विकासन्युज

गणतन्त्र स्मारक निर्माण सम्पन्न, फागुनभित्रै हस्तान्तरण गरिने

काठमाडौं । गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको स्मारकको काम सकिएको हो । सरकारले विसं २०६९ मंसिरमा बिकोई स्काई बंगलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरी तीन वर्षभित्र निर्माण गर्ने भने पनि निर्माणमा केही ढिलाइ भएको थियो । कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले स्मारक निर्माणको काम पुरा भएकाले यही महिना भवन विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए । “स्मारक निर्माण कार्य समयमा सम्पन्न गर्ने गरी काम गरेका थियौँ, भूकम्प र भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले केही समय ढिला गरी सम्पन्न भएको हो”, उनले भने । ३५ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारक शुरुमा रु ३० करोडमा सम्पन्न गर्ने सम्झौता भए पनि झण्डै रु ४० करोड खर्च भएको कम्पनीले जनाएको छ । भवन विभागले गणतन्त्र दिवसका अवसरमा उद्घाटन गर्ने योजना बनाएको श्रेष्ठले बताए । रासस

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको कोटिहवामा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देही स्थित कोटिहवामा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन भैरहवाका नेपाल राष्ट्र बैंकका निर्देशक अशोककुमार पौडेलले एक समारोहबीच गरेका छन् । यस शाखाको उद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १७३ शाखा कार्यालयहरु, १७२ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

दोस्रो विश्व महिला उत्सव फागुन ५ गते ललितपुरमा

काठमाडौं । दोस्रो वाउ विश्व महिला उत्सव २०१८ ललितपुरमा हुने भएको छ । ब्रिटिस काउन्सिलको आयोजनामा फागुन ५ गते महिला उत्सव आयोजना हुन लागेको हो । ललितपुरको पुल्चोक क्याम्पमा आयोजना हुने कार्यक्रममा महिला तथा बालबालिकालहरुले भोग्नु परेका विभिन्न समस्याहरुको बारेमा छलफल हने छ । गत वर्ष ६ हजार जनाले भाग लिएकोमा यो वर्ष ८ हजार जनाले भाग लिने आयोजकले जनाएको छ । आयोजकले यसअघि विश्वका विभिन्न २० वटा शहरमा विश्व महिला उत्सव सम्पन्न गरिसकेको छ । नेपालमा भने यो दोस्रो उत्सव हो । कार्यक्रममा प्रदर्शनी, कार्यशाला, खाना परिकार साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रदर्शनी गरिनेछ ।      

दोर्दीखोला आयोजनाबाट १ वर्षमा २७ मेगावाट बिजुली उत्पादन हुदै, ६० प्रतिशत काम सकियो

