ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ निष्कासन प्रस्ताव पास
काठमाडौं । ३ महिनाअघि मात्र सञ्चालनमा आएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको प्रथम वार्षिक साधारणसभाले चुक्तापुँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरेको हो । सभाले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति लिन, धितोपत्र व्यवसायीसंग सम्झौता गर्न लगायत अन्य काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ । यस्तै आईपीओ जारी प्रयोजनाका लागि सम्बन्धित निकायबाट स्वीकृति लिने क्रममा प्रवन्धपत्र तथा नियमावलीको कुनै दफा परिवर्तन गर्न परेमा सोको परिवर्तन गर्न सक्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सभाले पारित गरेको कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालकमा कल मोवलिटीका तर्फबाट पशुपति मुरारका, नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला महर्जनलाई निर्विरोध निर्वाचन गरेको छ । चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ हुने र यसमध्ये १ अर्ब ५४ करोड रुपैयाँ संस्थापक सेयर लगानी हुने छ । ६६ करोड रुपैयाँ सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । कम्पनीले गत असोज ८ गतेदेखि औपचारिक रुपमा जीवन बीमा व्यवसाय सुरु गरेको हो । ज्योतिले आईपीओ निष्कासनको तयारी गरेपनि सञ्चालनमा आएको १ वर्ष नपुगी आईपीओ निष्कासन गर्न नपाउने व्यवस्था रहेको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको दफा ९ को उप दफा ३ अनुसार बीमा कम्पनी सञ्चालनमा आएको एक बर्ष नपुगे पनि आइपीओ निष्कास गर्न नपाउने व्यवस्था रहेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी, केही बेर उडान प्रभावित
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ । आन्तरिकतर्फको कार पार्किंग नजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४ः३० बजे आगलागी भएको थियो । आगलागीका कारण नौ मिनेट विमानस्थलबाट हुने सबै उडान अवतरण रोकिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। “विमानस्थलको पश्चिम क्षेत्रको गल्फ कोर्ष नजिकैको फोहरमा धुवाँको मुस्लो देखियो । लगत्तै विमानस्थलकै दमकलको सहायताले आगो नियन्त्रणमा लिइयो अहिले सबै उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ,” उनले भने । प्रवक्ता ठाकुरका अनुसार आगलागीको यकिन कारण पत्ता नलागे पनि पशुपति क्षेत्र नजिकै भएको र आज शिवरात्रिको पर्व परेकाले लागुऔषध दुव्र्यसनीकर्ताका कारण आगलागी हुनसक्ने अनुमान गरिएको छ । रासस
पूर्ण पाठले अपूर्ण सडक: ढिलो गर्ने अदालत, धुलो खाने नागरिक
काठमाडौं । सर्वोच्च अदालतले कलङकी–नागढुङगा सडकको विषयमा गरेको फैसलाको पूर्ण पाठ नआउँदा सडक निर्माण कार्य अन्यौलमा परेको छ । सर्वोच्चले गत असोज १२ गते गरेको फैसलाको पूर्ण पाठ नआउँदा सडक विस्तार अघि बढ्न नसकेको हो । ‘अदालतले जारी गरेको पूर्ण पाठ आइसकेको छैन, मुअब्जाको विषयमा जनतामा भ्रम फैलिएको छ, हामी अन्यौलमा छौं, काठमाडौं सडक विस्तार आयोजनाका सूचना अधिकृत विश्व विजयलाल श्रेष्ठले भने । पहिले केहि स्थानका व्यक्तिले मात्र मुअब्जाको लागि मुद्दा दायर गरेका थिए र बाँकी स्थानको काम भैरहेको थियो तर अहिले काम सुरु भैरहेका सबै स्थानका स्थानीय वासीले मुद्दा दायर तथा सडक अवरोध गर्न थालेपछि काम अघि बढ्न नसकेको श्रेष्ठले बताए । ‘कलंकी देखि नागढुंगा सडक खण्ड सार्वजनिक सडक ऐन २०३१ अनुसार बनेको छ । सडकको २५ मिटर क्षेत्रभित्र निर्माण भएका कुनैपनि घर तथा जग्गाको मुआब्जा दिने प्रावधान छैन । कुनैपनि दफामा मुआब्जा दिने