भीजी मोटर्सद्वारा एसआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक
काठमाडौं । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्डका विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीजी मोटर्सले एसआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ । काठमाडौंको सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यान अनावरण गरेका हुन् । ५० किलोवाट क्षमताको मोटर जडान गरिएको यस भ्यानको रेन्ज ३०० किलोमिटर रहेको छ । कम्पनीले यसको मूल्य ३९ लाख रुपैयाँ तोकेको छ । कर्पोरेट हाउस, होटल, स्कुल लगायतका संस्थागत प्रयोजनका लागि यो भ्यान निकै उपयोगी हुने भीजी मोटर्सको दाबी छ । कम्पनीका अनुसार हाल नेपालभर ७५ भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टर सञ्चालनमा छन् । साथै, यसका स्पेयर पार्ट्सको लागत अन्य ईभीको तुलनामा करिब ८० प्रतिशतसम्म सस्तो पर्ने बताइएको छ । सार्वजनिक कार्यक्रमकै अवसरमा कम्पनीले ईभीसम्बन्धी मिथक र भावी प्रभावबारे कार्यशाला पनि आयोजना गरेको थियो । कार्यशालामा सवारीधनीका प्रमुख चासोलाई सम्बोधन गर्दै विभिन्न विज्ञहरूले प्रस्तुति दिएका थिए । कार्यक्रममा जोयलोङका दक्षिण एसियाली बिक्री प्रमुख जर्ज कियाओले जोयलोङ र एसआरएमका सवारी साधनको इन्जिनियरिङ गुणस्तरबारे जानकारी गराउँदै नेपाल भित्र्याइएका ईभी प्रविधि विश्व बजारमा परीक्षण भइसकेका र स्थानीय हावापानीमा पनि विश्वसनीय रहेको बताए । अटोमोटिभ ईभी ड्राइभ–ट्रेन विशेषज्ञ सम्राट गौतमले कमर्सियल ईभीको प्रयोगले सवारीसाधनबाट हुने प्रदूषण ८० प्रतिशतसम्म घट्ने तथ्यांक प्रस्तुत गरे । एउटा डिजेल भ्यानलाई एसआरएम ईभीले प्रतिस्थापन गर्दा काठमाडौंजस्ता सहरी क्षेत्रमा वायु गुणस्तरमा उल्लेख्य सुधार आउने उनको भनाइ थियो । भीजी मोटर्सका बिजनेस हेड चन्दन रौनियारले विस्तृत लागत–लाभ विश्लेषण प्रस्तुत गर्दै सुरुवाती लगानी परम्परागत इन्धनमा चल्ने सवारीभन्दा केही फरक देखिए पनि दैनिक सञ्चालन खर्चमा हुने बचत अत्यन्तै ठूलो हुने बताए । उनले भविष्यमा सेकेन्ड–ह्यान्ड ईभीको माग र मूल्य दुवै उच्च रहने दाबी गरे । मेकानिकल इन्जिनियर दीपक शर्माले ईभीमा चलायमान पार्टपुर्जाको संख्या कम हुने भएकाले मर्मत खर्च ६० प्रतिशतभन्दा बढीले घट्ने बताए । ईभीमा आयल चेन्ज, स्पार्क प्लग तथा जटिल ट्रान्समिसन मर्मतको झन्झट नहुने उनको भनाइ थियो । ब्याट्रीसम्बन्धी चासोलाई सम्बोधन गर्दै दिनेश दाहालले आधुनिक ईभी ब्याट्रीहरू सवारीको सामान्य व्यावसायिक आयुभन्दा लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको र ब्याट्री रिसाइक्लिङमार्फत चक्रिय अर्थतन्त्र (सर्कुलर इकोनोमी) सुनिश्चित हुने बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले आगामी दिनमा पनि चीनबाट प्राविधिक तथा इन्जिनियरहरू ल्याई ईभी चालक र सवारीधनीलाई लक्षित गर्दै यस्ता कार्यशालाहरू निरन्तर आयोजना गरिने जानकारी दिए ।
पोखरामा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर
