कर छलीको आरोपमा बीवाईडीले भन्यो– कुनै अनुचित लाभ लिएका छैनौं, छानबिन गर्न खुला छौं

काठमाडौं । नेपालका लागि चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बजेट भाषणअघि भएका विद्युतीय गाडी आयात र भन्सार जाँचपासका सम्बन्धमा स्पष्टिकरण दिएको छ । चालू आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि ठूलो संख्यामा गाडी भन्सार पास गराएर राजस्व छली वा अनुचित लाभ लिन खोजेको भन्दै आलोचना भएपछि कम्पनीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । साइमेक्स इंकले भन्सार जाँचपास गरिएका सम्पूर्ण सवारीसाधनहरू नेपाल सरकारको प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा स्थापित प्रक्रियाअनुसार नै पूर्ण रूपमा आयात गरिएको दावी गरेको छ । कम्पनीका अनुसार चीनतर्फको भन्सार क्षेत्रमा २२६ वटा सवारीसाधन आइपुगेको भए पनि तिनको हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न भएको छैन । ती गाडीहरू अझै प्रक्रियाकै क्रममा रहेको कम्पनीले जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध नै गरेको छ ।’ सरकारी निकायसँग मिलेमतो गरी कर परिवर्तनबाट बच्न खोजेको वा अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य र कम्पनीको प्रतिष्ठामा आघात पु‍र्याउने खालको रहेको दाबी कम्पनीको छ । बजेट अगाडि गाडी भन्सार पास हुनुलाई कम्पनीले एक नियमित व्यावसायिक प्रक्रियाका रूपमा व्याख्या गरेको छ । ग्राहकहरूले पहिले नै बुकिङ गरिसकेका गाडीहरूको माग सम्बोधन गर्न ती साधनहरू आयात गरिएको साइमेक्सको भनाइ छ । यी सम्पूर्ण आयात कार्यहरू बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, मौज्दात व्यवस्थापन तथा यातायात र ढुवानीका चुनौतीहरूलाई ध्यानमा राखेर पहिले नै तय गरिएको योजनाअनुसार नै भएको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले आफू कानुनको पालना, पारदर्शिता र नैतिक व्यावसायिक अभ्यासप्रति सधैं प्रतिबद्ध रहेको दोहोर्‍याउँदै यस विषयमा हुने जुनसुकै वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने जनाएको छ ।  सत्यतथ्य स्थापित गर्न आवश्यक पर्ने आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशका कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी सम्पूर्ण दस्तावेजहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन आफूहरू पूर्ण रूपमा तयार रहेको कम्पनीले उल्लेख गरेको छ । साइमेक्स इंकले सञ्चारमाध्यम तथा सरोकारवाला पक्षहरूलाई आधिकारिक अभिलेख र सम्बन्धित निकायबाट तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न आग्रह गरेको छ । सार्वजनिक रूपमा भ्रम सिर्जना गर्ने वा वैधानिक रूपमा सञ्चालन भइरहेका व्यवसायहरूको प्रतिष्ठामा क्षति पुर्‍याउने खालका सामग्री प्रकाशन नगर्न कम्पनीले अनुरोध गरेको छ । नेपालको वातावरणीय लक्ष्य प्राप्ति, इन्धन आयातमा कमी तथा दिगो यातायात (इलेक्ट्रिक मोबिलिटी) को विकासमा यस क्षेत्रले ठूलो योगदान दिएको भन्दै सार्वजनिक विश्वास कायम राख्न तथ्यमा आधारित समाचार सम्प्रेषण आवश्यक रहेको पनि कम्पनीले जनाएको छ । कर बढ्ने सूचना र मौखिक रिपोर्टले रातारात तरंग  

