लुम्बिनी विकास बैंकद्धारा सरसफाई अभियान सम्पन, ७० कर्मचारीहरु सहभागी
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती सफाई अभियान सम्पन्न गरेको छ । बैंकले उक्त महाअभियानको सहकार्यमा आफ्ना करिव ७० कर्मचारीहरु सहित शनिवार काठमाडौंको रुद्रमतीनदीको कालोपूलदेखि सेतो पूलसम्मको क्षेत्रमा सरसफाई गरेको थियो । उक्त कार्यक्रममा लूम्विनी विकास बैंकका तर्फबाट सरसफाइ सम्बन्धी विभिन्न सामाग्रीहरु वितरण गरिएको थियो ।
३ बैंकको ४ करोडको संस्थापक सेयर किनबेच, सबैभन्दा बढी ओम डेभलपमेन्टको
काठमाडौं । आइतबार सबैभन्दा बढी ३ वटा बैंकको संस्थापक (प्रमोटर) सेयर कारोबार भएको छ । ओम डेभलपमेन्ट बैंक, नविल बैंक र कामना सेवा विकास बैंकको गरी कुल ४ करोड १ लाख ४६ हजार ६७३ रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएका छन् । सबैभन्दा बढी ओम डेभलपमेन्ट बैंकको प्रमोटर किनबेच भएको छ । ओमको एकैदिन प्रतिकित्ता २४० रुपैयाँमा १ करोड ७४ लाख ६० हजार रुपैयाँ बराबरको ७२ हजार ७५० कित्ता संस्थापक सेयर किनबेच भएको छ । ओमको संस्थापक सेयर एउटै लगानीकर्ताले खरिद गरेको पाइएको छ । यस्तै नबिल बैंकको १ करोड २६ लाख १६ हजार ६७३ कित्ता प्रमोटर सेयर किनबेच भएको छ । नविलको प्रतिकित्ता ८५० रुपैयाँमा १५ हजार ७६३ कित्ता प्रमोटर सेयर किनबेच भएको छ । कामना सेवा विकास बैंकको प्रतिकित्ता १०६ रुपैयाँ १ करोड ७० हजार रुपैयाँ बराबरको ९५ हजार कित्ता प्रमोटर सेयर किनबेच भएका छन् । कामनाको पनि एउटै व्यक्ति तथा संस्थाले संस्थापक सेयर किनेको पाइएको छ । सेयर बजारमा निरन्तर गिरावट आईरहेका बेला संस्थापक सेयर बढी कारोबार हुने गरेको छ । त्यसैगरी, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको पनि प्रतिकित्ता १ हजार ६६३ रुपैयाँमा १करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबारको बजारमा कुल १५९ कम्पनीको २४ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन ६ लाख ७० हजार ५८९ कित्ता सेयर बिक्री भएका छन् । साताको पहिलो दिनको बजार कारोबार खुलेदेखि बन्द हुँदासम्म निरन्तर ओरालो लागेको छ । दिनभर निरन्तर ओरालो लागेको नेप्से परिसूचक बजार बन्द हुँदा ६.३२ अंकले झरेर १३८४.७१ अंकमा अडेको छ । आइतबारको बजारमा ट्रेडिङ समूह स्थिर रहेको छ भने अन्य कारोबारमा आएका सबैसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ४० अंकले ओरालो लागेको छ । बजारमा सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंककै सेयर मूल्यमा वृद्धि भएको छ । अघिल्लो कारोबारको तुलनामा कम्पनीका लगानीकर्ताले ६.९५ प्रतिशत कमाएका छन् । उता आरएसडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने करिब १० प्रतिशत गुमाएका छन् ।
