विकासन्युज

लुम्बिनी विकास बैंकको अध्यक्षमा चिन्तामणि भट्टराई, आजै शपथ ग्रहण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चिन्तामणि भट्टराई नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष बिहीबार(आज) पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, लुम्बिनी विकास बैंकका सञ्चालक प्रविण कृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।

३० लाख लगानी भएकाे कम्पनीकाे भ्यालु ५० करोड, ४ हजारले रोजगारी पाएका छन् : जयन्द्र वीरसिंह बस्नेत

जयन्द्र वीरसिंह बस्नेत, सीइओ, जी फोर्स सेक्युरिटिज कम्पनी जयन्द्र वीरसिंह बस्नेतले नेपाली सेनाको प्रमुख सेनानीबाट अवकास पाएपछि जी फोर्स ग्रुफ अफ कम्पनीको स्थापना गरे । उनी अहिले सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । जी फोर्स सेक्युरेटी, जी फोर्स रिर्सच एण्ड सर्भिसेस, जी फोर्स टेक्निकल ट्रेनिङ सेन्टर र सहकारी संस्थामा उनको संलग्नता रहेको छ । उनको सेक्युरिटी कम्पनीले मात्रै ४ हजार बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका छन् । राष्ट्रको सुरक्षामा २५ वर्षे अनुभवलाई उनले कम्पनीमार्फत प्रयोग गरिरहेका छन् । सुरक्षाको विषयमा कम्पनीले नयाँ प्रविधिको विकास गरिरहेको छ । नेपालमा सुरक्षा प्रदायक कम्पनीको भुमिका र यसको प्रभावबारे विकास बहसका लागि खेमराज श्रेष्ठले सीईओ बस्नेतसंग गरेको कुराकानी: तपाइलाई सेक्युरिटी कम्पनी सञ्चालन गर्ने योजना कसरी आयो ? २५ वर्ष नेपाली सेनामा जागिर खाइयो । देशको राजनीतिक परिस्थिती देखेर चिन्तित अवस्थामा थिएँ । साथीसँग मिलेर सेक्युरिटी कम्पनी खोल्यौं । साथीहरुलाई रातारात धनी बन्ने इच्छा जाग्यो र यस कम्पनीमा उनीहरुले काम गर्न चाहेनन् । किनकी त्यतिबेला माओवादी ट्रेड युनियनको दवदवा रहेको थियो । यसकारण साथीहरुले यसलाई सामना गर्ने आँट पनि गरेनन । तर मैले आँट गरेर यसलाई निरन्तरता दिईरहेको छु । कस्ता-कस्ता व्यक्तिले तपाईको कम्पनीमा रोजगारी पाउने गरेका छन ? हामीले प्राय नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीबाट अवकास र तालिम केन्द्रबाट तालिम लिएका व्यक्तिलाई रोजगारी दिइरहेका छौं । हाम्रो ट्रेनिङ सेन्टरबाट तालिम पास भएपछि पनि हामी रोजगारी दिने छौं । हाल कति व्यक्तिलाई रोजगारी दिइरहनु भएको छ ? कम्पनीको विभिन्न शाखाबाट ४ हजार बढी व्यक्तिहरुले रोजगारी प्राप्त गरिरहेका छन् । हामीले जी फोर्स रिर्सच एण्ड सर्भिसबाट ड्राइभर, प्लम्बर, इलेक्ट्रिसियनलाई जागिर प्रदान गरिरहेका छौं । यस शाखाबाट सेक्युरिटी बाहेकका सबै प्राविधिक कामका सेवाहरु प्रदान गरिरहेका छौं । हामी आफैंले ट्रेनिङ दिएर