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा नयाँ मोडल ल्याउने तयारी

काठमाडौं । नेपालमा प्रोटोन ई.मास सेबेन १६० किलोवाटको सफल सुरुवातपछि कम्पनीले विद्युतीय सवारी (ईभी) पोर्टफोलियो विस्तार गर्ने तयारी तीव्र बनाएको छ । नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले बजारबाट प्राप्त सकारात्मक प्रतिक्रियालाई ध्यानमा राख्दै नयाँ योजनाहरू अघि बढाएको जनाएको छ । छोटो समयमै प्रोटोन ई.मास सेबेनले नेपाली उपभोक्ताबाट उत्साहजनक प्रतिक्रिया पाएपछि कम्पनीले ईभी विस्तारलाई प्राथमिकतामा राखेको हो । कम्पनीका अनुसार नेपाली उपभोक्तामा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएको स्पष्ट संकेत देखिएको छ । मलेसियामा प्रोटोनले उल्लेखनीय सफलता हासिल गरेको छ । सन् २०२६ को जनवरीदेखि अप्रिलसम्म ईभी बिक्रीमा ३२९ प्रतिशत वृद्धि भएको छ भने चार महिनामै ११ हजार ६१७ भन्दा बढी युनिट ग्राहकलाई हस्तान्तरण गरिएको छ । बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले तान्जुङ मालिमस्थित आफ्नो उत्पादन कारखाना विस्तारका लागि ३७ मिलियन मलेसियन रिङ्गिट लगानी गर्ने घोषणा गरेको छ । यससँगै वार्षिक उत्पादन क्षमता ४२ हजार युनिट पुर्‍याउने लक्ष्य राखिएको छ । जगदम्बा मोटर्सका एक प्रतिनिधिले भने, 'नेपालमा प्रोटोन ई.मास सेबेनले प्राप्त गरेको प्रतिक्रिया अत्यन्त सकारात्मक छ । यसले नेपाली उपभोक्ता गुणस्तरीय ईभी विकल्पको खोजीमा रहेको पुष्टि गरेको छ ।' हाल नेपाली बजारमा उपलब्ध ई.मास सेबेन १६० किलोवाट क्षमताको प्रिमियम इलेक्ट्रिक एसयूभी हो । यसले एनइडिसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ४७५ किलोमिटरसम्म यात्रा गर्न सक्छ । गाडीमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, उन्नत हेडरेस्ट स्पिकर, आधुनिक ड्राइभिङ प्रविधि तथा आकर्षक इन्टेरियरसहित सुरक्षा र कनेक्टिभिटी सुविधाहरू समावेश छन् । ग्राहकहरूलाई हाल एक वर्षको निःशुल्क बीमा, सडक कर छुट, ७ किलोवाट होम चार्जर, ८ वर्षको वारेन्टी तथा नगद छुटजस्ता आकर्षक अफर प्रदान गरिएको छ । यसैबीच, कम्पनीले निकट भविष्यमा प्रोटोन ई.मास फाइभ पनि नेपाली बजारमा ल्याउने तयारी गरेको छ । सन् २०२६ मा मलेसियाको सर्वाधिक बिक्री भएको यो मोडल विशेषगरी शहरी जीवनशैलीलाई लक्षित गरी विकास गरिएको हो । प्रोटोनबाहेक जगदम्बा मोटर्सले नेपालमा टिभिएस दुईपाङ्ग्रे सवारी, चेरी वाण्डाका व्यावसायिक ईभी तथा जेएमइभी ब्रान्डका सवारीहरू पनि वितरण गर्दै आएको छ । कम्पनीले नेपालमा विद्युतीय गतिशीलता क्षेत्रमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै लगेको जनाएको छ ।

