विकासन्युज

विदेशी व्यक्तिसँग ५ लाख डलरसम्म ऋण लिन पाइने, तरलता संकटमा राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी व्यक्ति तथा संस्थाहरुसँग पाँच लाख अमेरिकी डलरसम्म ऋण लिने सुबिधा उपलब्ध गराएको छ । अब नेपाली नागरिकहरुले विदेशी व्यक्ति वा संस्थाहरुसँग नेपाल राष्ट बैंकको पुर्व स्वीकृति लिएर पाँच लाख डलरसम्म ऋण लिन सक्नेछन् । भारतीय मुद्राको हकमा भने पाँच करोड भारुसम्म ऋण लिन सकिनेछ । तर त्यस्तो ऋण वा सापटी लिनु अघि नेपाल राष्ट्र बैंकसँग स्वीकृति भने लिनुपर्नेछ । मुलुकमा देखिने गरेको तरलता अभावको समस्या समाधानका लागि यो नीति फलदायी हुने केन्द्रिय बैंकको दावी छ । यस्तो नीतिले अजेयराज सुमार्गीलाई समेत लगानी भित्र्याउने बाटो सहज गरिदिएको देखिन्छ । उनले विदेशबाट ऋणका रुपमा भित्र्याउन खोजेको अरबौं रकम केन्द्रिय बैंकले अड्काएको थियो । गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले विदेशबाट ऋण ल्याउन सकिने व्यवस्था गरिएको भएपनि फिर्ता लैजानेबारे भने कुनै ठोस व्यवस्था नगरिएको बताए ।

मुद्दति निक्षेपकर्तालाई राष्ट्र बैंकको संरक्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति खातामा निक्षेपकर्ताहरुलाई बिशेष संरक्षणको नीति अघि सारेको छ । केन्द्रिय बैंकले मौद्रिक नीतिको मध्यावधि समिक्षा मार्फत मुद्दति खातामा रकम जम्मा गर्ने निक्षेप कर्तासँग बैंकले निक्षेप लिनु पुर्व निक्षेप रसिद धितोमा दिने कर्जा रकम र सोको ब्याजदर तोक्नुपर्नेछ । सो भन्दा बढि ब्याजदर पछि लिन पाइने छैन। पछिल्लो समय बैंकहरुले मुद्दति खातामा राखिएको निक्षेपको रसिद लिएर ऋण दिँदा पहिला गरिएको प्रतिवद्धता भन्दा बढि ब्याजदर लिन थालेका थिए । केन्द्रिय बैंकको नयाँ व्यवस्थासँगै अब निक्षेप कर्ताहरुले निक्षेपको रसिद धिता राखेर ऋण लिँदा ब्याजदर बढ्ने समस्याबाट छुटकारा मिलेको छ ।

कृषि विकास बैंकको २१ प्रतिशत लाभांश पारित, अग्राधिकार सेयरमा ६ प्रतिशत नगद पनि

काठमाडौं । कृषि विकास बैंकको सेयरधनीलाई २१ दशमलब ०५३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना साधारण सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश दिने भएको छ । त्यसैगरी, नेपाल सरकारको अग्राधिकार सेयरमा समेत तोकिए बमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत भएको छ । जसअन्तर्गत बैंकले २०७४ साल आषार मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार सेयर ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँलाई वार्षिक ६ प्रतिशतले हुने रकम ३२ करोड ५९ लाख ६२ हजार ७२० रुपैयाँ नगद लाभांश दिने भएको छ । हाल बैंकको साधारण सेयर चुक्ता पुँजी ७ अर्ब ०८ करोड रुपैयाँ रहेको छ । जसमा २० प्रतिशत बोनस सेयर वापत १ अर्ब ४१ करोड रुपैयाँ र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुने ७ करोड ४६ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित भएको हो । हाल बैंकको नेपाल सरकारको अविमोच्य अग्राधिकार सेयर पुँजी ५ अर्ब ४३ करोड रुपैयाँ गरी चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ कायम रहेको छ । २० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी १३ अर्ब ९३ करोड रुपैयाँ पुग्ने छ भने साधारण चुक्ता पुँजी ८ अर्ब ५० करोड रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । गत पुस मसान्तसम्ममा बैंकको निक्षेप रकम ९८ अर्ब १७ करोड ३४ लाख रुपैयाँ र कर्जा ९७ अर्ब १५ करोड रुपैयाँ रहेको थियो । सो अवधिसम्ममा बैंकले १ अर्ब ०२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०७३/७४ मा कुल कर्जामा निष्कृय कर्जाको अंश ४.६० रहेकोमा गत पुस महिनामा कुल कर्जामा निष्कृय कर्जाको अंश ३.९५ प्रतिशत कायम रहेको बैंकले जनाएको छ ।