पोखरा फाइनान्सको थप २ एटीएम संचालनमा
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले थप २ एटीएम सेवा संचालनमा ल्याएको छ । फाइनान्सले पोखराको भिमकाली पाटन शाखा तथा नागढुड्डा स्थित फेवा सिटी हस्पिटल प्रा.लि. को प्राड्डणमा एकै पटक २ वटा नयाँ एटिएम सञ्चालनमा ल्याएको हो । उक्त एटीएम सेवाको उद्घाटन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापा एवं वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए । हाल यस संस्थाको चुक्ता पूँजी ६५ करोड ५७ लाख रुपैयाँ रहेको छ । संस्थाले २०७४ पौष सम्ममा निक्षेप करिब ३ अर्ब ९४ करोड रुपैयाँ र कर्जा ३ अर्ब ७० करोड रुपैयाँ परिचालन गरेको छ । सो अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड ०२ लाख रुपैयाँ कायम गर्न सफल भएको छ । संस्थाले चुक्ता पूँजी वृद्धिका लागि हालै १५ प्रतिशत सेयर निष्कासन गरिएको एवं निकट भविष्यमा भैरहवा, नारायणगढ तथा वेसीशहरमा गरी थप ३ शाखाहरु सञ्चालनमा ल्याउने जनाएको छ ।
सय रुपैंयाँ दरका १४ अर्बको सेयर आउँदै, के होला दोश्रो बजार ?
काठमाडौं । बजारमा लगानी योग्य पूँजीको चरम अभावले बैंकहरु ऋण प्रवाह गर्न नपाएको गुनासो गरिरहेका छन् । एनआइसी एसिया बैंकको ग्रोथ फण्ड र सिटिजन्स बैंकको सिटिजन म्युचुअल फण्डमा मात्रै होइन बुटवल पावर कम्पनीको एफपीओमा समेत लगानीकर्ताको खासै चासो देखिएन । यी कुनै पनि कम्पनीको सबै सेयर बिक्रि भएनन् । यसको सिधा अर्थ भनेको बैंकहरुसँग लगानी योग्य पुँजीको अभाव, सेयरको व्यापक आपुर्ति र लगानी कर्ताको कमजोर मनोबल नै हो ।ठिक यस्तै समयमा एक सय रुपैंयाँ मूल्य अंकित १४ अर्ब ३८ करोड मूल्य बराबरको सेयर आउँदैछ । १७ वटा कम्पनीले ३ अर्ब ८० करोड ११ हजार १ सय मूल्य बराबरको आइपीओ निष्काशनको अनुमति कुरिरहेका छन् । तीमध्ये १४ वटा जलविद्युत कम्पनी छन भने २ वटा लघुवित्त र एउटा बाणिज्य बैंकको एफपीओ छ । अर्काे तर्फ १६ वटा कम्पनीको १० अर्ब ६८ करोड मूल्य बराबरको हकप्रद सेयर आउँदैछ । ती कम्पनीहरु धितोपत्र बोर्डबाट निष्काशन अनुमतिको पर्खाइमा रहेका छन् । हकप्रद सेयर निष्काशनको तयारी गरेकामध्ये १४ वटा जलविद्युत कम्पनी छन । के भन्छन मर्चेण्ट बैंकर सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले भने म्युचुअफ फण्डबारे लगानी कर्तालाई बुझाउन नसक्दा पुरै फण्ड बिक्रि नहुने अवस्था आएको बताए । ‘म्युचुअल फण्डका बारेमा लगानी कर्तालाई राम्रोसँग बुझाउन सकिएन र प्रतिफल सुनिश्चित हुन्छ भन्ने मनोविज्ञान स्थापित गराउन नसक्दा कतिपय कम्पनीको म्युचुअल फण्ड पुरै बिकेन’, मर्चेण्ट बैंकर्स एसोसियनसका अध्यक्ष समेत रहेका तिमल्सिनाले