विकासन्युज

नेपाल टेलिकमको नाफा घट्यो, ६ महिनामा ७ अर्ब ४८ करोड मात्र

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल टेलिकमको नाफा घटेको छ । गत पुससम्म टेलिकमले ७ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा टेलिकमको नाफा ७ अर्ब ९१ करोड रुपैयाँ थियो । चालु आवको दोस्रो त्रैमाशमा टेलिकमले २२ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा टेलिकमको नाफा २२ अर्ब ४७ करोड रुपैयाँ थियो । नाफा घटेपछि टेलिकमको प्रतिसेयर आम्दानी (ईपीएस) ९९ रुपैयाँ ७७ पैसामा झरेको छ ।

सिद्धार्थ इन्स्योरेन्सको नाफा ८ करोड ७८ लाख

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आवको ६ महिनामा ८ करोड ७८ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधीमा ८ करोड ३३ लाख नाफा कमाउन सफल भएको थियो । कम्पनीको जगेडा कोषमा ७ करोड ९० लाख रुपैंयाँ रहेको छ । सिद्धार्थले ७६ हजार ७ सय २१ बीमालेखबाट ८७ करोड १२ लाख बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले पुस मसान्त अवधीमा २ हजार ५ सय २८ वटा दावीका लागि ४६ करोड ३८ लाख रुपैंयाँ भुक्तानी गरेको देखिन्छ । सिद्धार्थको प्रति सेयर आम्दानी १३.६९ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १९२.७३ रुपैंयाँ रहेको छ ।

नेपाल बैंकको साधारणसभा फागुन २५ मा, एफपीओ निष्कासन र मूल्य निर्धारणको प्रस्ताव पारित गर्ने

काठमाडौं । नेपाल बैंकको ५८ औं वार्षिक साधारणसभा फागुन २५ गते हुने भएको छ । साधारणसभामा बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको थप निष्कासन (एफपीओ) गर्ने प्रस्ताव पारित गर्ने छ । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गर्ने भएको छ । बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व रहने भएको छ । यस्तै एफपीओ निष्कासन विधि र मूल्य निर्धारण, धितोपत्र व्यवसायी नियत्त, विवरणपत्र सार्वजनिक गर्नका लागि सभाबाट स्वीकृति लिने भएको छ । सभामा गत आर्थिक वर्षको वासालात नाफा–नोक्सान र नगद प्रवाह विवरण पारित गर्ने छ ।

सन् २०५० सम्म सूर्य अप्रत्याशित रुपमा चिसो हुने

वासिङटन । हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ । क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो । उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुनेभएको छ । तर चिसो हुनेक्रम संसारभर एकैनासको भने नहुने अध्ययनले देखाएको छ । विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने उनीहरुको भनाइ छ । वैज्ञानिकहरुले पत्ता लगाएको यो तथ्य सिकागोको एउटा जर्नलमा प्रकाशित भएको छ । रासस/सिन्ह्वा

