ईभीमा कर निर्धारणको ढाँचा परिवर्तन : अब मोटर क्षमता होइन, मूल्यका आधारमा कर लाग्ने

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (ईभी) को आयातमा लाग्दै आएको कर प्रणालीमा फेरबदल गरेको छ । अबदेखि ईभीमा मोटर क्षमता (किलोवाट) को सट्टा मूल्यका आधारमा कर निर्धारण गरिने भएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन ।  हालसम्म नेपालमा विद्युतीय सवारी साधनको पिक मोटर पावर (किलोवाट क्षमता) लाई मुख्य आधार मानेर भन्सार तथा अन्तःशुल्क लगाइँदै आएको थियो । मोटर क्षमताका आधारमा स्ल्याब छुट्ट्याउँदा विभिन्न प्राविधिक जटिलता र कर मूल्याङ्कनमा बेरुजुको समस्या देखिँदै आएपछि सरकारले करको नयाँ र वैज्ञानिक ढाँचा अवलम्बन गरेको हो ।  ‘विद्युतीय सवारी साधनको आयातमा विद्यमान कर प्रणालीलाई परिमार्जन गर्दै आगामी आर्थिक वर्षदेखि मोटरको क्षमताका आधारमा नभई सवारी साधनको मूल्यका आधारमा भन्सार महसुल तथा अन्य करहरू लगाउने व्यवस्था मिलाएको छु,’ अर्थमन्त्री डा. वाग्लेले बजेट भाषणका क्रममा भने । 

पेट्रोल पम्पमा इभी चार्जिङ जडानको व्यवस्था मिलाउने

काठमाडौं । सरकारले देशभरका पेट्रोल पम्पमा इभी चार्जिङ जडानको व्यवस्था मिलाउने भएको छ । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ लागि बजेट सार्वजनिक गर्दै पेट्रोल पम्पमा इभी चार्जिङको व्यवस्था मिलाउने घोषणा गरेका हुन् ।  

कोरलानाकाबाट एक सातामा ६१४ विद्युतीय सवारी नेपाल भित्रिए

मुस्ताङ । एकसातामा नेपाल-चीन उत्तरी कोरलानाका हुँदै चिनियाँ कम्पनीका ६१४ वटा विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन् । कोरलानाकास्थित लोमन्थाङ गाउँपालिका-१ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार यही ७ जेठदेखि १५ गतेसम्म कोरलानाका हुँदै नेपालतर्फ ६१४ वटा इभी नेपाल भित्रिएका हुन् ।      भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार कोरलानाका हुँदै चीनबाट पैठारी गरिएका विद्युतीय सवारीसाधनमध्ये ६१४ वटा इभीको भन्सार जाँचपास भइसकेको छ । नेपाल भित्रिएर भन्सार जाँचपास भइसकेका विद्युतीय सवारीसाधन बिवाइडी कम्पनीको रहेका उनले जानकारी दिए ।       चिनियाँ कम्पनीमार्फत बनेका त्यस्ता विद्युतीय सवारीसाधन कति सङ्ख्यामा नेपाल भित्रँदैछन् भन्ने यकीन जानकारी प्राप्त नभएको भन्सार प्रमुख चुँडालले बताए । 'हिउँदयामपछि पहिलो चरणमा नाकाबाट इभी भित्रिन थालेका छन्, अझै ठूलो सङ्ख्यामा यहाँबाट इभी नेपाल भित्रिने जानकारी पाएका छौँ', उनले भने, 'बिवाइडीले कति वटा इभी नेपाल भित्र्याउँदैछ भन्ने जानकारी छैन, नेपाल भित्रिएका कतिपय विद्युतीय सवारी भन्सार जाँचपासको चरणमा छन् ।'       कोरलानाकाबाट भित्रिएका इभीको भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका लोमान्थाङ हुँदै जोमसोम झर्ने क्रममा रहेका भन्सार प्रमुख चुँडालले जानकारी दिए । एकसतामा भन्सार जाँचपास भएका करिब २०० भन्दाबढी विद्युुतीय सवारीसाधन मुस्ताङको जोमसोम आइपुगेका छन् । नाकाबाट भित्रिएका सवारीसाधनमध्ये घरपझोङ-४ जोमसोमस्थित सार्वजिक बसपार्कमा पार्किङ गरी चार्जिङका लागि रोकिएका उनले बताए । नेपाल–चीन कोरलानाकाबाट भित्रिएका इभीका लागि चार्जिक स्टेसन कम हुँदा ‘होल्डिङ’ गरी बस्नुपर्ने अवस्था रहेको भन्सार प्रमुख चुँडालको भनाइ छ । उनका अनुसार उपल्लो मुस्ताङको चराङमा एक र जोमसोममा दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा रहेका छन् ।      नेपाल–चीन उत्तरी कोरलानाका गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो । तातोपानी नाका र रसुवागढी नाकाको विकल्पमा प्रयोग गरिएको यसनाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै चीनतर्फ निकासी तथा पैठारी कारोबार वृद्धि भएको भन्सार प्रमुख चुँडालले जानकारी दिए । उनका अनुसार कोरलानाकाबाट गत पुस मसान्तसम्म दुई हजार ३२९ वटा इभी नेपाल भित्रिएका छन् ।      मुस्ताङ भन्सार कार्यालयका प्रमुख चुँडालका अनुसार गत भदौ ३१ गतेदेखि वैशाखसम्म यो नाका हुँदै निकासी तथा पैठारीबाट भन्सार राजस्व पाँच अर्ब ७८ करोड छ लाख रुपैयाँ सङ्कलन भएको छ । कोरलानाकाबाट विद्युतीय सवारीसाधनसहित अन्य सामानको चीनतर्फ निकासी तथा पैठारी हुँदा स्थानीय युवाले वैकल्पिक रोजगारी प्राप्त गरेका उनको भनाइ छ । चीनबाट भित्रिने इभी तथा मालबाहक कन्टेनर सीमावर्ती स्थानीय चालकले चलाउने गर्दा स्थानीय युवाले रोजगारी पाएका उनले उल्लेख गरे । रासस