हुने गरेको छ । यसको संरक्षणका लागि सरकारी तवरबाटै पहल गरिनुपर्ने यहाँका व्यवसायीको माग छ । रासस