नेपाल लाइफ इन्स्योरेन्सको साँढे ५ करोडको प्रमोटर सेयर बिक्री, बीमा समूह १२१ अंकले उकालो
काठमाडौं । केही दिन अघिदेखि निरन्तर ओरालो लागेको सेयर बजार बुधबार ८ अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि २ बजेसम्म निरन्तर ओरालो लागेको सो दिनको परिसूचक त्यसपछिको कारोबारमा तीब्र गतिमा उकालो लागेको हो । अन्ततः सो दिन नेप्से परिसूचक ८.६५ अंकले उकालो लागेर १३८८ दशमलब ९४ अंकमा पुगेको छ । एकल अंकले उकालो लागेको बजारमा कुल ३८ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक(प्रमोटर) सेयर बिक्री भएका छन् । यस कम्पनीको एकैदिन ५ करोड ५० लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ । सो दिन यस कम्पनीको संस्थापक सेयरको मूल्य प्रतिकित्ता ११ सय रुपैयाँ रहेको छ । बुधबार यस कम्पनीको एक करोड २० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री भएका छन् । उक्त सेयरको मूल्य प्रतिकित्ता १ हजार ७८० रुपैयाँ रहेको छ । बजारमा बीमा समूहको परिसूचक १२१ अंकले उकालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्स, हाइड्रो र होटल समूह क्रमशः २०, १८ र १० अंकले उकालो लागेका छन् । उत्पादनमूलक, फाइनान्स र अन्य समूहको सूचक सामान्य अंकले ओरालो लागेका छन् । बुधबार कमाउने १० कम्पनी
मुस्ताङमा आजबाट नयाँ शैक्षिक शत्र शुरु
मुस्ताङ । मुस्ताङमा जाडोका कारण हरेक वर्ष पुस र माघ गरी दुई महिना सम्पूर्ण विद्यालय बन्द हुने गर्छ र फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने गर्छ । मुस्ताङ जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती शत्र र नयाँ शैक्षिक शत्र पनि चलाउने गरेको छ । तल्लो मुस्ताङअन्तर्गतको घरपझोङ गाउँपालिका रहेका नौ विद्यालय र थासाङ गाउँपालिकामा रहेका १३ वटा विद्यालय आजबाट शुरु हुँदैछ भने वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाअन्तर्गतका दुई विद्यालयमा घुम्ती शत्र भइरहेको छ भने १३ विद्यालयमा भने आजबाट पढाइ शुरु हुँदैछ । त्यसैगरी, लो घ्याकर गाउँपालिकामा रहेका छवटा विद्यालय घुम्तीमै छ भने तीन वटा विद्यालयमा भने आजबाट पढाइ सञ्चालनमा आउने छ । त्यस्तै लोमान्थाङ गाउँपालिकाअन्तर्गत रहेका सम्पूर्ण १० वटै विद्यालय घुम्ती शत्रमा पढाइ भइरहेको छ । हिमपात तथा चिसोले गर्दा पढाइ सञ्चालनमा केही असर पर्न सक्ने घरपझोङ गाउँपालिकाका शिक्षा शाखा अधिकृत मतिलाल चपाइले जानकारी दिए । जाडो छल्न पोखरा, काठमाडौं, चितवन बुटवल, भारत आदि गएका मुस्ताङवासी पनि माघको अन्तिम र फागुन लागेदेखि नै मुस्ताङ फर्कने क्रम जारी भएको देखिन्छ र यसले गर्दा सुनसान भएको मुस्ताङमा स्थानीयको केही चहलपहल बढेको देख्न सकिन्छ । रासस
राष्ट्र बैंकको संघीय संरचना: ४ जना ‘सहायक डेपुटी गभर्नर’ प्रस्ताव
काठमाडौं । नेपाल राष्ट्र बैंकलाई संघीय संरचनाको ढाँचामा लैजानका लागि छलफल शुरु भएको छ । संघीयता भएको मुलुकहरुमा केन्द्रीय बैंकको सञ्चालन र संरचनाको विषयमा भएको अभ्यासलाई आधार मानेर पुनर्संरचना गर्नका लागि छलफल शुरु भएको हो । संघीय ढाचाअनुसार केन्द्रीय बैंकलाई पुनर्संरचना गर्नका लागि सुझाव दिन श्रीलंका र नेपाली विज्ञ सम्मिलित परामर्शदाता युनासीडीले बुधबारको छलफलमा आफ्नो योजना सार्वजनिक गरेको थियो । छलफलमा कार्यकारी निर्देशकलाई पदोन्नती गरी सहायक डेपुटी गभर्नर बनाउने विषयमा छलफल भएको थियो । आउँदो