लमजुङ । हिमालयन पावर पार्टनर लिमिटेडले लमजुङमा निर्माण गरिहेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाको काम आउदो १ वर्षमा सम्पन्न हुने भएको छ । आयोजनाको निर्माणाधिन विद्युत गृह प्रवद्र्धक हिमालयन पावरले आयोजना निर्माणको काम तिब्रता दिएको छ । हालसम्म आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ । आउदो ०७५ चैतभित्र आयोजनाबाट बिजुली उत्पादन हुने हिमालयन पावरका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले बताए । “साधारण सेयर (आईपीओ) निष्कासन गर्दा हामीले ०७५ चैतभित्र बिजुली उत्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका छौ” उनले भने “निर्धारित समयमा आयोजनाको काम सम्पन्न हुनेछ ।” आयोजनाको काम सुरु भएको १ महिनामा विनासकारी भूकम्प गएपछि १ वर्षपछि ०७३ सालदेखि आयोजनाको निर्माण सुरु भएको हो । आयोजनाको कुल लागत निर्माणअवधिको ब्याज समेत गरी ४ अर्ब २३ करोड रुपैयाँ रहेको उनले जानकारी दिए । ढकालका अनुसार आयोजनाबाट वार्षिक १४ करोड ४० लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको रिटर्न अन इक्विटी (आरओई) १८ प्रतिशत छ । पछिल्लो समयमा सिमेन्ट डण्डीलगायत अन्य निर्माण सामाग्रीको भाउ बढेकाले लागत १० प्रतिशतसम्म बढ्न सक्ने उनको अनुमान छ । आयोजनामा एनआरएन इन्भेष्टमेन्ट लिमिटेडको ३५, आईएमई ग्रुपको ३५ र सर्वंसाधारणको ३० प्रतिशत लगानी रहेको छ । एनआरएन इन्भेष्टमेन्टको प्रवेशपछि कम्पनी पब्लिक लिमिटेडमा रुपमान्तरण भएको हो । आयोजनाबाट सञ्चालनमा आएको पहिलो वर्ष बिजुली बिक्रीबाट ७६ करोड रुपैयाँ आम्दानी गर्नेछ । यस्तै त्यसपछि आम्दानी बढेर ९६ करोड रुपैयाँसम्म पुग्ने छ । नेपाल विद्युत प्राधिकरणबाट वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि पाएपछि वार्षिक आम्दानी १ अर्ब रुपैयाँ नजिक पुग्ने भएको हो । आयोजनामा प्राइम कमर्शियल बैंकको अगुवाइमा नविल बैंकलगायत आधा दर्जन बैंकको अगुवाइमा ३ अर्ब १७ करोड रुपैयाँ ऋण लगानी भएको छ । संस्थापकबाट १ अर्ब ६ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी छ । हाल आयोजनाको २.७ किलोमिटर सुरुङ मध्ये झण्डै आधा सकिएको छ । यस्तै विद्युतगृहको निर्माण भइरहेको छ । आयोजनाको बाँध दोर्दी गाउँपालिकाको ढोडेनी र विद्युतगृह वेशीसहर नगरपालिकोको रामचोक नजिक मस्र्याङदी नदीको किनारमा छ । आयोजना एक वर्षमा सकिने भएपछि उत्पादन हुने बिजुली प्रसारण गर्नका लागि विद्युत प्राधिकरणले प्रसारणलाइन निर्माणको काम थालेको छैन् । प्राधिकरणले मस्र्याङदी करिडोरमा २२० केभी प्रसारणलाइन निर्माण २ वर्षपछि सक्ने लक्ष्य लिएपनि काम सुरु नभएकाले अझै ढिलाइ हुने ढकालको भनाई छ । आउदो सन् २०१९ को अगष्टमा प्रसारणलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ । यस्तै आयोजनाले प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई गरी ३० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गरिसकेको छ ।