सेक्युरिटीका लागि दक्ष जनशक्तिहरु उत्पादन गरिरहेका छौं । कति लगानीबाट कम्पनी स्थापना गर्नुएको थियो । आजको दिनमा जी फोर्सको ब्राण्ड भ्यालु कति पुगेको छ ? हामीले कम्पनी सुरु गर्दा ३० लाख रुपैंया जति लगानी गरका थियौं । यो पेशामा लगानी भन्दा पनि बढी विश्वासको कुरा हुन्छ । हरेक संस्थाहरुले आफ्नो नाफाको केही प्रतिशत छुट्याएर सुरक्षा गार्ड राखेका हुन्छन् । उनीहरुले आफ्नो अर्बौ मूल्यको सम्पत्ती हाम्रो जिम्मामा छोडेका हुन्छन् । यस्तो अवस्थामा बार्गेनिङ गरेर सेवा फितलो बनाउन चाहादैनौं । संस्थाहरुले गरेको विश्वासको आधारमा हाम्रो कम्पनी दिनदिनै लोकप्रिय हुँदै गैरहेको छ । मोटामोटी हाल हाम्रो कम्पनीको बजार मूल्य ५० करोडको हाराहारीमा पुगेको छ । कर्मचारीहरुलाई कस्तो सेवा सुविधाहरु दिइरहनु भएको छ ? सरकारले बनाएका नियम कानूनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गरिरहेका छौं । हामीले सबै कर्मचारीको तलब लगायत आर्थिक सेवा सुविधा बैंकबाटै प्रदान गर्दै आइरहेका छौं । कर्मचारीको सञ्चय कोष, बीमा लगायत सबै सेवा सुविधा प्रदान गरिरहेका छौं । समग्रमा एउटा सरकारी सुरक्षा निकायका कर्मचारीले जस्तो सेवा सुविधा जी फोर्समा छ । कर्मचारीलाई सबै प्रकारको सेवा सुविधा दिएका छौं । अहिले सरकारले उपदान थप गरेको छ, त्यो पनि लागू गर्दै छौं । अहिलेको नियम अनुसार दिनमा १२ घण्टा काम गर्नेले २१ हजार ४०० रुपैयाँ तलब पाउनैपर्छ । त्यो हामीले दिएका छौं । अनुशासनमा कुनै पनि हालतमा सम्झौता गर्दैनौं । चाहे त्यो ट्रेड युनियनले जतिसुकै दबाब देओस । बरु म कम्पनी बन्द गर्न तयार छु । तर अनुशासन, नियम र कानूनमा सम्झौता गर्दिन । जी फोर्सले कुन ठाउँमा सेवा विस्तार गरेको छ ? हामीले अहिले ७५ जिल्ला नै सञ्जाल विकास गरेका छौं । अब प्रदेश अनुसार जाने तयार गरेका छौं । केन्द्रिय कार्यालय काठमाडौमा छ । हाम्रो शाखा हेटौंडा, पोखरा, वीरगञ्ज, बुटवलमा छ । सेक्युरिटीको काम जोखिम र बढी समय खट्नु पर्ने हुन्छ । यहाँले कतिको समय दिन भ्याउनु भएको छ ? यो व्यवसाय चुनौतिपुर्ण छ । यसमा म दिन रात नभनी खटिइरहेको छु । यसमा भन्नु पर्दा २४ सै घण्टा हाई अलर्टमा बस्नुपर्छ । हाम्रो कार्यालय २४ सै घण्टा नै खुल्ने गर्दछ । सानोतिनो केस भैरहँदा केही भएन ठूलो घटनामा म आफैं लागेर समस्या समाधानमा अघि बढ्नुपर्छ । त्यसैले चुनौतिपुर्ण छ । जी-फोर्सलाई नेपालमा मात्रै सीमित नगरी बाहिर पनि विस्तार गर्ने योजनामा हुनुहुन्छ ? अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विस्तार गर्ने योजनामा छौं । धेरै जसो देशमा सेक्युरिटी क्षेत्रमा काम गर्ने नेपालीहरु छन् । मलेसिया, दुबइ, कतार, साउदी