चैतको पहिलो साता ८ जना कार्यकारी निर्देशकले अवकास पाउने भएपछि सो भन्दा अगावै उनीहरु मध्ये ४ जनालाई सहायक डेपुटी गभर्नरको पद सिर्जना गरेर पदस्थापन गराउने आन्तरिक तयारी भएको स्रोतको भनाई छ । सहायक डेपुटीलाई पछि डेपुटी गर्भनर बनाउने विषयमा छलफल चलेको थियो । यद्यपी सो प्रस्ताव परामर्शदाताबाट आएको थिएन । परामर्शदाताले सहायक डेपुटी गभर्नरको अवधारणा नराखेको भएपनि यसलाई बैठकमा छलफलको विषय बनाइएको स्रोतको भनाई छ । हाल १८ जना कार्यकारी निर्देशकबाट २ जना डेपुटी गभर्नर बनाउने चलन रहेको छ । गभर्नर बाहिरबाट नियुक्त भएपनि डेपुटी गभर्नर कार्यकारी निर्देशक मध्येबाट नियुक्त हुने गरेको छ । संघीय संरचनामा केन्द्रीय बैंकलाई लैजाने विषयमा छलफल सुरु भएको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेल बताउँछन् । बुधबारको बैठकमा केन्द्रीय बैंकलाई संघीय संरचना अनुसार लैजान, सञ्चालन विधि र विभाग कति र कस्तो हुने भन्ने विषयमा आन्तरिक छलफल मात्र भएको उनले जानकारी दिए । उनका अनुसार केन्द्रीय बैंकलाई संघीय संरचनामा लैजाने विषयमा श्रीलंका र नेपाली सम्मिलित परामर्शंदाताले अध्ययन गरिरहेका छन् । मुलुक संघीय प्रणालीमा गइसकेको र राज्यका हरेक अंग पनि सोही अनुसार सञ्चालनको तयारी भइरहेका बेला केन्द्रीय बैंकलाई पनि संघीय संरचनाअनुसार सञ्चालन गर्नुपर्ने आवाज उठ्दै आएको छ ।
नेपाली चलचित्र ‘कृ’ मा सामसङ मोबाइल
काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन सामसङ मोबाइल नेपाली चलचित्र ‘कृ’मा ब्राण्ड समन्वय भएको छ । हालै सुरेन्द्र पौडेलद्धारा निर्देशित एवं अनमोल केसीद्धारा अभिनित उक्त चलचित्रमा सामसङको ग्यालेक्सी एस ८ प्लसको प्रयोग केसीले गरेको देखाइएको छ । नेपाली चलचित्रका दृश्यहरुमा समेत सामसङ मोबाइलको प्रयोगबाट नेपाली समाजमा मोबाइल सम्पर्कको विशेष माध्यम हुँदै आएको कुरा अझ स्पष्ट भएको छ । हलिउड तथा बलिउडमा भने यस्तो प्रयोग पहिलेदेखि नै हुँदै आएको छ । स्मार्टफोनको समुहमा यो फोनले विशेष भूमिका खेलेको देखिन्छ । यसबाट नेपाली चलचित्रको वर्तमान प्रयोगले भिन्न तथा विशेष तरिकाबाट पनि उत्पादनको प्रबर्धन गर्न सकिने कुरामा सामसङ विश्वस्थ रहेको छ । “चलचित्रले समाजको भावनालाई प्रतिबिम्बित गर्दछ । नेपाली चलचित्रमा यो उत्पादनको प्रयोग भएको पाउँदा हामी अत्यन्त खुसी भएका छौं । यसले हामीलाई ग्राहकहरुसँग नजिक हुने राम्रो अवसर पनि प्रदान गरेको छ । ‘कृ’ चलचित्रको माध्यमबाट नेपाली दर्शकमा ख्याति प्राप्त अनमोल के.सी.सँग सम्बन्धित हुन पाउँदा हर्षित छौँ” आइ एम बिज, सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले भनेका छन् ।
मौरी चराउन ४ सय किसान लागे चिउरी फुल्ने पहाडतिर
चितवन । मौरी चराउन चितवनका ४ सय किसान चिउरी फूल्ने पहाडतिर लागेका छन् । अहिले मौरीले मह पार्ने मौसम भएकाले फूलको नजिक घार बोकेर किसान पहाड पुगेका हुन् । चितवनको शक्तिखोर सिद्धी क्षेत्रमा मात्रै एक सय भन्दा बढी किसान अहिले मौरी चराउन पुगेको चितवनका मौरिपालक किसान शिवप्रसाद पौडेलले बताए । उनी १ सय १० घार मौरीको घार लिएर चितवनको विकट क्षेत्र सिद्धी पुगेका छन् । उनीसँगै रोशन पंण्डित, श्याम गुरुङ, प्रल्हाद अर्याल, नगेन्द्र थापा, गीता देवकोटा, लक्ष्मीनारायण मानन्धर, पदम अम्गाई, बालकृष्ण चापागार्इं, सोमलाल चौधरी, मदन मोक्तान र अशोक थपलिया पनि अहिले मौरी चराउन घार लिएर पहाडी क्षेत्र पुगेका छन् । नेपाल मौरीपालक महासंघ चितवनका अध्यक्ष रोशन पंण्डितको १ सय घार मौरी पनि अहिले सिद्धीमै छ । यसपाली उत्पादन राम्रो रहेको छ तर बजारको भने समस्या रहेको उनले बताए । किसानलाई अहिले मह निकाल्न भ्याइनभ्याइ छ । जिल्लामा करिब ४०० मौरीपालन किसान रहेका छन् । अहिले महको थोक मूल्य प्रतिकिलो रु २८० देखि रु ३०० तथा खुद्रा मूल्य रु ५०० को हाराहारीमा रहेको किसानले बताएका छन् । रासस
