एक्सप्रेस–टीको सर्भिस सेन्टर अब बिहान ७ देखि राति १० बजेसम्म खुला
काठमाडौं । एक्सप्रेस–टी विद्युतीय ट्याक्सी प्रयोगकर्ता तथा चालकहरूका लागि खुसीको खबर छ । ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै कम्पनीले बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय रूपमा विस्तार गरेको छ । अब उक्त सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म, अर्थात् दैनिक १५ घण्टा खुला रहनेछ । यसअघि बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म मात्र सञ्चालन हुने सर्भिस सेन्टरको समय बढाइएपछि काठमाडौं उपत्यकाका अधिकांश ट्याक्सी चालकले आफ्नो व्यस्त कार्यतालिकाबीच सहज रूपमा सर्भिसिङ तथा मर्मत सेवा लिन सक्ने कम्पनीले जनाएको छ । विस्तारित समयले सवारी सञ्चालनमा न्यून अवरोध ल्याउँदै छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार बालकुमारीपछि गोंगबु र भक्तपुरस्थित डेडिकेटेड सर्भिस सेन्टरहरूमा समेत यही समय तालिका चाँडै लागू गरिनेछ । यसले एक्सप्रेस–टी प्रयोगकर्तालाई अझ व्यापक र सहज सेवा पहुँच उपलब्ध गराउने विश्वास गरिएको छ । यात्रुका लागि आरामदायी तथा चालकका लागि किफायती विकल्पका रूपमा स्थापित हुँदै गएको ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी पछिल्लो समय तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ । उत्कृष्ट ड्राइभिङ अनुभव, कम सञ्चालन खर्च तथा बलियो बिक्रीपछिको सेवा प्रणालीका कारण यो ट्याक्सी धेरै चालक र यात्रुको रोजाइमा परेको छ । हाल कम्पनीले पाटन, एकान्तकुना, सानेपा, जोरपाटी, बनस्थली, गुह्येश्वरी, गोंगबु, भक्तपुर, टिकाथली, नेपालगञ्ज, खाडीचौर, चन्द्रागिरी र स्वयम्भू गरी १३ स्थानमा डेडिकेटेड फास्ट चार्जिङ सुविधा सञ्चालन गरिरहेको छ । साथै बालकुमारी, गोंगबु र भक्तपुरस्थित सर्भिस सेन्टरमार्फत नियमित सर्भिसिङ तथा रिपेयर सेवा उपलब्ध छन् भने अत्याधुनिक भक्तपुर शोरुमबाट बिक्री सेवा समेत प्रदान भइरहेको छ । एक्सप्रेस–टीले ग्राहकलाई थप निश्चिन्त बनाउन १ वर्षको अटो प्लस गाडी बिमा, ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म निःशुल्क नियमित सर्भिसिङ तथा ५ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म ब्याट्री र मोटरमा वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको छ । विस्तारित सर्भिस समयसँगै एक्सप्रेस–टीले विद्युतीय ट्याक्सी प्रयोगकर्तालाई अझ छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।
इनड्राइभको ‘रेट मिलाऔं, मःम खाऔं’ अभियानमा युवाको उत्साहजनक सहभागिता
काठमाडौं । इनड्राइभले काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरेको ‘रेट मिलाऔं, मःम खाऔं’ अभियान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । काठमाडौंको दैनिक जीवनमा प्रचलित मोलमोलाइ (बार्गेनिङ) संस्कृतिबाट प्रेरित उक्त अभियानमा करिब २ हजार ४ सय जना प्रत्यक्ष रूपमा सहभागी भएको कम्पनीले जनाएको छ । अभियानमार्फत इनड्राइभले यात्रुले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने सेवाबारे विशेष गरी शहरी युवा तथा विद्यार्थी समुदायलाई जानकारी गराउने उद्देश्य राखेको थियो । ‘इनड्राइभसँग यात्रा, तपाईंकै