कर बढ्ने सूचना र मौखिक रिपोर्टले रातारात तरंग

काठमाडौं । अर्थमन्त्रालयले जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उनको टिम बजेटसँगै करका दर हेरफेरमा व्यस्त थियो । जेठ १३ गते व्यवसायीलाई एउटा सूचना गयो, ‘गाडीमा कर बढ्दैछ ।’ विद्युतीय सवारीसाधन (ईभी) मा कर नबढ्नेमा ढुक्क रहेका व्यवसायी एकाएक तरंगित बने । करसँगै गाडी आयातमा राजस्व पनि बढी तिर्नुपर्ने भयले उनीहरू त्यही दिन चीनबाट गाडी ल्याउन तम्सिए ।  आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनु एक दिनअघि अर्थात् जेठ १४ गते मुस्ताङको कोरला नाकाबाट ठूलो परिणाममा विद्युतीय गाडी आए । कोरला भन्सार कार्यालयका अनुसार त्यो दिन ६४९ सवारीसाधन भित्रिए । करिब ६० देखि ७० करोड राजस्व बुझाएर सवारीसाधन भन्सारको यार्डबाट नेपालतर्फ ल्याइयो । एक्कासि धेरै सवारीसाधन नेपाल भित्रिरहेको सूचना त्रिपुरेश्वरस्थित भन्सार कार्यालमा पुग्यो । यसले विभागमा एक किसिमको तरंग पैदा गर्‍यो । ईभीमा भन्सारको दर वृद्धि हुने सूचना कसरी बाहिरियो ? व्यवसायीले एक दिनमै किन ल्याए यति धेरै गाडी ? भन्ने जिज्ञासासहित विभागले आफ्ना कर्मचारीलाई छड्के अनुगमनका लागि नाकामै पठायो ।  व्यवसायीले नाकादेखि केही किलोमिटर पर ल्याएर गाडी राखेका थिए । व्यवसायीलाई पनि एकैपटकमा सवारीसाधन काठमाडौं ल्याउन सम्भव थिएन । बजेट सार्वजनिक भएपछि काठमाडौंबाट चालक लगेर सवारीसाधन आयात गर्न थाले । बजेट अगावै सवारीसाधन आयात गर्न व्यवसायीले अनुमति पाएका थिए । उनीहरूले राजस्व पनि भुक्तानी गरिसकेका थिए । अनुगमनका लागि पुगेका कर्मचारीले ठूलो मात्रामा नेपाल पट्टिका विभिन्न ठाउँमा सवारीसाधन पार्किङ गरेर राखेको देखे । केही सवारीसाधनहरू बाटामा काठमाडौंमा आइरहेको कर्मचारीले देखे । अनुगमनका लागि पुगेका कर्मचारीले मुस्ताङ भन्सार नाकामा पुग्दा केही कैफियत पाए । जहाँ सार्वजनिक भएको सूचना बमोजिम केही शंकास्पद काम भएको थियो । काठमाडौं फर्केलगत्तै अनुगमनमा पुगेका विभागका एक कर्मचारीले सवारीसाधन आयात गर्दा भन्सार कानुन उल्लंघन भएको शंका लागेको बताए ।  ‘हामीले अनुगमनपछि विभागका महानिर्देशकलाई मौखिक रुपमा जानकारी दियौं,’ उनले विकासन्युजसँग भने, ‘बाटाभरि गाडी आयात भइरहेका छन् । भन्सार कानुन पनि केही उल्लंघन भएका छन् ।’ नाकाबाट ठूलो मात्रामा त्यत्रो विद्युतीय सवारीसाधन कसरी आयात भयो भनेर छानबिन भइरहेको ती कर्मचारीले बताए । ‘केही समयमा प्रतिवेदनले पूर्णता पाएपछि हामीले फाइनल रूप दिनेछौं,’ उनले थपे । मुस्ताङ भन्सार नाकाबाट कर्मचारी फर्के लगत्तै काठमाडौंतर्फ आइरहेका ७७४ विद्युतीय सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लियो । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले कोरला नाकाबाट आयात भएका सबै विद्युतीय सवारीसाधनहरू बीवाईडीका मात्र रहेको जानकारी दिए । अन्य कुनै पनि कम्पनीका सवारीसाधनहरू आयात नभएको उनले उल्लेख गरे ।  ‘जाँचपास भएका सवारीसाधनहरू आउँछन् । जाँचपास भएका सवारीसाधनहरू आउने र यहाँबाट टोली खटाइएको छ,’ उनले भने, ‘सशस्त्र प्रहरीलाई केही सूचनाहरू पुग्यो । सवारीसाधन रोकिएका कुरालाई क्लियर गर्न विभागबाट टोली खटाइएको छ ।’ मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार ६४९ वटा गाडीहरू जेठ १३ गते बेलुकासम्ममा आवश्यक कागजात प्रक्रिया पूरा गरी जाँचपास भइसकेका थिए ।  बजेट आउनुअघि (जेठ १४ गतेसम्म) सबै प्रक्रिया सकिएको भन्दै भन्सारले गाडीहरू नियमसंगत भित्र्याएको उनको भनाइ छ । गाडी भन्सार पास भएका गाडीहरू एकै पटक बजारमा नदेखिनुको कारण चालकको अभाव रहेको उनले बताए । ६५० वटा गाडी एकैपटक ल्याउन त्यति नै संख्यामा ड्राइभर आवश्यक पर्ने थियो । कम्पनीले काठमाडौंबाट समूह–समूहमा ड्राइभर पठाएर गाडी ल्याउने क्रममा केही समय लागेको उनको भनाइ छ ।  चुँडालका अनुसार जनशक्तिको अभावका कारण केही गाडीहरू मुस्ताङको लोमान्थाङ र यार्डमै अड्किएका थिए । रसुवा नाकामा देखिएको गाडी आयात सम्बन्धी विवादपछि कोरोला नाकाबाट भित्रिएका यी गाडीहरूमाथि पनि राजस्व अनुसन्धान विभाग र प्रहरीले निगरानी बढाएको छ ।  जेठ १५ गते (बजेट भाषण) पछि गाडी भित्र्याएर अघिल्लो मितिमा कागजात बनाएको हुन सक्ने आशंकामा प्रहरीले जोमसोम र घाँसा लगायतका स्थानमा गाडीहरू रोकेर प्रज्ञापन पत्र चेकजाँच गरिरहेको छ । यद्यपि भन्सार विभागका अधिकारीले भने आफूहरूले कुनै गल्ती नगरेको र सबै गाडी बजेटअघि नै पास भएकोमा ढुक्क रहेको उनले बताए । विभागको अनुगमन टोलीले यसबारे विस्तृत अध्ययन सुरु गरिसकेको छ । बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इङ्क प्रालिले पनि आफ्ना गाडीहरू जेठ १४ गतेभन्दा अगाडि नै भन्सार प्रक्रिया पूरा गरेर निकालिएको स्पष्ट पारेको छ । कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘हामीले जेठ १२ देखि १४ गतेभित्रै गाडी निकालिसकेका हाैं । प्रहरीले केवल चेकजाँचका लागि रोकेको हो, हामीसँग सबै आधिकारिक प्रमाणहरू छन् ।’ हाल राजस्व अनुसन्धान विभाग र भन्सारको संयुक्त टोलीले गाडीहरूको प्रज्ञापन पत्र र सीमा नाका प्रवेशको समय रुजु गरिरहेको छ । बजेटमा करको दर परिवर्तन हुने सुइँको पाएपछि व्यवसायीले गाडी ल्याउन खोजेको सरकारी अधिकारीको बुझाइ छ ।