राष्ट्र बैंकका सञ्चालक बीकेमान सिंहको पदावधि सकिँदै, सञ्चालक हुन दौड शुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकमा सञ्चालक हुनका लागि दौड सुरु भएको छ । बालकृष्ण मान सिंहको (बीकेमान सिंह) पदावधि सकिन लाग्दा पूर्वसचिव, पूर्वकार्यकारी निर्देशकको सञ्चालक बन्न दौड शुरु भएको हो । सञ्चालक सिंहको कार्यकाल फागनु ४ गते सकिँदै छ । सिंह २०६९ फागुन ४ मा सञ्चालक भएका थिए । सञ्चालकको अवधि ५ वर्षको हुन्छ । सञ्चालक हुन पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डे र भाष्करमणि ज्ञवाली दौडमा रहेका छन् । यस्तै पूर्वसचिव विमलप्रसाद वाग्ले र कृष्ण ज्ञवाली पनि दौडमा रहेको स्रोतले बतायो । राष्ट्र बैंकमा अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ रहेका छन् । यस्तै डा. श्रीराम पौडेल, रामजी रेग्मी र बीकेमान सिंह सञ्चालक छन् । गभर्नर सञ्चालक समितिका अध्यक्ष हुन्छन् । डेपुटी गभर्नर र अर्थसचिव बाहेक अन्य ३ जना सञ्चालक बाहिरबाट नियुक्त हुने गरेको छ । सञ्चालक हुनका लागि अर्थशास्त्री, मौद्रीक विज्ञ, बैंक तथा वित्त र वाणिज्य कानूनको ज्ञाता हुनुपर्ने व्यवस्था छ । सञ्चालकको नियुत्ति मन्त्रिपरिषदले गर्छ ।
चार सय वर्ष पुरानो गोरखा दरबार भत्काइयो, आगामी तीन वर्षभित्र पुनःनिर्माण गरीसक्ने
गोरखा । भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो । विसं १६८६ मा गोरखाका राजा राम शाहको पालामा यो दरबार बनाइएको थियो । दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालका अनुसार जगैदेखि भत्काइएको यो दरबार पुरानै स्वरुपमा जस्ताको त्यस्तै पुनःनिर्माण गरिनेछ । पुरातत्व विभागका कर्मचारीको उपस्थितिमा दरबार भत्काइएको हो । “पुराना सामग्री हटाउने कार्य भइरहेको छ । काम लाग्ने सामग्री पुनः प्रयोग गर्ने र काम नलाग्ने सामग्री हटाउँछौँ” भुसालले भने, “जग राख्न काम भइरहेको छ ।” पचली सिभा जेभीले दरबार पुनःनिर्माणको ठेक्का पाएको छ । रु चार करोड ३७ लाख लगानीमा दरबार पुनःनिर्माण हुनेछ । भूकम्पका बेला क्षति पुगेको गोरखनाथ मन्दिरलगायत संरचना भने पुनःनिर्माण गरिसकिएको छ । दरबारमा रहेका राजा पृथ्वीनारायण शाहका गद्दीलगायत महत्वपूर्ण सामग्री भने सुरक्षित ठाउँमा भण्डारण गरिएका छन् । दरबार भत्काउँदा विसं १८६३ का बेलाका इँट्टा पनि फेला परेका छन् । आगामी तीन वर्षभित्र दरबार पुनःनिर्माण सकिने बताइएको छ । रासस
सानिमा लाइफ इन्स्योरेन्सद्धारा निशुल्क स्वास्थ्य शिबिरको आयोजना
काठमाडौं । महाशिवरात्रीको अवसरमा सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले चाबहिलको मेडिकेयर हस्पिटल एन्ड रिसर्च सेन्टरको सहकार्यमा पशुपति मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको थियो । कम्पनीको सामाजिक उत्तरदायीत्व अन्तर्गत आयोजित उक्त स्वास्थ्य शिबिर मा १८२ जना भक्तजनहरुले स्वस्थ परिक्षण गराएका थिए ।