तिलौराकोटको इतिहास २८०० वर्ष पुरानो, चाँदीका ४९७ पञ्चमार्क मुद्रा भेटिएको

कपिलवस्तु । तिलौराकोटमा इसापूर्व आठौँ शताब्दीमा सुसंस्कृतिले सम्पन्न मानव बस्ती भएको तथ्य फेला परेको छ । पुरातत्व विभाग, बेलायतको दुरहाम विश्वविद्यालय, लुम्बिनी विकास कोष र राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले गरेको पुरातात्विक उत्खननबाट पाइएका विभिन्न सामग्रीको वैज्ञानिक अनुसन्धानपछि नयाँ तथ्य बाहिर आएको छ । ‘युनेस्को जापानिज फण्ड इन ट्रष्ट’को आर्थिक सहयोगमा करीव तीन वर्षदेखि भइरहेको उत्खननले उक्त स्थानमा प्राचीन समयदेखि नै मानव सभ्यताको क्रमिक विकास भएको प्रमाण प्राप्त भएका छन् । त्यस क्षेत्रमा अहिले फलामका किल्ला, माटोका भाँडा र इँटाका टुक्रा, फुटेका चुरालगायत सामग्री संकलन गरिएको छ । त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका संस्कृति र पुरातत्व विषयका विद्यार्थीसमेत उत्खननमा क्रियाशील छन् । यस कार्यका लागि राष्ट्रिय विज्ञ कोषप्रसाद आचार्य र दुरहाम विश्वविद्यालयका प्रा रवीन कनिघमले सहनिर्देशकको भूमिका निर्वाह गर्दै अाएका छन्। विज्ञ आचार्यका अनुसार तिलौराकोटमा इपू छैटाैं शताब्दीमा योजनाबद्ध शहरीकरण शुरु भएको पाइएको छ । उनले उक्त क्षेत्रको चारैतर्फ किल्ला र पर्खालले घेरिएको, उत्तरतर्फ स्तूप, दक्षिणमा औद्योगिकस्थल, पूर्वमा विहार र पश्चिममा बसोबास रहेको जानकारी दिए । स्तूपको नजिकै थुप्रै पर्खाल, पोखरीको किनारका साथै विहारको जगमा चाँदीका ४९७ पञ्चमार्क मुद्रा पनि भेटिएको छ । शहरको दक्षिणतर्फको ढिस्कामा फलाम प्रशोधन गर्दा बचेका अवशेष फेला परेपछि त्यहाँ महत्वपूर्ण औद्योगिकस्थल रहेको जानकारी प्राप्त भएको छ । उत्खननका क्रममा करिब आठ टन धातुअंश प्राप्त भएपछि ठूलो मात्रामा धातु पगाल्ने काम भएको अनुमान गर्न सकिन्छ । यसअघि सोही टोलीले सन् २०११ देखि तीन वर्षसम्म लुम्बिनी क्षेत्रमा पनि अनुसन्धान गरी प्राचीन लुम्बिनीग्रामको नयाँ इतिहास बाहिर ल्याउनाका साथसाथै लुम्बिनीबारे धेरै तथ्य प्रकाशमा ल्याएको थियो । ऐतिहासिक र पुरातात्विक तिलौराकोटलाई प्राचीन कपिलवस्तु राज्यको राजधानीका रूपमा चिनिन्छ । स्थानीय शिवगढ गाउँ नजिक रहेको उक्त स्थान शाक्यमुनि गौतम बुद्धका पिता शुद्धोधनको राजाप्रसाद थियो जहाँ सिद्धार्थले बाल्यकालदेखि २९ वर्ष बिताएका थिए । पारिवारिक तथा राजकीय सुखसयल छाडेर बुद्ध दरबारको पूर्वतिरको द्वारबाट महाभिनिष्क्रमणमा निस्केको विश्वास छ । गौतम बुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध भएको हो । स्थानीय बाणगंगा (प्राचीन भागीरथी) नदीको किनारमा रहेको तिलौराकोट परिसरभित्र मुख्य भग्नावशेषका रूपमा पूर्वीद्वार, पश्चिमीद्वार, मध्य भागको संरचना परिसर र गत वर्ष संरक्षण गरिएका केही संरचना देखिन्छन् तर भूभौतिक सर्वेक्षणबाट जमीनको सतहभित्र व्यवस्थित शहर रहेको प्रकाशमा आएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। उनले उत्खननबाट आउने परिणामका आधारमा त्यसको महत्वलाई प्रचार तथा प्रवद्र्धन गरिने बताए। पाँचाैं शताब्दीमा चिनियाँ यात्री फाहियान र साताैं शताब्दीमा ह्वेन सानले यस क्षेत्रमा गरेका यात्राका आधारमा तयार भएका विवरण तथा प्रतिवेदनले पनि त्यहाँको खोज र अनुसन्धानलाई सहज बनाएको छ । हाल पश्चिम क्षेत्रको प्रदेश नं ५ मा पर्ने कपिलवस्तु जिल्लाको क्षेत्रफल ६७१ वकिमी छ । नेपालमा भएका जिल्लामध्ये सबैभन्दा बढी पुरातात्विकस्थल यही जिल्लामा प्राप्त भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले यहाँ भएका पुरातात्विक सम्पदाको सही तरीकाबाट संरक्षण तथा व्यवस्थापन गर्न सकिएमा नेपालको ठूलो पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने बताए। रासस

बेल्ट एण्ड रोड इनिसिएटिभ नयाँ सरकारको अवसर–संघ

नेपाल–चीन उद्योग वाणिज्य संघले सोमबार राजधानीमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्बन्धी एक दिवसीय सेमिनारको आयोजना गरेको छ । सो कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष राजेश काजी श्रेष्ठले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपाल सदस्य भइसकेकोले यसबाट भरपुर फाइदा लिन मुलुकले आन्तरिक तयारी गर्नु पर्ने बताए । ‘नेपालभित्र संभावित क्षेत्रहरुमा लगानी भित्र्याउनु आवश्यक रहेको छ,’ उनले भने ‘नेपालले पूर्वाधार, सडक, रेलमार्ग लगायत क्षेत्रमा केन्द्रित भई छिमेकी मुलुकहरु चीन, भारत तथा दक्षिण एशियाली राष्ट्रहरुबीच पुलको रुपमा आफुलाई स्थापित गर्नु पर्ने हुन्छ ।’ साथै बीआरआई नेपालको सदस्यताबाट लाभ लिने अवसर नयाँ बन्ने सरकारले लिन सक्नुपर्ने उनको जोड छ । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव शंकर दास वैरागीले बीआरआई भौतिक सम्बन्ध विस्तार मात्र नभई विचार, व्यापार, अर्थ तथा जनस्तरको सम्बन्ध विस्तार समेत भएको विचार राखे । उनले बेल्ट एण्ड रोड इनिसिएटिभ बृहत्त अवधारणा रहेको र यसबाट लाभ लिन विभिन्न विधिबाट अगाडी बढ्न सकिने बताए । चिनिया राजदूत यु होङले बीअरआई अवधारणा चीनले शुरुवात गरेको भएता पनि हाल आएर यो चीनको मात्र अवधारणा नभएर यसमा सहभागि सम्पूर्ण मुलुकहरुको साझा अवधारणा भइसकेको बताए । बीआरआईको माध्यमबाट चीन र नेपाल झनै नजिक हुने उनको धारणा थियो ।