भने । उनले बजारमा लगानी योग्य पुँजी अभावको अवस्था अब हट्ने भएकाले सेयर बजारमा पनि बढ्न सक्ने अनुमान पनि गरे । ‘बजारबारे ठ्याक्कै अनुमान गर्न सकिन्न तर तरलता अभावको समस्या अब समान हुँदै जाने भएकाले केहि आशावादी हुन सकिने ठाउँ छ’, तिमल्सिनाले भने । लगानी कर्ताको मनोबल घटेको छः छोटेलाल रौनियार सेयर इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले नियामक निकायहरुको लापरवाहीका कारण सेयर बजारमा आपुर्तिको भेल आएको आरोप लगाए । उनले सेयर आपुर्तिको अनुपातमा नियामक निकायहरुले माग बढाउन कुनै चासो नदिएकाले सेयर बजारका लगानी कर्ता निरास बन्दै गएको उनले बताए । ‘लगानी कर्ताको मनोबल टुटेको छ । नियामकहरुले केहि गरेनन् । बैंक र बीमा कम्पनीहरुको पुँजी ह्वात्तै बढाएर सेयरको आपुर्ति वृद्धि गरिदिए तर माग बढाउन कुनै उपाय ल्याएनन’, रौनियारले भने । आठ अर्ब पुँजीका बाणिज्य बैंक, २ अर्ब पुँजीका जीवन बीमा कम्पनी, एक अर्बका निर्जीबन कम्पनी, विकास बैंक, फाइनान्स, लघुवित्त, जलविद्युत कम्पनी र नयाँ बीमा कम्पनीहरुका कारण बजारमा सेयरको आपुर्ति माग भन्दा धेरै देखिन्छ । त्यसमा पनि पछिल्लो समय लगानीका लागि स्वर्णिम क्षेत्र मानिने जलविद्युत कम्पनीहरुको आइपीओ पनि ठुलै संख्यामा आउन लागेको देखिन्छ । ‘आपुर्ति बढाईयो तर माग बढाउन ध्यान दिइएन, अनलाईन कारोबार नहुने, बैंकले ब्रोकर लाइसेन्स नपाउने तर सेयरको आपुर्ति भने बढिरहने अनि कसरी बढ्छ सेयर बजार ? रौनियारले प्रतिप्रश्न गरे । उनले ५० जना ब्रोकरको कब्जाबाट सेयर बजारलाई मुक्त नबनाएसम्म सेयर बजार उभोँ नलाग्ने ठोकुवा समेत गरे । मार्जिन लेण्डिङमा गरिएको कडाईले पनि सेयर बजार घटाउन सहयोग गरेको उनले बताए ।
राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम आइतबार बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेका आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४ बमोजिम उक्त प्रतिवेदन बुझाएको हो । राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते सम्पन्न भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले आयोगले स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा आयोग परिवारलाई धन्यवाद दिएका छन् । निर्वाचन मत परिणामको प्रतिवेदनमा विजयी उम्मेदवारको नाम, दलगत र निर्वाचित समावेशिताको अवस्थालगायत विवरण समेटिएको छ । कार्यक्रममा डा यादवले आयोगले राष्ट्रपतिको मार्गनिर्देशनअनुसार काम गरी स्वच्छ र निष्पक्ष रुपमा निर्धारित समयमै निर्वाचन गराउन सफल भएको अवगत गराएका थिए । संविधानको धारा ८६ अनुसार राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता/अल्पसंख्यकसहित आठ गरीे निर्वाचित ५६ सदस्य रहन्छन् । त्यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीन जना गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ । गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको मतपरिणाम भने आयोगले आगामी फागुन ५ गतेभित्र राष्ट्रपतिलाई बुझाइसक्ने जनाइएको छ । आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मतपरिणामको सिट बाँडफाँटसहित शुक्रबार तीन दिनको समय दिएर राजनीतिक दललाई पत्राचार गरेको छ । दुवै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिला सदस्यको सहभागिता सुनिश्चित गर्नुपर्ने कानूनी बाध्यताका कारण आयोगले यसअघि प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गर्न सकेको थिएन । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचन यही माघ २४ गते भएपछि मात्र आयोगले प्रतिनिधिसभाको मतपरिणामको सिट बाँडफाँटसहित राजनीतिक दललाई पत्राचार गरेको हो । संविधानको धारा ८३ मा प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका ‘संघीय संसद्’ रहेको उल्लेख छ । संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ । रासस
हिमाली जिल्लामा गोर्खा इको प्यानलबाट तीन महिनामै घर
काठमाडौं । नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय पशु सेवा विभाग हिमाली आयोजना अन्तर्गत संखुवासभाका चैनपुर नगरपालिका ३ सिद्धपोखरीस्थित पशु सेवा केन्द्र भबन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न एकतल्ले भबनको एक समारोहबीच हस्तान्तरण गरिएको छ । चैनपुरका वडाध्यक्ष बलबहादुर अधिकारीको उपस्थितिमा गोर्खा इको प्यानलका इन्जिनियर प्रबीण नगरकोटीले जिल्ला पशु सेवा कार्यालयका कार्यालय प्रमुख डा.उमेश दाहाललाई हस्तान्तरण गरेका हुन् । गोर्खा इको प्यानल र गोर्खा विनडोर प्रयोग गरी तीन महिनाको छोटो अवधिमै भबन बनाइ हस्तान्तरण गरिएको हो । कार्यक्रममा अतिथिहरुले गोर्खा इको प्यानलद्वारा निर्मित प्रिफेव संरचना र ज्ञान ज्योति विल्डर्स प्रा.लि. काभ्रेको निर्माण सामाग्रीको प्रयोगबाट भुकम्प प्रतिरोधी भवन निर्माण जिल्लाकै उत्कृष्ट भवनहरुमध्ये एक भएको बताए । उनीहरुले यसलाई विस्तार गरी नवनिर्मित संरचनाहरु बनाउँनुपर्नेमा जोड दिनुका साथै भवन निर्माणमा पहल एवं समन्वय गरेकोमा जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा. उमेश दाहाललाई धन्यवाद दिएका छन् । कार्यक्रममा डा दाहालले आयोजनाबाट विगतका अवधिहरुमा यस जिल्लाभित्र निर्मित भौतिक संरचनातर्फ क्रमशः जिल्ला कृषि विकास कार्यालयको कार्यालय भवन, २ वटा पशु सेवा केन्द्र भवन (चैनपुरको खराङ र खाँदवारीको पाङमा) तथा जिल्ला पशु सेवा कार्यालयको प्राङ्गणमा १ वटा