कुकुर बेच्न हेलम्बुबाट दरबारमार्ग, कति हुन्छ कमाई ?
काठमाडौं । सिन्धुपाल्चोक हेलम्बुका कुमार गिरी एउटा सानो कुकुरको छाउरासँगै दरबारमार्गमा भेटिन्छन् । कालो कुकुरको छाउरा बोकेर उनी दिनभर दरबारमार्ग आसपास घुमिरहन्छन् । एउटा मानिस कुकुरको छाउरा बोकेर व्यस्त शहरको केन्द्र भागमा किन भौँतारिन्छ ? भन्ने प्रश्न उठ्न सक्छ । त्यसको सहज जवाफ छ, उनी हेलम्बुबाट कुकुरको छाउरा बेच्न दरबार मार्ग आएका हुन् । उनी एउटै कुकुरको छाउरालाई १० हजार देखि २२ हजार रुपैंयाँसम्म लिएर बेच्छन् । ‘१२ बर्षदेखि कुकुरको व्यापार यसरी नै गर्दै आएको छु, परिवार पालिएको छ, राम्रै आम्दानी हुन्छ’, कुमार गिरीले विकासन्युजसँग भने । गिरीले एक दिनमै २ देखि ३ वटासम्म कुकुरका छाउरा बेच्ने गरेका छन् । उनले अधिकांश कुकुरहरु हेलम्बुबाटै ल्याउने गरेका छन् । उनले बेच्ने कुकुर भोटे कुकुर (टिब्बेटियन मास्टिफ) जातिको हो । राजधानीमा यस्ता कुकुरहरुको राम्रो क्रेज छ । राजधानीमा हजारौं केनल क्लबहरु छन तर ती क्लबहरुका भन्दा यसरी बाटोमा बेचिने कुकुरहरु प्रति मोह बढिरहेको उनी बताउँछन् । ‘केनल क्लबका कुकुरहरु हाइब्रिड हुन्छन, हामीले ल्याउने त गाउँका स्थानीय कुकुर हुन, त्यसैले पनि हाम्रा कुकुरहरुको छुट्टै क्रेज छ’, गिरीले सुनाए । राजधानीमा गिरी जस्तै कुकुर बेच्नेहरुको संख्या सैंयौं रहेको उनी बताउँछन् ।-प्रशिक्षार्थी
७ महिनाको सरकारी कमाई ३८५ अर्ब, बजेट घाटा ७० अर्ब ६९ करोड
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा लक्ष्यको झण्डै ५३ प्रतिशत राजश्व संकलन भएको छ । चालु आवको माघसम्म सरकारले ३ खर्ब ८५ अर्ब १९ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । सरकारले चालु आवमा ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । ७ महिनामा लक्ष्यको आधा भन्दा ३ प्रतिशत बढी राजश्व संकलन गरेको छ । ७ महिनामा सरकारले कुल बजेटको ३५.६४ प्रतिशत खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार माघसम्म सरकारले ४ खर्ब ५५ अर्ब ८८ करोड रुपैयाँ बजेट खर्च गरेको छ । चालु आवमा सरकारले १२ खर्ब ७९ अर्ब ९९ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । यसमध्ये चालुखर्च ४५.३८ प्रतिशत भएको छ । गत माघसम्म ३ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ चालु खर्च भएको छ । सरकारले चालु आवमा ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ चालु खर्चका लागि बजेट विनियोजन गरेको छ । यस्तै विकास खर्च २० प्रतिशत नजिक पुगेको छ । चालु आवमा सरकारले ६६ अर्ब १९ करोड रुपैयाँ विकास खर्च गरेको छ । चालु आवमा सरकारले ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनमा विनियोजन गरिएको मध्ये १७.८६ प्रतिशत खर्च भएको छ । यसअन्र्तगत हालसम्म २५ अर्ब ५ करोड रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ । राजश्व संकलन र खर्चको तुलनामा सरकारको वजेट घाटा ७० अर्ब ६९ करोड १२ लाख रुपैयाँ छ ।
आधा दर्जन गाडी बिक्रेताको फाइल ‘सरकारी वकिलको टेबुलमा’
काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा अनुसन्धान भइरहेको विभिन्न १२ विभिन्न ठूला गाडी बिक्रेता कम्पनीमध्ये ६ कम्पनीको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा जाहेर गरिएको छ । इस्टर्न एजेन्सी प्रालि, जिओ अटो मोबाइल्स, कन्टीनेन्टल ट्रेडिङ प्रालि, एड्भान्स्ड अटोमोबाइल्स प्रालि लगायतको फाइल जाहेर गरिएको छ । विभागका शाखा अधिकृत राजेशकाजी श्रेष्ठले उक्त कम्पनीहरुका फाइलहरु बुधबार मुद्वाअगाडी बढाउने उद्धेश्यले राय सुझाबको लागि सरकारी वकिल समक्ष जाहेर गरिएको बताए । ‘उनीहरुबाट विभागले कुन मुद्वा, कसरी लिएर अघि बढ्ने राय सुझाब मिल्ने छ,’ उनले भने । उनका अनुसार विभागले केही हप्तादेखि एक दर्जन गाडी बिक्रेता कम्पनीहले बढी मूल्य लिएको आशंकामा अध्ययन भइरहेको थियो । जसबाट ६ कम्पनीको फाइल वकिलसमक्ष जाहेर गर्ने सोमबार विभागले निर्णय गरेको थियो । कम्पनीहरुले गाडी बिक्री गर्दा २० प्रतिशतभन्दा बढी नाफा लिएको अध्यनको निचोड निस्किएपछि फाइल जाहेर गरिएको हो । त्यस्तै विभागका निर्देशक लक्ष्मण श्रेष्ठले ती कम्पनीहरुलाई हदैसम्मको कार्बाही गर्नको लागि दरिलो आधार बनाउन पनि सरकारी वकिलको रायसुझाब अवश्यक हुने भएकोले विभागले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा फाइल बुझाएको बताए । ‘वकिलहरुको राय सुझाब आएपछि कार्बाहीको प्रक्रियामा विभाग अघि बढ्ने छ,’ उनले भने । महिनादिनअघि मात्रै विभागले मारुती कारको आधिकारीक बिक्रेता अरुण इन्टरकन्टिनेन्टल टेडर्स र महिन्द्रा स्कोर्पियाको आधिकारीक बिक्रेता अग्नी इन्कपोरेटेडले विभिन्न शिर्षकमा गाडी बिक्री गर्ने क्रममा बढी मूल्य लिएको भन्दै महनागर प्रहरी परिसर टेकुमा फाइल बुझाएको थियो ।
३८ औं राष्ट्रिय शिक्षा दिवस: मनमोहन मेमोरियल इन्ष्टिच्यूट उत्कृष्ट
काठमाडौं । ३८ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज सोल्टिमोडलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिकतर्फ उत्कृष्ट नतिजा निकालेको भन्दै पुरस्कृत गरिएको हो । कार्यक्रममा शिक्षामन्त्री गोपलमान श्रेष्ठले कलेजका उपाध्यक्ष जीवन प्रकाश शर्मालाइ नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका हुन् । कलेजले उत्कृष्ट शिक्षालयको रुपमा सम्मानित गर्ने शिक्षामन्त्रालय तथा सम्मानजनक परिणामको लागि महत्वपूर्ण भूमिकानिर्वाह गर्ने नेको नेपाल, कलेज व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारी तथा देशीविदेशी शुभेच्छुकहरुलाई धन्यवाद दिएको छ ।
१४ वटा निर्जीबन बीमा कम्पनीको नाफा एक अर्ब २८ करोड, कसको कति(सूचिसहित)
काठमाडौं । १४ वटा निर्जीबन बीमा कम्पनीहरुले ६ महिनामा एक अर्ब २८ करोड ८२ लाख रुपैंयाँ नाफा कमाएका छन् । हालसम्म वित्तिय विवरण सार्वजनिक गरेका १४ कम्पनीले २०७४ पुस मसान्त अवधीमा २३ करोड ४८ लाख नाफा बढाएर एक अर्ब २८ करोड ८२ लाख पुर्याएका हुन् । २०७३ पुस मसान्तमा यीनै कम्पनीहरुको नाफा एक अर्ब ५ करोड ३४ लाख रुपैंयाँ थियो । १४ कम्पनीमध्ये पनि राष्ट्रिय बीमा कम्पनीले सर्वाधिक ३७ करोड २५ लाख नाफा कमाएको छ । तर कम्पनीले आफ्नो व्यवसायबाट भने सो नाफा आर्जन गरेको होइन् । नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले नगद लाभांश बाँढेकाले कम्पनीको नाफा बढेको हो । यी दुबै बैंकमा कम्पनीको सेयर रहेको छ । दोश्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले १९ करोेड ६६ लाख र तेश्रो स्थानको नेको इन्स्योरेन्स कम्पनीले ११ करोड ६५ लाख नाफा कमाउन सफल भएको छ । सिद्धार्थ इन्स्योरेन्सले ८ करोड ७८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ८ करोड ४२ लाख, एनएलजीले ७ करोड ८५ लाख, सगरमाथाले ७ करोड २ लाख नाफा कमाएका छन् । थोरै नाफा कमाउने इन्स्योरेन्स कम्पनीमा भने प्रभु परेको छ, उसले जम्मा एक करोड २९ लाख मात्रै नाफा आर्जन गरेको देखिन्छ ।
सञ्चालनमा आएको ३ महिनामा सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो ८ करोड १० लाख नाफा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ महिनामा ८ करोड १० लाख रुपैयाँ नाफा गरेको छ । गत असोज ६ गतेबाट जीवन बीमा व्यवसाय सुरु गरेको कम्पनीले ३ महिनामा राम्रो प्रगति गरेको छ । समीक्षा अवधिमा कम्पनीले ३ हजार ५२ बीमालेख बेचेर १० अर्ब २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको उल्लेख छ । यस्तै कम्पनीको प्रथम वार्षिक साधारणसभा आउदो शुक्रबार हुने भएको छ ।
वैदेशिक रोजगार वचतपत्रको बिहीबारदेखि बिक्री खुला, १० प्रतिशत ब्याज पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार वचतपत्र बिक्रीका लागि १३ बैंक तथा वित्तीय संस्थालाई तोकेको छ । राष्ट्र बैंकले सिटिजन्स बैंक, माछापुच्छे बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा बैंक, नविल बैंक, सनराईज बैंक र सेञ्चुरी कमर्शियल बैंकलाई तोकेको छ । यस्तै प्रभु मनी ट्रान्सफर, सेवा रेमिट, आईएमई लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफरलाई पनि वचतपत्र बिक्रीको एजेन्ट नियुक्त गरेको राष्ट्र बैंकले जनाएको छ । बिहीबारदेखि २५ करोड रुपैयाँको वैदेशिक रोजगार वचतपत्रको बिक्री खुला गर्दैछ । बचतपत्रको बिक्री फागुन २३ गतेसम्म तोकिएको छ । वार्षिक १० प्रतिशत ब्याज पाइने, ६ महिनामा ब्याज भुत्तानी हुने, ५ वर्षमा साँवा फिर्ता र वचतपत्र बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन पनि सकिने व्यवस्था रहेको छ । वचतपत्र रोजगारीका शिलसिलामा मुलुक बाहिर गएका र रोजगारीबाट फर्किएको ४ महिना नपुगेका नेपाली नागरिक र गैरआवासिय नेपालीले आफनो परिवारका सदस्यका नाममा खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
हिमालयन जनरल इन्स्योरेन्सको लाभांश बुधबारदेखि वितरण
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको नगद लाभांश बुधबारदेखि वितरण हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफबाट दिने भएको १५ प्रतिशत नगद लाभांश एनएमबी क्यापिटल लिमिटेडमा रहेको हितग्राही खाता (डीम्याट एकाउन्ट) मा जम्मा हुने भएको छ । साधारणसभा प्रयोजनका लागि सेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका सेयरधनीको हितग्राही खातामा बैंकको खाता अद्यावधिक भएको हकमा नगद लाभांश सोही खातामा जम्मा हुने एनएमबी क्यापिटलले जनाएको छ । हितग्राही खाता नभएका लगानीकर्ताले निवेदनसहित बैंक खाता नम्बर दिएपछि सोही बैंकमा नगद लाभांश जम्मा हुने एनएमीबले जनाएको छ ।