अरब प्राय काम गर्ने भनेका नेपाली हुन् । त्यसको प्रयास स्वरुप हामी कतार गयौं । तर खराब व्यक्तिको सल्लाहमा हामी सफल हुन सकेनौं । हामीलाई विदेशी नीति नियमको बारेमा केही जानकारी थिएन । केहि व्यक्तिको सहयोग लिन खोज्दा केही रकम गुमाउन पुगियो । यस अनुभवले मलाई के लाग्छ भने जो नेपालीको हकहितको रक्षाका लागि विभिन्न संघसंस्था खोलेर बसेका छन् त्यस्ता व्यक्तिहरु नै नेपालीहरुलाई ठग्ने गरेका छन् । यस्ता क्रियाकलापले नेपाली कामदारहरुको हित गर्दैन भन्ने मेरो निष्कर्ष छ । यो कुरा नछुटाई लेख्नुस्, सागर नेपाल, सरोज पुडासैनी, प्रकाश कार्की लगायत व्यक्तिले मैले कम्पनी खोल्न दिएको पैसा खाएर भागे । यो समुहले मेरो ४ करोड रुपैयाँ लिएर भागेका छन् । मसँग सबै कागजात छन् । ति ठगहरुलाई नेपाली राजनीतिक संरक्षण प्राप्त छ । सेक्युरीटी कम्पनीलाई सरकारले के कस्तो सुविधा दिनुपर्छ ? सरकारले गर्नुपर्ने २/३ कुरा रहेका छन् । सरकारले नीति नियम बनाउँछ तर समयमै कार्यान्वयन गर्दैन । अहिले सरकारले राजपत्रमा मजदुरको न्युनतम तलब १३ हजार ४५० रुपैयाँ तोकेको छ । तर यो निकै ढिला भयो किनभने हाम्रो कम्पनीका वार्षिक योजना पहिले नै निर्माण भैसकेको हुन्छ । बीचमा फेरी परिमार्जन गर्नुपर्ने झन्झट छ । हामीले सेवाग्रीलाई पनि सम्झाउन सक्दैनौं यसले कम्पनीलाई असर गरिरहेको छ । हामी सुरक्षा सम्बन्धी काम गरिरहेका छौं । अब श्रम मत्रालयले श्रमिकको कुरा निकाल्दै यसो गर्नु र तेसो गर्नु भनेर कार्यक्रम ल्याउछ । के अब नेपाली सेनालाई पनि श्रम मन्त्रालयमा राख्ने ? आखिर गर्ने त सबैले श्रम नै हो । अनि कर्मचारीहरुले मन्त्रीलाई घुमाएर यता कागजात पुगेन उता कागजात पुगेन भनेर अलझाउने काम गर्छन् । त्यसैले हामी सेक्युरेटी कम्पनीलाई हेर्ने एउटा मात्र निकाय हुनुपर्छ । तपाईहरुले सेवाग्राहीलाई दिने सुरक्षाको मोडालिटी कस्तो छ ? कार्यालयबाटै कर्मचारी कार्यस्थलमा पुगे वा पुगेनन सोको सबै रेकर्ड हामी राख्ने गरेका छौं । हामीले जिम्मा लिएको सुरक्षाको क्षेत्रमा हाम्रो कार्यालयबाट नै अनुगमन गरिरहेका छौं । अहिले जीपीएस ट्रयाकिङ प्रणाली प्रचलनमा आएको छ । सरकारी सवारीहरुमा पनि राख्ने गरिएको छ । तर यो खराब व्यक्तिको हात पर्यो भने त्यो निकै खतरनाका हुनेछ । यो निकै गम्भिर विषय हो । यसमा प्रयोग गर्ने सप्टवेयर हाम्रै आफ्नै हुनुपर्छ । अहिले यातायात व्यवस्था विभागको स्मार्ट लाइसेन्सको सफ्टवेयर कहाँ छ । आज विभागले लाइसेन्स् बनाउने सबै व्यक्तिको तीन पुस्ते विवरण भारतमा पठाइरहेको छ । त्यसैले हाम्रो कम्पनीले आफ्नै सफ्वेयर विकास गर्न लागेका छौं । यसले सुरक्षा प्रविधिमा नयाँ आयाम ल्याउछ ।

केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको नगद अनुदान र कम्प्युटर सहयोग

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई नगद तथा कम्प्युटर उपकरणहरु हस्तान्तरण गरेको छ । बिहीबार एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्रीले नगद ५ लाख, आईफाइभ ल्यापटप ५ थान, डेस्कटप कम्प्युटर १ थान र प्रोजेक्टर १ थान हस्तान्तरण गरेका छन् । बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामाजिक संस्थाको रुपमा ५ वर्ष अगाडी स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई यस बैंकले विगत ३ बर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । क्याम्पसमा हाल छात्र/छात्रा गरी ८९ जना बहिरा विद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् । बैंकले देशैभरी फैलिएका १२३ शाखा, ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउनु पर्छ- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताएका छन् । काठमाडौंमा बिहीबारदेखि शुरु भएको ‘सार्क क्षेत्रका कृषकको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीले उत्पादन दोब्बर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ‘पकेट’, ‘ब्लक’, ‘जोन’ र ‘सुपरजोन’ परियोजना लागू भएको जानकारी दिए। उनले झण्डै दुई तिहाइ जनसङ्ख्या कृषि पेशामा आबद्ध भए पनि नेपाल कृषिमा आत्मनिर्भर हुन नसकेकामा चिन्ता व्यक्त गर्दै आगामी पाँच वर्षमा हाल भइरहेको उत्पादनलाई दोब्बर वृद्धि गर्नुपर्ने हुँदा सम्मेलनबाट प्राप्त रचनात्मक सुझावलाई सङ्कलन गरी कार्यान्वयनमा लैजानु आवश्यक रहेकामा जोड दिए । बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन भएको झण्डै तीन हप्तापछि दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) राष्ट्रका कृषि वैज्ञानिक तथा कृषिका विभिन्न क्षेत्रमा आबद्ध ३०० विज्ञ सम्मेलनमा सहभागी भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा सञ्चार केन्द्र नेपाल, कृषि प्रसार समितिको संयुक्त आयोजना र अन्तर्राष्ट्रिय कृषि प्रसार समिति हैदरावाद भारतको सहआयोजनामा शुरु भएको सम्मेलन यही असोज ७ गतेसम्म चल्नेछ । सम्मेलनमा ८५ कार्यपत्र पेश हुनेछन् । बिम्स्टेक सम्मेलनमा जारी गरिएको १८ बुँदे घोषणापत्रले पनि कृषि क्षेत्रको उत्पादनमा जोड दिएको थियो । कृषिमन्त्री चक्रपाणि खनालले सम्मेलनमा कृषि प्रसार सेवाका लािग नीतिगत सुधार, नवीन र बहुपक्षीय कृषि प्रसार अवधारणा, जलवायु अनुकूलन, साना किसानका लागि कृषि प्रसार विधि तथा कृषि व्यवसायीकरण र कृषि उद्यम विकासका लािग कृषि प्रसार रणनीतिसम्बन्धी छलफल हुने जानकारी दिए । विश्व जनसङ्ख्याको करीब तीन चौथाइ बसोबास दक्षिण एशियामा छ । सार्क राष्ट्रको मुख्य चुनौती गरीबी र खाद्य असुरक्षाबाट मुक्ति हो । कृषि जीविकोपार्जनको मुख्य आधार रहेकाले यस क्षेत्रमा कृषिको विकास र विस्तार नगरी समग्र देशको विकास सम्भव देखिँदैन । यस क्षेत्रमा भएका हरित क्रान्तिले लाखौँ जनतालाई भोकमरीको खाडलबाट निकाले पनि किसानको आयमा उल्लेखनीय वृद्धि हुन सकेको छैन । नेपाललगायत छिमेकी राष्ट्रले आगामी पाँच वर्षमा कृषिको उत्पादन दोब्बर गर्ने सङ्कल्प गरिसकेका छन् । यसका लागि उपयुक्त नीति तथा कार्यक्रम तर्जुमा भई कार्यान्वयनको अवस्थामा छ । कृषि विकास रणनीति र दिगो विकास लक्ष्यले तय गरेको उद्देश्य प्राप्तिका लागि भोकमरीलाई शून्यमा झार्ने मार्गचित्र र तिनको कार्ययोजना तयार भई कार्यान्वयनमा रहेको छ । रासस