क्यान ईन्फोटेकको तयारी पुरा, मेला फागुन २ गतेदेखि शुरु

बुटवल । सातौं स्टाटअप क्यान ईन्फोटेकको तयारी पुरा भएको आयोजकले बताएको छ । सोमबार प्रदर्शनीस्थल बुटवल मण्डपमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । कार्यक्रममा बोल्दै क्यान नेपालका केन्द्रिय उपाध्यक्ष नवराज कुँवरले विकेन्द्रिकृत अवधारण अनुसार प्रदर्शनी आयोजनाको तयारी भएको बताए । ‘सातै प्रदेशका मुख्य शहरहरुमा प्रदर्शनी गर्ने केन्द्रको योजना छ ।’– उनले भने । यसअघि काठमाण्डौ केन्द्रिय ईन्फोटेकलाई देशभरमा प्रचारप्रसार गर्ने लक्ष्यसहित पाँच नम्बर प्रदेशमा हुन लागेको उनले बताए । अवलोकनकर्ता धेरै भित्राउने मुख्य उद्देश्य रहेको भन्दै उनले सुचना प्रविधि बारे ज्ञान दिने गरि कार्यक्रम गरिएको बताए । जिल्ला अध्यक्ष नारायण श्रेष्ठले सातौ संस्करणका रुपमा आयोजना गरिन लागेको ईन्फोटेकको सबै तयारी पुरा भएको भन्दै विगतमा भन्दा फरक र नयाँ विशेषता सहित दर्शकहरुले अवलोकन गर्न पाउने बताए । एकै थलोमा नयाँ र नौलो प्रविधि, उपकरणको प्रर्दशनीगरि उपभोक्ताहरुलाई खरीद बिक्रीका लागि सहज हुने बताए । फागुन २ देखि ६ गतेसम्म संचालन हुने मेलामा दर्शक लोभ्याउन नेपालमै पहिलो पटक अत्याधुनिक सुरक्षा उपकरण जडित प्रबिधियुक्त घर निर्माण गरिएको उनले बताए । मेलाको उद्घाटन नेकपाएमाले प्रदेश नम्बर पाचका संसदियदलका नेतामा ननिय शंकर पोखरेलले गर्ने उनले बताए । मेलाको मुख्य प्रायोजक स्टाटअपको संचालक सन्तोष गौतमले प्रविधि सिकाउने रुपमा मेला आयोजना भएको बताए । अवलोकनकर्ताहरुले स्टाटअपको स्टलमा विशेष छुट पाउने ब्यवस्था समेत गरिएको उनले बताए । ईन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, पावर सोलुसन, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्यूनिकेशन, आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका स्टल रहनेछन् । मेला ५० हजार दर्शकले अवलोकन गर्ने र २ करोडको कारोबार हुने अपेक्षा आयोजकको छ । सो प्रदर्शनीमा फ्रि सर्भिस क्याम्प, नेपाली टाईपिङ कम्पिटिसन, डान्स कम्पिटिसन, आइसिटी क्विज, भर्चुवल गेमिङ लगायत पनि आर्कषणको रुपमा रहनेसचिब बिरबहादुर क्षेत्रीले बताए । सुचना प्रविधि सम्बन्धि जानकारी मुलक १ सय ३० स्टल प्रदर्शनीमा रहने उनले बताए ।

६ महिनामा मुद्रास्फीति दर ३.५ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अबधिमा औसत मुद्रास्फीति दर ३.५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०७४/७५ को लागि औसत उपभोक्ता मुद्रास्फीतिको लक्षित सीमा ७ प्रतिशत रहेकोमा ६ महिनामा साढे ३ प्रतिशत रहेको जनाइएको छ । राष्ट्र बैंकको अनुसार आन्तरिक उत्पानद तथा आपूर्ति व्यवस्थामा भएको सुधार, तरलता व्यवस्थापनमा अपनाइएको सजगता र छिमेकी मुलकमा समेत मुद्रास्फीति नियन्त्रित रहेको कारण मुद्रास्फीति न्यून रहेको हो । उक्त ६ महिनामा खाद्यको औसत मुद्रास्फीति दर १.५ प्रतिशत, गैर–खाद्यको ५.१ प्रतिशत रहेको बैंकले जनाएको छ । जबकी गए आर्थिक वर्ष सोही अबधिमा खाद्यको १.९ र गैर–खाद्यको ६.५ प्रतिशत मुद्रास्फीति रहेको थियो । समग्रमा गएको आर्थिक वर्ष सोही अबधिमा ४.५ प्रतिशत औसत मुद्रस्फीति दर रहेको जनाइएको छ ।