एनसेल टावरमा आगजनी, १५ लाख बराबरको क्षति

नुवाकोट । विदुर नगरपालिका-११ गेर्खुमा रहेको एनसेल टावरमा गए राति आगजनी भएको छ । साविक गेर्खु गाविस-९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्ध भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्री, युपिएसलगायत ८० प्रतिशत सामग्रीमा क्षति पुगेको छ । एनसेलको टावर सुरक्षार्थ जिल्लामा रहेका प्राविधिकका अनुसार आगजनीबाट रु १५ लाख बराबरको क्षति पुगेको छ । आगजनी गर्ने समूहको पहिचान यकिन नभए पनि नेकपाका कार्यकर्ताले घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ । रोल्पा-सोमबार राति माडी गाउँपालिका-६ कोर्चवाङमा शक्तिशाली बम प्रहार गरी एनसेलको टावर क्षतिग्रस्त गराइएको छ । राति करिब १२ बजे बम विस्फोट गराइएको प्रहरीले बताएको छ । बम विस्फोटबाट मिनहीमा रहेको एनसेलको टावरमा क्षति पुगेको प्रहरी निरीक्षक नरबहादुर खड्काले जानकारी दिए । ठूलो आवाजमा बम विस्फोट भएपछि आफूहरु त्रसित भएको स्थानीयवासीले बताएका छन् । बम विस्फोटको जिम्मेवारी यो समाचार तयार पार्दासम्म कसैले लिएको छैन । राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै यसअघि नेकपाले यस्तै प्रकृतिको घटना गराएकाले यस पटकको विस्फोटमा पनि सोही पार्टीकै हात हुनसक्ने आशंका गरिएको छ । फागुन १ को पूर्वसन्ध्यामा घटना भएकाले राजनीतिक उद्देश्यले गरिएको आक्रमण हुन सक्ने अनुमान गरिएको छ । विसं २०५२ साल फागुन १ गते शुरु भएको सशस्त्र युद्धको सम्झनास्वरुप माओवादी घटकहरुले जिल्लामा विभिन्न कार्यक्रम गरिरहेका छन् । नेकपा (माओवादी केन्द्र) निकट वाइसिएलको आयोजनामा सदरमुकाम लिवाङमा कार्यक्रम सम्पन्न भएको छ भने नेकपा थवाङ गाउँपालिकाको आयोजनामा थवाङमा सप्ताहव्यापी कार्यक्रम भइरहेको बताइएको छ । रासस

संसदमा बिनोद चौधरीको दोश्रो इनिङः फरक पार्टी, मधेशी कोटा

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति बिनोद चौधरी दोश्रो पटक सांसद बनेका छन् । २०६४ सालको संबिधान सभामा सांसद बनेका चौधरी २०७४ सालमा पुनः सांसद बनेका हुन् । उतिबेला एमालेबाट समानुपातिक सांसद बनेका चौधरीलाई यसपाली भने काँग्रेसले सांसद बनाएको हो । चौधरीलाई काँगेसले मधेशी कोटामा सांसद बनाएको हो । प्रतिनिधी सभा निर्वाचनको केहि अघि मात्रै चौधरी काँग्रेस प्रवेश गरेका थिए । चौधरीसँगै उद्योगी व्यवसायीहरु उमेश श्रेष्ठ, दिव्यमणि राजभण्डारी, बहादुरसिंह लामा र जिपछिरिङ शेर्पा पनि सांसद बनेका छन् ।

२६ करोडको कम्पनीले ६ महिनामा कमायो ३७ करोड

काठमाडौं । २६ करोड चुक्ता पुँजी भएको राष्ट्रिय बीमा कम्पनीले ६ महिनामै ३७ करोड नाफा आर्जन गरेको छ । कम्पनीले २०७४ पुस मसान्तसम्मा ३७ करोड २५ लाख नाफा कमाएको हो । २०७३ पुस मसान्तमा भने कम्पनीको नाफा २६ नाफा गरेको थियो । कम्पनीको जगेडा कोषमा एक अर्ब ९८ करोड रुपैंयाँ रहेको छ । राष्ट्रिय बीमा कम्पनीले पुस मसान्त अवधीमा ७ हजार ७ सय ८८ वटा बीमालेखबाट ४९ करोड ७६ लाख बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको प्रति सेयर आम्दानी १३९.७० रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ ८४३.११ रुपैंयाँ रहेको छ ।  

११ वर्षपछि ब्युतिदै नेपाल वनस्पत्ति घिउ उद्योग, दैनिक १२ सय लिटर तोरीको तेल उत्पादन गर्दै