भूकम्प पीडित कर्जा कार्यविधि संशोधन, २ प्रतिशत ब्याजमा १० वर्षसम्म ऋण पाउने

काठमाडौं । भूकम्प पीडितले १० वर्षसम्मका लागि २ प्रतिशत ब्याजमा सहुलित कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भूकम्प पीडितलाई प्रदान गरिने कर्जाको कार्यविधि संशोधन गरी यस्तो व्यवस्था गरेको हो । भूकम्प पीडितको कर्जा अवधि न्युनतम ५ वर्षसम्म अधिकतम १० वर्षसम्म रहने भएको छ । पुर्नरकर्जा अवधि सकिपछि ८ वर्षसम्म ब्याज अनुदान दिने नेपाल राष्ट्र बैंकले जनाएको छ । भूकम्प पीडितलाई दिने कर्जालाई विपन्नमा गणना गर्न पाइने व्यवस्था गरिएको छ । प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी) गणना गर्दा कुल कर्जाबाट घटाउन सकिने व्यवस्था गरिएको छ । पहिलो २ वर्ष शुन्य ब्याजदरमा कर्जा पाइने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । पुनरकर्जा अवधि व्यत्तित भएपछि निक्षेप लागतमा २ प्रतिशत थप गरी ब्याज लिन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । ऋणीले सम्झौता भन्दा अग्रिम कर्जा तिर्न चाहेमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले भूकम्प पीडितलाई दिएको ऋण उठाउन नसकेपछि लिलामी प्रक्रिया अघि बढाएको थियो ।

एसिड आक्रमणका घाइतेलाई सम्पर्क मञ्चको सहयोग

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाका एसिड पीडित बालिकाहरुलाई नेकपा(एमाले) रौतहट काठमाडौं सम्पर्क मञ्चले सहयोग गरेको छ । मञ्चले बालिकाका बुवालाई अस्पतालमै पुगेर नगद १०१५० रुपैंयँँ आर्थिक सहयोग गरेको हो । सहयोग हस्तान्तरण गर्न मञ्चका अध्यक्ष मीन गौतम, उपाध्यक्ष सचित कुइँकेल, सचिव रामानन्द चौधरी लगायत किर्तिपुरस्थित अस्पताल पुगेका थिए । मञ्चले घाईतेहरुको उपचारमा सहयोग गर्न र दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । भदौ २६ गते रौतहटको चन्द्रपुर ६ मा मध्यरात १२ बजे १८ बर्षिय सम्झना कुमारी दास र १५ बर्षिय सुस्मिता कुमारी दासमाथी एसिड आक्रमण भएको थियो ।

देव: विकास बैंककाे २४ लाख ७० हजार कित्ता सेयर सूचिकृत

काठमाडौं । देव: विकास बैंक लिमिटेडको २४ लाख ७० हजार ९२३ कित्ता सेयर सूचिकृत भएको छ । बैंकको बिहीबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । केन्द्रिय कार्यालय काठमाडौंमा रहेको यस बैंकको हाल २ अर्ब २८ करोड रुपैयाँ रहेको छ । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता १३६ रुपैयाँ रहेको छ ।

सेञ्चुरी बैंकका ग्राहकलाई नेपाल मेडिसिटीको विभिन्न सेवामा छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरस्थित नेपाल मेडिसिटीबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हाे । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका सेयरधनीहरुले अस्पतालका विभिन्न सुविधाहरुमा विशेष सहुलियत पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल मेडिसिटीका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् ।