पञ्चकन्या माईद्धारा ५० करोड सेयर संकलन

इलाम । जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले ५० करोड रुपैयाँ मूल्य बराबरको सेयर संकलन गरेको छ । प्रभावित क्षेत्रका बासिन्दाका लागि आह्वान गरेको सेयरका लागि इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका बासिन्दा बाट मात्रै सो रकम संकलन गरिएको हो । गत माघ ५ गतेदेखि २३ गतेसम्म शेयर आह्वान गरेको उक्त हाइड्रोमा लक्ष्यभन्दा बढी सेयर रकम संकलन भएको उक्त आयोजनाका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिए । आयोजनाले ११ लाख कित्ता अर्थात रु ११ करोड सेयर निष्काशन गरेको थियो । आयोजनाले अति प्रभावित र प्रभावितका लागि छुट्टाछुट्टै गरेर ११ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । अति प्रभावित सन्दकपुर गाउँपालिकाका लागि छ लाख ६० हजार कित्ता (६० प्रतिशत) अर्थात रु छ करोड ६० लाख तथा प्रभावित इलाम नगरपालिकामा चार लाख ४० हजार कित्ता (४० प्रतिशत) अर्थात रु चार करोड ४० लाख सेयर निष्काशन गरेको थियो । सन्दकपुर गाउँपालिकामा चाहिएभन्दा बढी सेयर रकम संकलन भएको छ । सो गाउँपालिकामा छ लाख ६० हजार कित्ता सेयर निष्काशन गरेकोमा रु १७ करोड सेयर रकम संकलन भएको आयोजनाका कार्यकारी निर्देशक प्रधानले बताए। यस्तै इलाम नगरपालिकामा चार लाख ४० हजार कित्ता सेयर निष्काशन गरेकोमा रु ३३ करोड शेयर रकम संकलन भएको छ । आयोजनाले जिल्लाका तीनवटा बैंक सनराईज, प्रभु र लक्ष्मीसहित सन्दकपुर गाउँपालिकाको कार्यालय र माबु हाइड्रोको कार्यालयबाट सेयर रकम संकलन गरेको थियो । सेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था गरिएको थियो । कम्पनीले सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत् आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न भएको छ । १२ मेगावाटको माथिल्लो माई र ६ दशमलव १ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि १० प्रतिशत शेयर निष्काशन गरिएको प्रधानले जानकारी दिए । उक्त आयोजना सन्दकपुर गाउँपालिकाको माबु र सुलुबुङबीचमा रहेको माइखोलामा सञ्चालन भइरहेको छ । रासस

लक्ष्मी बैंकको नयाँ शाखा सुर्खेतको सिम्टामा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सुर्खेतको सिम्टामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यस जिल्लामा बैंकको यो दोस्रो शाखा हो । यस नयाँ शाखा सहित बैंकको शाखा संजाल ७७, ३ हस्पिटल सेवा काउन्टर, ९८ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