काठमाडौं । एक दशक अघिदेखि बन्द रहेको नेपाल वनस्पति घिउ उद्योग फेरी सञ्चालन हुने भएको छ । उपभोक्तामाझ सही परिमाणमा गुणस्तरीय तेल उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्वामित्वमा रहेको नेपाल वनस्पति घिउ उद्योग फेरी सञ्चालन हुन लागेको हो । उद्योगको महाप्रबन्धक मुकुन्दप्रसाद जोशीले फागुनमा हुने ३२ औं वार्षिक साधारणसभा लगत्तै उद्योग सञ्चालन गरिने बताए । ‘चालु आर्थिक वर्षभित्रै उद्योगले आफ्नै ब्राण्डको शान्ति सुद्ध तोरिको तेल उत्पादन गर्ने गरीको तयारी भइरहेको छ,’ उनले भने ‘तेल उत्पादनको लागि छिमेकी मुलुकबाट नयाँ प्रविधिको प्रशोधन मेशिन समेत झिकाइ सकिएको छ ।’ १२ लाख रुपैयाँ लागत रहेको उक्त मेशिन महिना दिनमै उद्योग स्थित हेटौडा औद्योगिक क्षेत्रमा आइपुग्ने उनको भनाइ छ । हाल उद्योगको पुरानै संरचना छ । सोही संरचनामा रहेका पुराना तथा नयाँ भित्र्याइदै गरिएको प्रविधिहरु प्रयोगमा ल्याइने उनले बताए । ‘भित्रिदै गरेको तेल प्रशोधन मेशिन नयाँ प्रबिधिको हो । उक्त मेशिनको माध्यमबाट ८ घन्टामा ४ टन तेल प्रशोधन गर्न सकिन्छ । जसबाट १.२ टन (१ हजार २ सय लिटर तेल) तयारी तेलको उत्पादन हुन्छ,’ उनले भने ‘उक्त तेल सुद्ध प्रशोधन, सहि परिमाणको शान्ति ब्राण्डको तोरिको तेल हुनेछ ।’ साल्ट ट्रेडिङको सूचना अधिकारी कुमार राजभण्डारीले उपभोक्तामाझ सुद्ध, सही परिमाणमा तोरीको तेल उत्पादन गर्न उद्योग सञ्चालन गर्न लागेको बताए । ‘ट्रेडिङ सरकारी स्वामित्वको संस्था हो । सस्थाले बजारमा रहेको तेलको गुणस्तर, मूल्यको उत्तारचढाव तथा न्यूनविजिकरणको समस्यालाई समेत नियन्त्रण गर्न तेलको उत्पादन गर्न लागेको हो,’ उनले भने ‘प्रत्यक्ष रुपमा किसानहरुसँगै तेलको कच्चा पदार्थ तोरी खरिद गरी तेल उत्पादन गरिनेछ ।’ उनका अनुसार किसानलाई आवश्यक पर्ने मलजन्य पदार्थ उपलब्ध गराउने र उद्योगलाई आवश्यक पर्ने तोरी लगायतका कच्चा पदार्थ किसानबाट लिइनेछ । बिना बिचौलिया किसान र उद्योगबिचको सम्बन्धलाई अघि बढाइनेछ । ‘स्वदेशमै उत्पादित कच्चा पदार्थको माध्यमबाट उद्योग सञ्चालन गर्ने संस्थाको योजना छ,’ उनले थपे ‘आगामी दिनमा सनफ्लावर, सोयाविन लगायतको तेल समेत उद्योगले उत्पादन गर्ने लक्ष्य लिएको छ ।’ मुलुकमै घिउ तेलको उत्पादन गर्ने उद्देश्यले नेपाल वनस्पति उद्योग २०३३ सालमा स्थापना भएको हो । स्थापना केहीअघि भएपनि २०३९ सालबाट मात्रै सञ्चालनमा आएको थियो । सो उद्योग २०६१ पछि २०६३ सालसम्म करिब १८ महिना करारमा चौधरी ग्रुपलाई सञ्चालनको लागि दिइएको थियो । उद्योगको महाप्रबन्धक जोशीका अनुसार पुरानो प्रविधिको कारण लागत बढ्न गई घाटा भएको, मजदुरहरुको बाहुल्यता, राजनैतिक अस्थितरता लगायतको कारण २०६३ सालपछि उद्योग सञ्चानलन हुन नसकी बन्द हुन पुगेको थियो ।