डिस्पेन्सरी भवनको रुपमा सन्चालनमा रहेको जानकारी दिए । पशुपालक कृषकहरुलाई यथेष्ठ सेवा प्रदान गर्नका लागि ग्रामिण क्षेत्रमा रहेका सेवाकेन्द्रहरुको निर्माणमा यस आयोजनाले अग्रणी भूमिका खेलेको उनले जनाए । यसै क्रममा आयोजना सम्पन्न हुने अन्तिम आर्थिक वर्ष २०७४/०७५ मा यस जिल्लाको चैनपुर नगरपालिकाको सिद्धपोखरी र मकालु गाउँपालिकाको नुम भन्ने स्थानमा सुविधासम्पन्न भुकम्प प्रतिरोधी २ वटा प्रिफेव भवन र पशु उपचारका लागि अत्यावश्यक ४ वटा ट्रेभिजको समेत निर्माण सम्पन्न भइसकेको उनले जनाए । कार्तिक महिनाको तेश्रो हप्ताबाट निर्माण शुरु भै माघ महिनाको दोश्रो हप्ताभित्र २ वटा टे«बिजसहितको प्रिफेव सेवा केन्द्र भवन दुवै स्थानमा निर्माण सम्पन्न भइसकेको छ । कार्यक्रममा हिमाली आयोजनाका इन्जिनियर प्रल्हाद चापागाई, गोरखा इको प्यानलका इन्जिनियर प्रबीण नगरकोटीले इको प्यानलहरु हलुका भएका कारण हिमाली जिल्लामा आयातमा सहजता भएको बताए । स्वदेशमै बनेको, आईसओ प्राप्त भएका कारण यसका निर्माण संरचना बलियो भरपर्दाे रहेको पनि उनीहरुले बताए । पशुपालन व्यवसायलाई व्यवसायिकरणका साथै हिमाली क्षेत्रका बासिन्दाहरुको जीविकोपार्जन सुधार गर्ने उद्धेश्यले एशियाली विकास बैंकको सहयोगमा पशु सेवा विभाग अन्तर्गत उच्च पहाड कृषि व्यवसाय तथा जिविकोपार्जन सुधार आयोजना (हिमाली आयोजना) सन २०११ देखि यस जिल्लामा संचालनमा रहेको छ । हालसम्म हिमाली आयोजना अन्तर्गत पेश भएका विभिन्न जम्मा १५५ वटा उप-आयोजनाहरुमध्ये जम्मा ५२ वटा उपआयोजनाहरुमा ४ करोडभन्दा बढी रकम अनुदानस्वरुप लगानी भइसकेको छ । स्वीकृत उप-आयोजनाहरु मध्ये क्षेत्रगत आधारमा पशुपालनसंग सम्बन्धित २५ वटा, गैह्रकाष्ठ बन पैदावरसंग सम्बन्धित १७ वटा, कृषिसंग सम्बन्धित १० वटा उप-आयोजनाहरु सन्चालनमा रहेका छन् । भवन निर्माण स्थलको लागि चैनपुर नगरपालिका वडा नं. ३ का पदम सुबेदीले १ रोपनी र मकालु गाउँपालिका वडा नं. ५ का थामे तामाङले १ रोपनी, नरबहादुर पराजुली १ रोपनी र तेजबहादुर पराजुलीले १ रोपनी गरी जम्मा ३ रोपनी जग्गा निशुल्क रुपमा उपलव्ध गराएका थिए ।
प्राइम लाइफ इन्स्योरेन्सलाई १६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडलाई १६० प्रतिशत(अर्थात १ बराबर १.६० को अनुपातमा) हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । बोर्डको अनुमति अनुसार कम्पनीले अंकित मूल्य एक सय रुपैयाँका दरले ९७ लाख ६३ हजार कित्ता हकप्रद जारी गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब ८६ करोढ रुपैयाँ नाघ्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ ।
मेलम्चीको सुरुङ खन्ने सिएमसी डी रेभेनाले तनहुँ जलविद्युतको बाँध बनाउने !
