विकासन्युज

लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली भोलीदेखि शुरु, १०१ वटा कारको सहभागिता

काठमाडौं । भोलि (फागुन ३ गते) काठमाडौंदेखि बिराटनगरसम्म लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली आयोजना गरिने भएको छ । काठमाडौंबाट प्रारम्भ हुने र्यालीमा १ सय १ कारको सहभागिता रहने छ । काठमाडौंको नक्साल नारायणचौरस्थित स्टार पार्टी भेन्युबाट प्रारम्भ हुने र्याली बनेपा, सिन्धुली, बर्दिबास, लहान, इटहरी हुँदै बिराटनगर पुग्ने छ । लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ ए१, ए२, बी१ र बी२ को आयोजना र नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) को प्राविधिक सहयोगमा उक्त र्यालीको आयोजना हुने भएको हो । लायन्स मल्टिपल काउन्सिल चेयरम्यान बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा मोटर र्याली प्रारम्भ हुनेछ । लायन्स फेस्टिभललाई सहयोग पुगोस् भन्ने उद्देश्यले र्यालीको आयोजना गरिएको हो । यसबाट सडक सुरक्षा सम्बन्धी सकारात्मक सन्देश समेत प्रवाहित हुने र्याली संयोजक तथा ३२५ ए१ का रिजन चेयरपर्सन किशोर भट्टराईले बताए । एउटा कारमा बढीमा ४ जना सहभागी हुनेछन् । लक्की ड्रमार्फत र्यालीमा सहभागीहरु मध्येबाट टर्किस एयरलाइन्सले अमेरिका भ्रमणको अफर उपलब्ध गराउने भएको छ । बिराटनगरमा हुने कार्यक्रममा हाजिरी जवाफ, फुटवल प्रतियोगिता, भलिबल प्रतोयोगिता, टग अफ वार, ब्याडमिन्टन प्रतियोगिता, चेस प्रतियोगिता आदि आयोजना हुनेछ । सो अवसरमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुनेछ । लायन्सले सन् २०१७-२०१८ लाई सेन्टेनियल इयरको रुपमा मनाउदै छ । सोही अवसरमा १ सय १ कार सहितको र्याली आयोजना गरिएको र्यालीका प्राविधिक संयोजक तथा डिष्ट्रिक्ट ३२५ ए१ का जोन चेयरपर्सन मधुसूदन सिग्देलले बताए । लायन्सका लागि बिराटनगर ऐतिहासिक स्थल समेत हो । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा बिराटनगरबाटै नेपालमा लायन्सको स्थापना भएको थियो । यसकारण पनि यस पटकको लायन्स मल्टिपल फेस्टिभल विशेष महत्वको रहेको लायन्सहरुको भनाइ छ ।

सिद्धार्थ बैंकको शाखा महोत्तरीको गौशालामा

काठमाडौं । सिद्धार्थ बैंकले बुधबार महोत्तरीको गौशाला नगरपालिकामा शाखा स्थापना गरेको छ । यस शाखाबाट नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको नीति निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । त्यस्तै, यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै ग्राहकहरुले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायतका सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुनेछ । यस शाखाबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, कर्जा कारोबार जस्ता सेवामार्फत स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकको पुहँच नपुगेका अन्य थप गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्दैछ । यो शाखा सहित बैंकले हाल देशभर ९३ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०५ एटीएम र ६५० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रभु बैंक अब महोत्तरीको एकडारामा

काठमाडौं । प्रभु बैंक लिमिटेडले महोत्तरी जिल्लाको एकडारामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले एक समारोहकाबिच उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा आयोगका आयुक्त पाठकले बैंकको यस एकडारा शाखाकार्यालय स्थापना पश्चात् यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध भएको बताएका छन् । आजदेखि सञ्चालनमा आएको यस शाखाबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।  

दर्जन व्यवसायी सांसद, बिनोद चौधरी, मोति दुगडदेखि उमेश श्रेष्ठसम्म

काठमाडौं । एक दर्जन उद्योगी व्यवसायी सांसद बन्न सफल भएका छन् । आधा दर्जनले प्रत्यक्ष निर्वाचन जितेका थिए भने थप आधा दर्जन व्यवसायी समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् । नेपालका एक मात्रै डलर अर्बपति बिनोद चौधरीदेखि दुगड ग्रुपका मोति दुगडसम्म सांसद बनेका छन् । चौधरीलाई काँग्रेसले सांसद बनाएको हो भने दुगडलाई एमालेले सांसद बनाएको हो । व्यवसायीक पृष्ठभूमिबाट सांसद बन्ने दुगड एक्ला एमाले हुन भने काँग्रेसले बिनोद चौधरीसहित पाँच जनालाई सांसद बनाएको छ । काँग्रेसले उमेश श्रेष्ठ, दिव्यमणि राजभण्डारी, बहादुरसिंह लामा र जिपछिरिङ शेर्पालाई सांसद बनाएको हो । उमेश श्रेष्ठ तेश्रो पटक सांसद बन्न सफल भएका छन् । उनी २०६४ र ७० सालको संबिधान सभामा पनि सांसद बनेका थिए । श्रेष्ठ तीनै पटक समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् । चौधरी भने २०६४ सालमा एमालेबाट संबिधान सभा सदस्य बनेका थिए भने अहिले काँग्रेसबाट सांसद बनेका हुन् । यस अघि प्रत्यक्ष निर्वाचन प्रणालीबाटै आधा दर्जन उद्यमी व्यवसायी तथा ठेकेदारहरुले संसद भवन प्रवेश पक्का गरिसकेका थिए । रसुवाबाट काँग्रेसका मोहन आचार्य, पर्सा क्षेत्र नम्बर ३ मा संघिय समाजवादी फोरमका हरिनारायण रौनियारले निर्वाचन जितेका थिए । आचार्य र रौनियार दुबै क वर्गको निर्माण व्यवसायी हुन् । रौनियार पप्पु कन्स्ट्रक्सनका प्रबन्ध सञ्चालक हुन् भने आचार्य रसुवा कन्स्ट्रक्सनका मालिक हुन् । झापाको निर्वाचन क्षेत्र नम्बर ४ बाट वैदेशिक रोजगार व्यवसायी लाल प्रसाद(एलपी) साँवा लिम्बुले निर्वाचन जितेका छन् । धनुषा क्षेत्र नम्बर ४ बाट एमाले पोलिटब्युरो सदस्य रघुबिर महासेठले निर्वाचत जितेका छन् । युटिएल नेपालमा लगानी कर्ता रहेको महासेठ ठुला उद्यमीकै रुपमा चिनिन्छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित एमालेका रामविर मानन्धर पनि चलचित्र उद्योगी हुन् । अष्टनारायण चलचित्र मन्दिरका मालिक मानन्धरले धेरै चलचित्र निर्माण पनि गरेका छन्  