उल्लेख गरिएको छैन । ०३१ साल भन्दा अघि निर्माण भएका घर धनिहरुलाई अवस्था हेरी मुआब्जा दिएको तर अहिले जग्गाको समेत मुआब्जा माग गर्दै मुद्दा दायर भएको छ, सर्वोच्चको पुर्ण पाठ नभई काम अघि बढ्न अवस्था नै छैन’ श्रेष्ठले विकासन्युजसँग भने । सामान्यतय सर्वोच्चको पुर्ण पाठ मुद्दा फैसला भएको १ देखि ३ महिनाभित्रमा आउने प्रचलन रहेको वकिल जगन्नाथ मिश्रले जानकारी दिए । गम्भिर प्रकृतिका मुद्दामा राय बाझिन सक्ने र लेखनमा लामो समय लाग्ने भएकाले पुर्ण पाठमा ढिलाई हुन सक्ने मिश्रले बताए । कुल १२.५ किलोमिटर लम्बाईको सडक विस्तारको क्रममा दर्जनौ मुद्दा परेका छन् । हाल सडक खण्डमा साढे ६ किलोमिटर सडकमा पर्खाल र फुटपाथ बनाउने काम सम्पन्न भएको छ । राजधानी भित्रिने मुख्य नाका रहेको यस सडक खण्डमा अहिले धुलो र खाल्डा खुल्डीले गर्दा सर्वसाधारणले सहज यात्रा गर्न पाएका छैनन् । सडकको ठेक्काको म्याद सकिएको छ तर हालसम्म ३६ प्रतिशत मात्रै काम भएको छ । अदालतको कारण ठेक्का लम्बियो भने ठेकेदारले क्षतिपुर्ति माग्ने अवस्था सिर्जना हुनेछ ।
खाद्य उद्योगको नाफा ६२ लाख, फेरी प्लान्ट थप्ने तयारी
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्वामित्वमा सञ्चालन रहेको खाद्य उद्योग लिमिटेडले गएको आर्थिक वर्ष २०७३/७४ मा ६२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अनावश्यक कर्मचरीको संख्या, लागत खर्च कटाएको तथा साल्ट ट्रेडिङको विभिन्न शाखाहरुमार्फत उद्योगबाट हुने उत्पादन बिक्री गर्ने गरेकोले नाफा भएको हो । गएको वर्ष कम्पनीले वार्षिक ३० करोड रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ । कम्पनीका महाप्रबन्धक मुकुन्दप्रसाद जोशीले २०६३ सालमा केही समय बन्द भइ सञ्चालनमा आएको सोे कम्पनीले हालसम्म घाटा बेहोर्न नपरेको बताए । ‘११ वर्षको अबधिमा कहिल्यै कम्पनी घाटा भएन,’ उनले भने ‘सो अबधिमा अधिकतम २ करोड २० लाखदेखि न्यूनतम ४० लाख रुपैयाँसम्म वार्षिक नाफा हुदै आएको छ ।’ अनावश्यक कर्मचरीको संख्या, लागत खर्च लगायत कम्पनीले घटाएको छ । साथै पछिल्लो सयम बजारमा बिलिङ प्रणाली राम्रो भएको कम्पनीको खोजी हुन थालेकोले पनि उद्योग नाफामा गएको उनको बुझाइ छ । उनको अनुसार आर्थिक वर्ष २०५८/५९ अघि पनि कम्पनी नाफानै सञ्चालन भएको थियो । त्यसपछि मैदामा लागेको भ्याट, बजारमा देखिएको न्यूनविजिकरण, अस्वभाविक प्रतिस्पर्धा लगायतको कारणले २०६३ सालताका कम्पनी करिब १६ महिना बन्द हुन पुगेको थियो । त्यसलाई पुनः संरचना गरेर फेरी कम्पनीलाई सञ्चालनमा ल्याइएको हो । फागुन तेस्रो साता कम्पनीको ४५ औं वार्षिक साधारणसभा हुनैछ । मुलुक संघिय संरचनामा गइसकेकाेले सोही अनुसार कम्पनीलाई अघि बढाउने कम्पनीकाे याेजना छ । महाप्रबन्धक जोशीले आगामी सरकारले खाद्य सम्बन्धि अबलम्बन गर्ने नीतिको आधारमा कम्पनीले आवश्यक प्लान्टहरु राख्ने तयारी गरिरहेको बताए । मेशिनहरु जर्मन र चेक गणतन्त्रबाट खरिद गर्ने उनको भनाइ छ । कम्पनीले मैदा, पिठो, सुजीको साथै बाई प्रोडक्टको रुपमा चोकर उत्पादन गर्दै आइरहेको छ । स्वदेशकै कच्चा पदार्थ गहुँको उपयोग गरी कम्पनीले आफ्नो उत्पादनहरु विभिन्न साल्ट ट्रेडिङको आफ्नो शाखाहरुबाट बिक्री गर्दै आइरहेको छ । २०२७ सालमा दर्ता भएर २०२९ सालदेखि सञ्चालनमा आएको उक्त सर्बजनिक कम्पनीमा ८० प्रतिशत स्वामित्व साल्ट ट्रेडिङ कर्पोरेशनको छ भने, बाँकी शेयर सर्बसाधारणको छ ।
२० दिनमा मेलम्ची सुरुङमा ब्रेक थ्रु