कमोडिटिज एक्सचेञ्जः विदेशी कम्पनीको आवेदन, लगानी जुटाउँदै स्वदेशी

काठमाडौं । नेपालमा कमोडिटिज एक्सचेञ्ज सेवा सञ्चालनका लागि एउटा विदेशी कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । यस अघि सेवा सञ्चालन गरिरहेका तीन वटा नेपाली कम्पनी भने लगानी जुटाउने अन्तिम कसरतमा छन् । हाल मर्कन्टाइल एक्सचेञ्ज, नेपाल डेरिभेटिभ एक्सचेञ्ज र डेरिभेटिभ एक्सेचञ्ज नेपाल गरि तीन वटा कम्पनीले कमोडिटिज एक्सचेञ्जको काम गरिरहेका छन् । तर मंसिर ९ गतेपछि भने यी कम्पनीहरुले नयाँ कारोबार गर्न पाएका छैनन् । धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेका अनुसार बेलायतको जिमेक्स कम्पनीसँगको सहकार्यमा नेपाल कमोडिटिज एक्सचेञ्ज कम्पनीले पुर्व स्वीकृतिका लागि निवेदन दिएको हो । एक महिना अघि निवेदन दिएको कम्पनीमाथी हाल बोर्डले आवश्यक अध्ययन गरिरहेको छ । डेरिभेटिभ एक्सचेञ्ज नेपालका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र बाँस्कोटाले पनि लगानी जुटाउने काम अन्तिम चरणमा पुगेकाले आगामी २ हप्ताभित्रै धितोपत्र बोर्डमा निवेदन दिने जानकारी दिए ।‘लगानीक जुटिसकेको छ, कागजात तयारी गर्दैछौं, एकाध हप्तामै अनुमतिका लागि बोर्डमा निवेदन दिन्छौं’, सिइओ बाँस्कोटाले भने । त्यस्तै, नेपाल डेरिभटेटिभ एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत रविशंकर सिंहले पनि आगामी हप्ता धितोपत्र बोर्डमा स्विकृतिका लागि निवेदन दिने बताए । ‘केहि एनआरएन, केहि वित्तिय संस्था र पुरानो कम्पनी मिलेर लगानी जुटाएका छौं, केहि दिनभित्रै निवेदन दिन्छौं’, एनडेक्सका सिइओ सिंहले विकासन्युजसँग भने । धितोपत्र बोर्डले मंसिर ९ गतेदेखि कमोडिटिज् मार्केट्स सम्बन्धी नियमावली कार्यान्वयनमा ल्याएको थियो । सो नियमावली अनुसार कमोडिटिज सम्बन्धी कारोबार गर्ने कम्पनीले ५० करोड पुँजी पुर्याएर २५ हजार दस्तुरसहित कम्पनी दर्ताका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्छ । बोर्डका सहायक प्रवक्ता घिमिरेका अनुसार कमोडिटिज मार्केट सञ्चालन गर्न चाहने कम्पनीले प्रबन्ध पत्र, सम्भाव्यता अध्ययन रिपोर्ट, तीन बर्षको व्यवसाय सञ्चालन योजना, लगानीको श्रोतसहितको विवरण खोलेर निवेदन दिनपर्छ । बोर्डले पुर्व स्वीकृति दिएपछि मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न पाइन्छ । बोर्डले वस्तु विनिमयबजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापुँजी ५० करोड रुपैयाँ, वेयर हाउसको १५ करोड, राफसाफ तथा फस्र्यौट व्यवसायको सात करोड, लगानी व्यवस्थापकको पाँच करोड, लगानी परामर्शदाताको एक करोड तथा वस्तु कारोबार दलालको ५० लाख रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।

अब १ रुपैयाँमा नै सामसंग जे सेभेन म्याक्स स्मार्टफोन पाइने, थप १ वर्षको वारेन्टि

काठमाडौं । सुन्धाराको सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि किस्ताबन्दीमा विभिन्न ब्राण्डका मोबाइल दिने योजना ल्याएको छ । उक्त योजना अन्तर्गत कम्पनीले  सामसंग ब्राण्डको जे सेभेन म्याक्स स्मार्टफोन मासिक किस्ताबन्दीमा दिने भएको छ । सो अफरअन्तर्गत अधिकतम बजार मूल्य २८ हजार २९० रुपैयाँ तोकिएको सामसंग जे सेभेन म्याक्स स्मार्टफोन ग्राहकहरुले रु.१ बुझाएर नै घर लैजान सक्नेछन् । सो स्मार्टफोनको बाँकी मूल्य सरल किस्ताबन्दीमा तिर्ने व्यवस्था रहेको छ । ईजी मोबाइल केयरका अध्यक्ष संजित पौडेलले अझैपनि बजारमा ग्राहकहरुले चाहे अनुसारको मोबाइल किन्न र सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताए । ‘‘हामी पहिलेदेखि नै मोबाइल क्षेत्रमा सक्रिय कम्पनी भएको हुँदा ब्राण्डेड मोबाइल बिक्री गर्ने र बिक्रीपछिको उत्कृष्ट सेवा दिने कार्य गरिरहेका छौं । यसैको एउटा पाटोकोरुपमा हामीले विभिन्न मोबाइल फोनहरु किस्तामा दिदैँ आएका छौं, मासिक किस्तामा फोन किनेर ग्राहकहरुलाई फाईदा लिन हामी आग्रह गर्दछौं ।’’ अध्यक्ष पौडेलले भने । कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टि दिने गरेको छ । अन्य कम्पनीबाट मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकामा ईजी मोबाइल केयर प्रालिबाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी पाईनेछ । सुन्धाराको सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रालि मोबाइलको सम्पूर्ण हेरचाह (केयर) गर्ने उद्धेश्यका साथ स्थापना भएको कम्पनी हो । नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने यो कम्पनीले आफ्ना सेवाहरु संचालन गर्दै आएको छ ।

साल्ट ट्रेडिङको फागुन ११ गतेदेखि बुक क्लोज

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको आगामी फागुन ११ गतेदेखि बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीले सो दिन देखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । यस कम्पनीको आगामी वार्षिक साधारणसभा फागुन २२ गते हुँदै छ ।