काठमाडाैं । जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुने इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले पोखरामा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसअनुसार पोखरामा पुस ७, ८ र ९ गते (डिसेम्बर २२, २३ र २४, २०२५ ) गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ । पोखरामा सिटी स्क्वायर ब्यान्क्वेट एण्ड रेस्टुरेन्ट, न्यूरोडमा कार्यक्रम आयोजना हुनेछ । तीन दिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरु, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ। एक्सचेन्ज अफरमा प्रोटोन इमास ७ को मुल्य ४६.९९ लाखबाट सुरु हुनेछ । प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो इभी को लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।
नियो स्टोरको सातौं तथा सबैभन्दा ठूलो फ्ल्यागशिप स्टोर लाजिम्पाटमा
काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स रिटेल चेन नियो स्टोरले काठमाडौंको लाजिम्पाटमा सातौं तथा देशकै सबैभन्दा ठूलो ‘फ्ल्यागशिप स्टोर’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरूलाई उत्कृष्ट भ्यालु र अन्तर्राष्ट्रिय स्तरको खरिद अनुभव प्रदान गर्ने उद्देश्यका साथ यो नयाँ शोरूम खोलिएको हो । नियो स्टोरका म्यानेजिङ डाइरेक्टर सञ्जय गोल्छाका अनुसार लाजिम्पाटमा सञ्चालनमा आएको यो स्टोर नेपालभरिकै सातौं शाखा हो। यसअघि काठमाडौं उपत्यकामा ६ र पोखरामा १ गरी ७ वटा स्टोर सञ्चालनमा थिए। ‘लाजिम्पाटको यो हाम्रो फ्ल्यागशिप स्टोर हो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो पनि छ,’ गोल्छाले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेको उपभोक्तालाई उत्कृष्ट मूल्यमा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउनु हो । ’ नयाँ शोरूममा ल्यापटप, मोबाइल फोन, सीसीटीभी क्यामेरा, गेमिङ कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्रीहरूको बृहत् संकलन रहेको छ । विद्यार्थी, व्यवसायीदेखि कार्यकारीहरूसम्म सबै वर्गका ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर उत्पादनहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ । नियो स्टोरले आफ्ना उत्पादनहरूलाई ‘बेस्ट भ्यालु’को रूपमा प्रस्तुत गरेको छ । डाइरेक्टर गोल्छा भन्छन्, ‘हामी केवल जेन्युइन र ब्रान्डेड ल्यापटप मात्र बिक्री गर्छौं । हरेक उत्पादनमा वारेन्टी, ग्यारेन्टीका साथै एक वर्षको बीमा सुविधा पनि उपलब्ध छ । ’ ग्राहकहरूको सुविधाका लागि कम्पनीले किस्ताबन्दी (ईएमआई) को व्यवस्था पनि गरेको छ । नागरिकताको आधारमा पनि ग्राहकले सहजै ईएमआई सुविधा प्राप्त गर्न सक्नेछन्। ‘हामी केवल किन्ने बेलाको मूल्यमा मात्र होइन, उत्पादनको समग्र ‘कस्ट अफ ओनरशिप’मा ग्राहकलाई उत्कृष्ट भ्यालु प्रदान गर्न चाहन्छौं, उनले थपे । यो सातौं स्टोरसँगै नियोले भविष्यमा आवश्यकताअनुसार थप शाखाहरू विस्तार गर्ने र हाल सञ्चालनमा रहेका स्टोरहरूलाई समेत थप आधुनिक बनाउँदै लैजाने योजना बनाएको छ । ‘हाम्रो लक्ष्य नेपालमै ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको खरिद अनुभव दिनु हो,’ गोल्छाले भने । ग्राहकहरूलाई कुनै पनि इलेक्ट्रोनिक उत्पादन खरिद गर्दा मूल्य मात्र नभएर त्यसको समग्र भ्यालु हेर्न उनले आग्रह गरे ।