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर लामो सुरुङ खनिरहेको इटालीको सिएमसी डि रेभेनाले तनहुँ जलविद्युतको बाँध बनाउने पाउने देखिएको छ । लट १ अन्र्तगत आयोजनाको मुख्य बाँध तथा नदी फर्काउनका लागि अस्थायी (कफर) बाँध निर्माणका लागि सीएमसीले सबैभन्दा कम दर पेश गरेपछि ठेक्का पाउने संभावना बढेको हो । प्राविधिक प्रस्ताव मू्ल्याँकनपछि गत शुक्रबार खोलिएको वित्तीय प्रस्तावमा सीएमसीको सबैभन्दा कमदर देखिएको हो । सीएमसीपछि चाइना गेजुवा गु्रप लिमिटेड र जयप्रकास एसोसियट्स लिमिटेडले न्युन दर पेश गरेका छन् । सीएमसीले सस्तो दर प्रस्ताव गरेपनि उसको दरलाई आयोजना प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले तय गरेको अनुमानित लागत भन्दा बढी देखिएको छ । अनुमानित लागत बढी भएपछि पुनः बोलपत्र आब्हान हुने संभावना रहन्छ । वित्तीय प्रस्ताव खोल्दा सबैभन्दा सस्तो सीएसीको देखिएको तनहुँका प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके बताउछन् । “वित्तीय प्रस्ताव खोल्दा सबैभन्दा सस्तो सीएसीको देखिएको छ” उनले भने “त्यसको मूल्याँकन नगरी भन्न सकिन्न् ।” तनहुँले वित्तीय प्रस्तावको मूल्याँकन गरेर सहमतिका लागि एसियाली विकास बैंक (एडीबी) मा पठाउने उनले जानकारी दिए । यस्तै लट २ अन्र्तगत विद्युतगृह, सुरुङ निर्माणका अतिरित्त हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिको प्रस्तावको अध्ययन भइरहेको छ । गत अक्टुबरसम्म ठेक्का सम्झौता गरेर आयोजनास्थलमा ठेकेदार परिचालन गर्ने लक्ष्य थियो । ठेकेदार छनौटमा लामो समय लागेपछि यो कार्ययोजना प्रभावित भएको छ । यस्तै लट २ अन्र्तगत विद्युतगृह, सुरुङ निर्माणका अतिरित्त हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि बोलपत्र आब्हान गरेको छ । यसका लागि परेको प्रस्तावको मूल्याँकन भइरहेको छ । प्याकेज १ मा एसियाली विकास बैंक (एडीबी) र युरोपियन इन्भेष्टमेन्ट बैंक (इआईबी) को लगानी हुने छ । यस्तै प्याकेज २ मा विद्युतगृह, सुरुङ निर्माण तथा हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को लगानी हुने छ । यस्तै लट ३ मा प्रसारणलाइन तथा सवस्टेशन निर्माण र १७ गाविसमा विद्युत्ीकरणको पुर्वाधार तयारीको योजना छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जाइकाको १८ करोड ४० लाख डलर, इआईबीले साढे ८ करोड र बाँकी ८ करोड ७० लाख डलर सरकार र नेपाल विद्युत प्राधिरकरणले लगानी गर्ने प्रारुप तयार गरिएको छ । आयोजना नेपाल विद्युत प्राधिकरणको सत्प्रतिशत स्वामित्वमा छ । विद्युत प्राधिकरणसंग विद्युत खरिदविक्रि सम्झौता (पीपीए) हुन बाँकी छ । सरकारले जलासय अर्धजलासय आयोजनाको पीपीए दर निर्धारण गरेको छ । आयोजनाबाट वार्षिक ५९ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । सरकारले तनहुँलाई विद्युत उत्पादन अनुमतिपत्र(लाइसेन्स) दिइसकेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली तनँहुको दमौलीबाट ३९ किलोमिटर लामो २२० केभी प्रसारणलाइनको निर्माण गरी भरतपुर पूयाइने छ । यस्तै आयोजनाले तनहँुका १८ गाविसमा विद्युतीकरणको पुर्वाधार पनि निर्माण गर्ने छ । जलासययुक्त आयोजना तनहँुले सुख्खायाममा पनि दैनिक ६ घण्टा पुर्ण क्षमतामा र बाँकी समय कम क्षमतामा विद्युत् उत्पादन गर्ने छ । सरसकारसंगको सम्झौताअनुसार आयोजनाको ठेक्का सम्झौतालगायत अन्य कामको जिम्मा लगानीकर्ता एडीबी र जाईकाले गर्ने छन् । यस्तै परामर्शदातामा जर्मनीको ल्याह्मेयर इन्टरनेश्नल छ । उसले १ वर्ष बोलपत्र तयारी, ६ वर्ष आयोजना निर्माण र ५ वर्ष सञ्चालन गरी १२ वर्षसम्म काम गर्ने छ । सुख्खायामको विद्युत् माग पुरा गर्न सरकारले तनहुँ आयोजना बनाउने तयारी गरेको हो ।