रोजाइमा’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानले यात्रु र चालकबीच भाडा निर्धारणमा हुने आपसी सहमतिलाई केन्द्रमा राखेको थियो । इनड्राइभको प्लेटफर्ममा यात्रुले प्रस्ताव गरेको भाडालाई चालकले स्वीकार, अस्वीकार वा प्रतिप्रस्ताव गर्न सक्ने सुविधा रहेको छ । कम्पनीले काठमाडौंको परम्परागत मोलमोलाइ संस्कृतिलाई अभियानसँग जोड्दै बागबजार, जनबहाल, पिम्बहाल र ठमेलमा ब्रान्डेड मःम स्टल सञ्चालन गरेको थियो । सहभागीहरूले ह्वील स्पिन, मोलमोलाइ चुनौतीलगायतका विभिन्न अन्तरक्रियात्मक गतिविधिमा सहभागिता जनाएका थिए । चुनौती पूरा गर्नेहरूले निःशुल्क मःम तथा कम्पनीका ब्रान्डेड उपहार सामग्री प्राप्त गरेका थिए । इनड्राइभका अनुसार अभियानले सामाजिक सञ्जालमा पनि उल्लेखनीय सहभागिता र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । विशेषगरी युवा यात्रु तथा विद्यार्थी समुदायबीच अभियान प्रभावकारी बनेको कम्पनीको दाबी छ । इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रिता पोखरेलले काठमाडौंमा मोलमोलाइको संस्कृति गहिरोसँग स्थापित रहेको बताउँदै त्यसैलाई रमाइलो र सहभागितामूलक ढंगले प्रस्तुत गरेर कम्पनीको निष्पक्ष मूल्य निर्धारण अवधारणाबारे जनचेतना फैलाउने प्रयास गरिएको बताइन् । उनका अनुसार अभियान सञ्चालन गरिएका चारै स्थानबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ । यसले यात्रु र चालक दुवैले थप विकल्प, पारदर्शिता र लचकतायुक्त सेवाप्रति सकारात्मक दृष्टिकोण राखेको देखाएको उनले बताइन् । कम्पनीले यस्ता अभियानमार्फत निष्पक्षता, पारदर्शिता र प्रयोगकर्ताको रोजाइको स्वतन्त्रतालाई केन्द्रमा राख्ने आफ्नो सेवामोडेललाई थप प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने जनाएको छ ।
टोखामा ‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सम्पन्न
काठमाडौं । पल्सर आरपीएमले गत जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा ¥याप ब्याटलजस्ता आकर्षक प्रस्तुतिहरू समावेश गरिएको थियो । ती गतिविधिमार्फत नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूले आफ्नो कला र क्षमता प्रदर्शन गरेका थिए । कार्यक्रममा उपस्थित दर्शकहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै प्रत्येक प्रस्तुतिको भरपुर मनोरञ्जन लिएका थिए । कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्टन्ट राइडर रबिन श्रेष्ठले पल्सर एनएस२०० मा सवार हुँदै रोमाञ्चक स्टन्ट प्रदर्शन गरेका थिए । उनको साहसिक प्रस्तुति र उत्कृष्ट नियन्त्रण क्षमताले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । स्टन्ट प्रदर्शनका क्रममा देखाइएको कौशल, गति र सन्तुलनले कार्यक्रमको रोमाञ्चलाई थप उचाइमा पुर्याएको थियो । आयोजकका अनुसार ‘पल्सर आरपीएम टेकओभर’ केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई गति, सीप, सिर्जनशीलता र आत्मविश्वासको उत्सवका रूपमा सम्पन्न भएको हो । एकै स्थानमा विविध कला, खेलकुद र सांगीतिक प्रस्तुतिहरूलाई समेट्दै सम्पन्न उक्त कार्यक्रमले युवा पुस्ताको उत्साह र प्रतिभालाई उजागर गर्नुका साथै सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको थियो ।