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माणमा कुनै अवरोध आएन भने अबको २० दिनमा ब्रेक थ्रु (छिचोलिने) काम सम्पन्न हुनेछ । सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको छ । अम्वाथानदेखि ग्यालथुसम्म करिब नौ किमी र सुन्दरीजलदेखि सिन्धुसम्म करिब नौ किमी सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सो आयोजनाको कूल सुरुङ मार्ग २७।५ किलोमिटर रहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले सो जानकारी दिँदै अबको २० दिनमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण थ्रेक थ्रु हुने जानकारी दिए । सो आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । उनले खानेपानी तथा सरसफाइ जनताको मौलिक अधिकारका रुपमा संविधानमा रहेको चर्चा गर्दै यसलाई पूरा गर्न लिमिटेडले ध्यान दिनुपर्ने बताए । सो अवसरमा लिमिटेडमा कार्यरत उत्कृष्ट मिटर रिडर अमृतमणि दाहाल, मदन महर्जन र सन्तोष ओझालाई सम्मान गरिएको थियो । लिमिटेडका महाप्रबन्धक डा महेश भट्टराईले लिमिटेडको व्यवस्थापकीय क्षमता अभिवृद्धिमा ध्यान दिइएको जानकारी दिए । रासस
उपत्यकामा ८ वटा बेवारिसे मोटरसाइकल भेटिए
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाबाट ८ वटा मोटरसाइकल र स्कुटी फेला पारेको छ । गत माघ महिना भरिमा उपत्यकाका विभिन्न स्थानका पार्किङ तथा बेवारिसे अवस्थामा प्रहरीले सवारी मोटरसाइकल तथा स्कुटी फेला पारेको हो । प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार ७ वटा मोटरसाइकल र १ वटा स्कुटी रहेका छन् । फेला परेका मोटरसाइकल नम्बरहरु बा.२३प३६८, बा८०प७२३९, बा.८०प७२३९, बा.५१प.९३५४, बा.१८प.५९६९ रा.३ प. ५०५ र बा.३६ प ४७०१ को स्कुटी रहेका छन् । प्रहरीले सवारधनीलाई आवश्यक कागजात सहित सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
ग्लोबल आइएमई बैंकको ६९औँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा
काठमाडौं । ग्लोबल आइएमई बैंकले ६९औँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले गरेका थिए । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय कमल घर्ती मगरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । हाल बैंकले ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त सेवा प्रदान गर्दै आइरहेको छ ।
एनसीसी बैंकको संस्थापक सेयर बिक्री नभएपछि म्याद थप, खरिदकर्ताले हकप्रद र बोनस सेयर पनि पाउने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा रहको संस्थापक (प्रमोटर) सेयर बिक्री नभएपछि म्याद थप गरेको छ । सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन माघ २८ गतेसम्म पर्याप्त आवेदन नपरेपछि नेपाल इन्स्योरेन्सले फागुन ८ गतेसम्मलाई म्याद थप गरेको हो । नेपाल इन्स्योरेन्सले एनसीसीमा रहेको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्युनतम मूल्य राखेर लिलामी गर्न लागेको हो । शिलबन्दी बोलपत्र फागनु ९ गते अपराहन्न ४ बजे खोलिने बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । सेयर खरिद गर्नेले बैंकले यसअघि घोषणा गरेको हकप्रद सेयर र अघिल्ला आर्थिक बर्षहरुको नाफाबाट दिने बोनस सेयर समेत पाउने नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले जानकारी दिए । प्रतिकित्ता न्युनतम १७० रुपैयाँ राखेर बोलपत्र आब्हान गर्दा पनि बिक्री नभएपछि एनबी समूहको २१० रुपैयाँको संस्थापक सेयर पनि बिक्री नहुने संभावना देखिएको छ । एनबीको संस्थापक सेयर नेपाल इन्स्योरेन्सको भन्दा ४० रुपैयाँ महंगो छ । एनबी समूहले न्युनतम मूल्य २१० रुपैयाँ राखेर ७० लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको भोलिपल्ट नेपाल इन्स्योरेन्सले पनि कम मूल्यमा बैंकमा रहेको संस्थापक सेयर लिलामी गर्ने सूचना प्रकाशित गरेको थियो ।