ग्लोबल आइएमई बैंकको ७०औँ शाखारहित बैंकिङ्ग सेवा रुकुममा

काठमाडौं । ग्लोबल आइएमई बैंकले रुकुम जिल्लाको सिम्लीमा आफ्नो ७०औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । बुधबार सानीभेरी गाउँपालिका प्रमुख नरबहादुर पुनले एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय जीवन खड्कालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालसम्म ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर ७० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

आरम्भ माइक्रोफाइनान्सद्धारा सहायक स्तरीय क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आयोजनामा संस्थामा कार्यरत सहायक स्तरका कर्मचारीहरुलाई लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । धुलीखेल तालिम केन्द्र, धुलीखेल काभ्रेपलाञ्चोकमा र माघ २९ गते संचालित तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले छोटो समयमा नै संस्थाले हासिल गरेको उत्साहजनक उपलब्धीको लागि सबै कर्मचारीहरुप्रति आभार प्रकट गरेका छन् । साथै, उनले सकारात्मक सोचका साथ उच्च मनोवल कायम राखि कार्यक्रमको गुणस्तरमा ध्यान दिई कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । उक्त एक दिने कार्यक्रममा संस्थाका विभागिय प्रमुख पुष्कर घिमिरे रसुवासमणी बस्ताकोटीले तालिम दिएका थिए ।

ट्राफिक नियम मिचेर भाग्नेलाई प्रहरीले घरमै गई कारबाही गर्ने

काठमाडौँ । ट्राफिक नियम मिच्नेलाई प्रहरीले घरमै गए पनि नछोड्ने भएको छ । ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने व्यक्तिको संख्या बढेपछि प्रहरीले नयाँ प्रक्रिया अपनाएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिसी क्यामराको मध्यामबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । ट्राफिक व्यवस्थापनका लागि महाशाखामा राखिएको सिसी क्यामरा र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको सिसी क्यामरामार्फत ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई निगरानीमा लिएर कारबाही गर्न शुरु गरेको हो । अब प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई घरमै चिठी पठाउन लागेको  छ । महाशाखाले नियम मिच्ने सवारी साधनलाई सिसी क्यामराबाट नम्बरप्लेटको निगरानी गरेर नियम मिच्ने सवारी साधनको विस्तृत विवरण हेरेर घरमा नै पत्र काट्न थालेको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले चालकले जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि महाशाखाले चालकको घरमा नै चिठी पठाएर कारबाही प्रक्रिया अगाडि बढाएको बताए । “सबै ठाँउमा ट्राफिक पुग्न सक्दैन, जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि दुर्घटना धेरै हुने भएकाले हामीले कारबाहीलाई तीव्रता दिएका हौँ,” – उनले भने। सिसी क्यामरामार्फत महाशाखामा एक हप्ताको समयमा ३१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ । जसमध्ये तीन जनालाई फोनमार्फत महाशाखामा बोलाएर कारबाही गरिएको र बाँकीलाई चिठी काट्ने तयारी भइरहेको सहप्रवक्ता मसासिनीले जानकारी दिए । यो आर्थिक वर्षको माघ मसान्तसम्म उपत्यकामा पाँच लाख ३३ हजार १९९ सवारी साधनले सवारी नियम उलंघन गरेको महाशाखाले जनाएको छ । यस अतिरिक्त ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई प्रमाणसहित जो कोही व्यक्तिले महाशाखामा उजुरी दिएमा कारबाही गर्ने भएको छ । रासस  

हिमालयन बैंकले ल्यायो आकर्षक योजना, पीओएस वा अनलाइनबाट सामान खरिदमा नगद फिर्ता

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् । यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल(पीओएस) मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ । यस योजना अन्तर्गत ग्राहकले पोइन्ट अफ सेल(पीओएस) मेशिनबाट सामान खरिद गर्दा ५ प्रतिशत र अनलाइनबाट सामान खरिद गर्दा १० प्रतिशत सम्म नगद फिर्ता पाउने छन् । उक्त नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्य नगद फिर्ता गर्ने बताएको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा एटिएम सुरुवात गर्ने पहिलो बैंक हिमालयन बैंक हो । यस बैंकका मुलुकभर ९५ वटा भन्दा बढि एटिएम काउन्टरहरु र ३००० भन्दा बढि पीओएस मेशिनहरु संचालनमा छन् । यो योजना कुनै पनि नेपाली अनलाईनबाट वा कुनै पनि बैंकको पीओएस मेशिनहरुबाट सामान खरिद गर्दा लागू हुनेछ ।